आगामी वर्ष लाभांश वितरण गर्न नसक्ने अवस्थामा अधिकांश बैंक, खराब कर्जा ३ प्रतिशत बढी

  २०८० वैशाख ४ गते ११:३५     सीआर भण्डारी

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको चालू आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासमा खराब कर्जा वृद्धि भएको छ । बैंकहरुले चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक नगरेपनि अधिकांश बैंकको खराब कर्जा बढेको बैंकरहरु बताउँछन् ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा देखिएको तरलताको अभाव र बैंक विरुद्धका गतिविधि लगायतले बैंकको खराब कर्जा बढिरहेको छ । चालू आर्थिक वर्षको प्रथम त्रैमासदेखि नै बैंकहरुलाई रिकभरी (कर्जा असुली) मा सकस परिरहेको छ । त्यो क्रम अझैं रोकिएको छैन । बरु बैंकहरुको वित्तीय विवरण नकारात्म आउने अवस्था जारी छ ।

खराब कर्जा अनुसारको रकम प्रोभिजिङ गर्नु पर्ने व्यवस्था राष्ट्र बैंकको छ । जसकारण नाफामा स्वतः असर पर्ने बैंकरहरु बताउँछन् । पछिल्लो समय अर्थतन्त्रमा समस्या देखिएको र उद्योगी व्यवसायीहरुले कर्जाको सावाँ र ब्याज चुक्ता नगर्दा बैंकको रिकभरीमा सकस देखिएको बैंकहरुहरुले बताएका छन् । राष्ट्र बैंकका अधिकारीहरुले समेत ऋण असुलीमा समस्या परेका कारण खराब कर्जा बढ्न सक्ने धारणा राखिरहेका छन् ।

अघिल्ला वर्षहरुको तुलनामा यस वर्ष बैंकहरुले तरलता अभाव धेरै खेप्नु परेको थियो । जसकारण बैंकहरुले आफ्नो व्यवसाय विस्तार गर्न नसकेको हुँदा धक्का लागेको बैंकका उच्च तहका कर्मचारीहरु बताउँछन् ।

यति बेला बैंकहरुहरु चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरणतयारीमा जुटेका छन् । यसपटक विगत वर्षझैं उत्साहपूर्ण वित्तीय विवरण नआउने देखिन्छ ।

एक बैंकरका अनुसार समग्र बैंकिङ्ग क्षेत्रमा रिकभरीको समस्या देखिएको छ । पछिल्लो समय समग्र क्षेत्रको अवस्था नाजुक नै रहेकाले बैंकको स्थिती पनि खासै उत्साहप्रद छैन । उनले तेस्रो त्रैमासमा बैंकहरुले खराब कर्जा लुकाएर सार्वजनिक गर्न सक्ने शंका समेत व्यक्त गरे ।

‘बैंकहरुले खराब कर्जा लुकाएर प्रकाशन गर्ने सम्भावना देखिन्छ, अहिले अवस्था गम्भीर भएकाले उच्च व्यवस्थापन समूहले सही तथ्याङ्क दिन्छन की दिँदैनन् भन्नेमा भर पर्छ, स्पष्ट तथ्याङ्क बाहिर आउने सम्भावना न्यून छ,’ ती बैंकरले भने, ‘राष्ट्र बैंकले नै बैंकहरुको औषत खराब कर्जाको दर साढे ३ प्रतिशतको हाराहारीमा पुग्ने बताउँदै आएको छ, बैंकहरुको रिकभरीमा अझै समस्या देखियो भने असार मसान्तसम्म ५ प्रतिशतको हाराहारीमा खराब कर्जा पुग्ने अनुमान छ ।’

बैंकहरुको खराब कर्जा बढेपछि निक्षेप संकलनमा असर पर्ने भएकाले बैंकहरुले खराब कर्जा लुकाउन सक्ने उनको तर्क छ । साथै बैंकको खराब कर्जा वृद्धि भएपछि नाफा समेत स्वतः घट्ने उनको भनाइ छ । तेस्रो त्रैमासमा बैंकको वितरणयोग्य नाफा दरमा समेत कमी आएको उनले बताए ।

