अरनिको राजमार्ग : साँगा-धुलिखेल सडक विस्तार तीव्र

  २०८१ जेठ १३ गते १५:५५     विकासन्युज

 

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको साँगादेखि धुलिखेलसम्म तीव्र रुपमा सडक विस्तारको काम भइरहेको बताइएको छ ।

तीन वर्षमा सम्पन्न गर्ने गरी सूर्यविनायक-साँगा र साँगा-धुलिखेल सडक विस्तार गर्न छुट्टाछुट्टै दुईवटा ठेक्का लागेको थियो । सोही ठेक्का अनुसार वि.सं २०७९ फागुन १६ गतेदेखि साँगाबाट सडक विस्तार सुरु भएको हो ।

सूर्यविनायक-धुलिखेल, धुलिखेल-सिन्धुली-बर्दिवास सडक आयोजना कार्यालयका अनुसार उक्त राजमार्ग निर्माणको २५ वर्षपछि सूर्यविनायक-धुलिखेल सडकखण्ड चार लेनमा विस्तार गर्न लागिएको हो । आयोजना प्रमुख राजेन्द्रप्रसाद दासका अनुसार सडक विस्तार तीब्र रुपमा भइरहेको छ । प्रारम्भिक चरणमा सूर्यविनायकदेखि धुलिखेलसम्म सडक छेउमा पर्खाल निर्माण भइरहेको छ ।

उनले सडक विस्तार अन्तर्गत बनेपा बजार क्षेत्रमा सडक चौडा बनाउन काम सुरु गरिएको जानकारी दिए । यसअघि धुलिखेलदेखि बनेपा तथा साँगादेखि बनेपासम्म सडक चौडा बनाउन पर्खाल तथा कल्भर्ट निर्माण भइरहेको थियो । दासले भने, ‘हाल कामले निरन्तरता पाएको छ, कुनै समस्या तथा रुकावट छैन ।’

अब मनसुन सुरु हुने भएकाले खोला तथा बाढीले प्रभावित बनाउन सक्ने चुनौती रहेको उनले बताए । उनका अनुसार यसअघि सडक मापदण्डमा परेका खानेपानी आयोजनाका पाइप तथा घर स्थानान्तरण र भत्काउन सरोकारवालासँग विभिन्न चरणमा छलफल भई सहमति अनुसार काम भइरहेको छ ।

आयोजनाको सिनियर डिभिजनल इन्जिनियर राधिका प्रजापतिका अनुसार साँगादेखि बनेपा बजार नजिकको चण्डेश्वरी खोलासम्म ४.६ किलोमिटर सडकको केन्द्रविन्दूबाट दायाँबायाँ २५ गज अर्थात् २२ दशमलब ८६ मिटर कायम हुनेछ । विसं २०१७ मा राजमार्ग बन्दा सडक दायाँबायाँ २५/२५ गज अर्थात् २२ दशमलव ८६ मिटर कायम गरिएको थियो ।

सडक विभागका अनुसार कूल १५ दशमलव पाँच किलोमिटर सडकमध्ये पहिलो चरणमा साँगादेखि धुलिखेल आठ दशमलव चार किमी सडकखण्ड विस्तारका लागि रु चार अर्ब पाँच करोड ६४ लाखमा ठेक्का लगाइएको थियो । दोस्रो चरणमा सुरु भएको सूर्यविनायक-साँगा सडकखण्ड सात दशमलव पाँच किमी छ । उक्त खण्डको ठेक्का रु तीन अर्ब ८८ करोड ९३ लाखमा सम्झौता भएको थियो ।

साँघुरो सडकका कारण वर्सेनि ट्राफिक जाम बढ्दै गएपछि विस्तार थालिएको हो । सूर्यविनायकदेखि धुलिखेलसम्म विभिन्न स्थानमा निर्माण गर्नुपर्ने पुलका लागि छुटै ठेक्का आह्वान गरिने आयोजनाले जनाएको छ । यसका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर)मा केही परिवर्तन भएको छ । अध्ययन प्रतिवेदनअनुसार यस आयोजनामा २०/२० मिटरको तीन वटा पुल, जगाति र महादेवखोला पेट्रोलपम्प नजिक निर्माण गरिने छ । पुल निर्माण गर्न प्रतिमिटर रु १५ लाख लागत अनुमान गरिएको हो । अनुमानित लागत रु ९० करोड रहेको कार्यालयले जनाएको छ ।

हाल कोटेश्वरबाट लामा दूरीका सवारी दैनिक यही सडक भएर एक हजारभन्दा बढी छुट्ने गरेका छन् । काभ्रेपलाञ्चोकको पूर्वी-दक्षिणी क्षेत्र बिपी राजमार्ग हुँदै सवारी काठमाडौँ-पूर्वी तराई जान्छन् भने उत्तरी नाका तातोपानी पुग्न यही सडक प्रयोग हुन्छ । केही महिनाअघि चीनसँगको नाका सिन्धुपाल्चोकको तातोपानी खुल्ला भएपछि राजमार्गमा सवारी चाप बढेको हो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.