१२ करोड खर्चेर उपत्यकामा बन्यो ११ पार्क, कुन पार्कमा कति लगानी ?

  २०८० असार १९ गते १५:५४     विकासन्युज

भक्तपुरमा निर्माणकाे लागि प्रस्ताव गरिएकाे पार्ककाे थ्रीडी तस्वीर ।

काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरण (केभीडीए)ले चालु आर्थिक वर्ष २०७९/८० मा ११ वटा पार्कको निर्माण गरेको छ ।

केभीडीए काठमाडौं उपत्यकाका तीन शहर काठमाडौं, ललितपुर र भक्तपुरमा ती पार्क निर्माण गरेको हो ।

केभीडीएकाअनुसार, ११ वटा पार्क १२ करोड ६० लाख रूपैयाँको लगानीमा बनेका हुन् । उपत्यका भित्र चालु आवमा केभीडीएले १४ वटा पार्क निर्माण गर्ने लक्ष्य लिएको थियो ।

तर, जग्गा विवाद तथा व्यवस्थापन हुन नसक्दा बाँकी ३ वटा पार्कको काम अगाडी बढाउन नसकेको केभीडीएका सूचना अधिकारी सौरब ढकालले बताए । उनकाअनुसार काठमाडौंमा २ वटा र ललितपुरमा एक वटा पार्क निर्माणको काम बाँकी छ ।

केभीडीएले सार्वजनिक जग्गाको संरक्षण गरी खुला क्षेत्रमा सुन्दर पार्क निर्माण गर्ने योजनाका साथ ती पार्कहरूको तयार गरेको हो ।

‘हामीले सार्वजनिक जग्गाको संरक्षण गरी उपत्यका विभिन्न ठाउँमा पार्क निर्माण गरेका छौं, यो मल्टिपल पार्कको योजना हो, अहिले शहरको अति आवश्यक चिज भित्र पार्क पनि पर्छ, त्यसैले पार्कको योजना बनाएर कार्यान्वयन गरेका हौं,’ उनले भने ।

पार्कअनुसारका फरक–फरक सेवा सुविधा छन् । जलवायु अनुकूल, पर्यावरण अनुकूलन र विपत् व्यवस्थापन अनुरूपको पार्क निर्माण भएका छन् ।

‘शहरदेखि गाउँसम्मका मानिसको आकांक्षा फेरिएको छ, मान्छेका लागि मनोरञ्जन नभई नहुने आवश्यकता हो । त्यसैले पार्क निर्माण अवधारणा ल्याएको हौं,’ उनले भने ।

कहाँ–कहाँ बने पार्क ?

केभीडीएले भक्तपुरमा एउटा, काठमाडौंमा ६ वटा र ललितपुरमा ७ वटा गरी १४ वटा पार्क चालु आवमा निर्माण गर्ने लक्ष्य लिएको थियो । जसमध्ये ११ वटा पार्क निर्माणको काम सम्पन्न भइसकेको ढकालले जानकारी दिए ।

काठमाडौंको कीर्तिपुर नगरपालिका वडा नम्बर ४ मा चम्पादेवी पार्क निर्माण भएको छ । उक्त पार्क निर्माण गर्नको लागि एक करोड १० लाख रुपैयाँ छुट्याइएको थियो ।

नयाँ बानेश्वर चोक विस्तार गरी एभिन्यु बनाउनको लागि ४ करोड विनियोजन भएको थियो । तर, यो आयोजना अघि बढ्न नसकेको ढकालले बताए ।

काठमाडौं भित्रका सार्वजनिक जमिनको पहिचान गरी हरियाली उद्यान निर्माण गरेको छ । जसका लागि एक करोड रुपैयाँ खर्च भएको बताइएको छ ।

जग्गा व्यवस्थापन हुन नसक्दा विपद् व्यवस्थापनका लागि लैनचौर, नापी विभाग र ट्रलीबसको जग्गामा पार्क बनाउने काम पनि अघि बढ्न सकेन । यसको लागि चालु आवमा ३ करोड रुपैयाँ बजेट छुट्याइएको थियो ।

कागेश्वारी मनोहरा नगरपालिका वडा नम्बर ७ र ८ मा कागेश्वरी मन्दिर क्षेत्रमा सार्वजनिक पार्क निर्माण गर्नुका साथै बागमती कोरिडोरदेखि कृष्ण प्रणामी मन्दिरसम्म सडक स्तरोन्नती भएको छ ।

सो ठाउँमा पार्क निर्माण र स्तरोन्नती गर्दा एक करोड ३० लाख रुपैयाँ खर्च भएको प्राधिकरणको तथ्यांक छ ।

यस्तै, शंकरापुर नगरपालिका वडा नम्बर ७ स्थित धार्मिक पर्यटन स्थल सालिनदिमा पार्क निर्माण भएको छ । टोखा नगरपालिका वडा नम्बर ६ मा रहेको हात्तीटोल ढुङ्गेधारा तथा नागार्जुन नरपालिका वडा नम्बर ७ स्थित घटाल बाबा मन्दिर क्षेत्रको जग्गा संरक्षण तथा पूर्वाधार निर्माण कार्य भएको छ । यी सबै कामका लागि एक करोड १० लाख रुपैयाँ खर्च भएको प्राधिकरणको तथ्यांक छ ।

यसैगरी, ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर ८ मा रहेको ढुङ्गेकोट र लुभु माध्यमिक विद्यालय पछाडिको जग्गा संरक्षण गरी पार्क निर्माण भएको छ । सो ठाउँमा पार्क निर्माण गर्नको लागि करिव एक करोड रुपैयाँ लागेको बताइएको छ ।

ललितपुर महानगर वडा नम्बर २५ भैसेपाटीको सार्वजनिक जग्गा संरक्षण गरी पार्क निर्माण गर्र्न दुई करोड रुपैयाँ लगानी भएको पनि ढकालले बताए । ललितपुर महानगर वडा नम्बर १३ मच्छिन्द्र पार्क निर्माण गर्न र छैखेल एकान्तकुना र वडा नम्बर २१ खोकना स्थित पंचो पार्क निर्माण गर्न एक सय करोड लागेको ढकालले जानकारी दिए ।

यस्तै, ललितपुर महानगर वडा नम्बर ३ मन्त्री क्वाटर पुल्चोकमा विपद् व्यवस्थापनका लागि इभ्याकुएसन सेन्टर निर्माण गर्न १ अर्ब रुपैयाँ छुट्टयाइएको भए पनि जग्गा उपलब्ध नहुँदा त्यो बजेट खर्च हुन सकेको छैन ।

गोदावरी नगरपालिका वडा नम्बर ९ गोदाचौर स्थित ध्रुबबहादुर थापा स्मृति मार्गबाट पश्चिमतर्फ गोदावरी खोला जाने बाटो स्तरोन्नती कार्यका लागि बजेट विनियोजन भएको थियो । त्यसैगरी, १४ नम्बर वडामा पर्ने ठैव बाडेगाउँमा फोड्गा पोखरी, खेल बाराही मन्दिरको पार्क र कमल पोखरी संरक्षण गरी पार्क निर्माण भएको छ ।

यी सबै कामका लागि एक करोड रुपैयाँ खर्च भएको बताइएको छ ।

यसैगरी, ललितपुर महानगरको वडा २५ मा बालकुमारी पार्कको निर्माण भएको छ । पार्क निर्माणमा एक करोड रुपैयाँ खर्च भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.