‘निक्षेप संकलन गर्न एनपीएलको रेसियो कति छ भनेर हेर्नुपर्छ, त्यसले प्रत्यक्ष क्यापिटलमा असर गर्छ, अहिले बैंकिङ्ग क्षेत्र चुनौतिपूर्ण अवस्थामा गुज्रिरहेको छ, एनपीएल बढेको कारण बैंकको नाफामा पनि स्वतः दबाब परेको छ,’ उनले भने, ‘एनएफआरएसमा स्पष्ट आम्दानी देखाउनु पर्छ, ग्राहकले पैसा तिरे वा नतिरे पनि बैंकको विवरणमा नाफा देखाउनु पर्छ तर, नाफाभन्दा पनि वितरणयोग्य नाफा कमजोर स्थितीमा देखिन्छ ।’

उनले असार मसान्तसम्म बैंकको खराब कर्जामा सुधार नहुने बताए । होटल क्षेत्रमा केही सुधार भएपनि व्यवसायीहरु भने अझै सकसमा परेको बताइरहेको धारणा राखे । अधिकांश उद्योगी व्यवसायीहरु उधारोमा फसेका कारण यस्तो स्थिती आएको उनले बताए ।

‘असार मसान्त अघि सुधार हुन गाह्रो देखिन्छ, कुनै पनि क्षेत्रको राम्रो भइरहेको छ भनेर प्रतिक्रिया दिएका छैनन्, होटल क्षेत्रको राम्रो गरेको देखिएपनि व्यवसायीहरुले समस्यामा छौं भनिरहेका छन्, अधिकांश उद्योगी व्यवसायीहरुको रकम उधारोमा फसेको छ, सबै जड त्यतै देखिन्छ,’ उनले भने, ‘विगतमा उद्योग व्यवसायीले सहकारी संस्था गुहारेर बैंकको कर्जा तथा ब्याज तिर्थे तर, अहिले सहकारी संस्थाहरु आफै दबाबमा छन् ।’

अर्थतन्त्र सुधार हुनका लागि ठूलै रकम बजारमा आउनु पर्ने र सहज रुपमा कर्जा प्रवाह हुनु पर्ने उनको भनाइ छ । मर्जरमा गएका बैंकहरुको स्थिती पनि अन्य बैंक सरह नै रहेको उनले बताए । उनका अनुसार मर्जरमा गएका बैंकहरुलाई अन्य बैंकको भन्दा बढी दबाब देखिएका छन् ।

राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) देवेन्द्र रमण खनाल बजार सकारात्मक नदेखिएको बताउँछन् । अधिकांश उद्योगी व्यवसायीहरुको ब्यापार खस्किएको हुँदा तेस्रो त्रैमासमा बैंकहरुको स्थिती पनि कमजोर रहेको उनको भनाइ छ ।

‘उद्योगी व्यवसायीहरुले नीतिगत रुपमा राहतको व्यवस्था हुने आशा गरेका छन्, तेस्रो त्रैमासबाट ब्याजदर घट्दै गएपनि सकारात्मक देखिएको छैन, रिकभरी राम्रो नभएका कारण बैंकको एनपीएल बढ्ने देखिन्छ, समग्र बैंकको एनपीएल ३ प्रतिशत भन्दा बढी नै हुने अनुमान छ,’ उनले भने, ‘एनपीएल बढ्ने बित्तीकै प्रोभिजन राख्नुपर्ने हुन्छ, प्रोभिजन राखेपछि बैंकको नाफामा स्वतः असर गर्छ, सरकारी बैंकको स्थिती पनि अन्य बैंकको जस्तै छ ।’

सरकारी बैंकले सहुलियतपूर्ण कर्जा अन्तर्गतबिना धितो ऋण दिएपनि खासै असर नगर्ने उनले बताए । उनका अनुसार समग्र वित्तीय विवरण उत्साहपूर्ण नभएपनि बैंक ऋणात्मक नै हुनु पर्ने अवस्था नआउने उनको धारणा छ ।

‘बिना धितो थोरै प्रतिशत मात्रै कर्जा गएको हुँदा खराब कर्जामा खासै असर गर्दैन, नाफामा धेरै वृद्धि नभएपनि ऋणात्मक हुने अवस्था छैन, सरकारको पूँजीगत खर्च बढेको र नयाँ बजेट पश्चात् खराब कर्जामा सुधार हुन सक्छ,’ उनले भने, ‘अर्थतन्त्रमा देखिएको समस्याले बैंकको खराब कर्जा बढेको हो, बैंकिङ्ग क्षेत्रमा पछिल्ला घटनाक्रमले धेरै सचेत भएका छन् ।’

चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा कृषि विकास बैंकले नोक्सानी व्यहोर्नु परेको थियो । बैंक स्रोतका अनुसार तेस्रो त्रैमासमा बैंकको नाफा धनात्मक भइसकेको छ । तेस्रो त्रैमासको वित्तीय विवरण अन्तिम चरणमा भएपनि दुई दिन बिदा भएका कारण सार्वजनिक गर्न ढिला भएको स्रोतले बतायो ।

कृषि विकास बैंकका पूर्व डीजीएम ध्रुबचन्द्र गौतमका अनुसार निष्कृय कर्जा बढेको हुँदा बैंकिङ्ग क्षेत्रमा आशाजनक वित्तीय विवरण आउन सक्ने अवस्था छैन । तेस्रो त्रैमासमा बैंकको नाफामा खासै प्रगति हुन नसकेको उनले बताए । निक्षेपको ब्याजदर घटेको कारण असारपछि भने केही सुधार हुन सक्ने उनको भनाइ छ ।

‘बैंकहरुको कर्जा निक्षेप अनुपात सीमाभित्र कायम राख्नु पर्नेछ, मान्छेको क्रयशक्ति र आम्दानी गर्ने क्षमता घटेको हुँदा बैंकिङ्ग क्षेत्रमा यो वर्ष सुधार हुने छाँटकाँट छैन, सेयर बजार घटेको छ, पूँजीगत खर्च निराशाजनक छ, राजश्व संकलनमा गिरावट छ,’ उनले भने, ‘शोधानान्तर र रेमिट्यान्स बढेको भएपनि अन्य सूचकहरु सुधारोन्मुख छैनन् ।’

अर्थतन्त्र सुधार गर्नका लागि राष्ट्र बैंक र अर्थमन्त्रीको सम्बन्धमा सुधार हुनुपर्ने उनले बताए । साथै मौद्रिक नीतिको समीक्षामा केही व्यवस्था खुकुलो गरियो भने सहज स्थिती आउन सक्ने उनले बताए । अहिलको स्थिती हेर्दा बैंकहरुले अर्काे वर्ष लाभांश वितरण गर्न नसक्ने अवस्था आउन सक्ने महाप्रबन्धक गौतमको भनाइ छ ।

‘गभर्नरले सहयोग नगरेका कारण कतिपय नीतिगत व्यवस्थाको सुधारमा समस्या छ, अर्थमन्त्रालय र राष्ट्र बैंकबीच सम्बन्धमा सुधार हुन आवश्यक छ, मौद्रिक नीतिको तेस्रो समिक्षामा केही व्यवस्थामा सुधार तथा नीतिगत परिमार्जन वा संशोधन गर्याे भने सुधार हुन सक्छ,’ उनले भने, ‘केही बैंकले लाभांश दिन खोजेपनि ५ प्रतिशतको हाराहारीमा हुन सक्छ किनभने रिकभरी राम्रो भएको छैन, धेरै कर्जा खराब कर्जामा परिणत भएको छ, लिलामीमा राखिएको धितो पनि बिक्री हुन सकेको छैन ।’

निक्षेपको ब्याजदर घटेको हुँदा कर्जाको ब्याजदर पनि स्वतः घट्ने र बाह्य क्षेत्र पनि सुधार भएकाले अर्काे आर्थिक वर्षदेखि अर्थतन्त्रमा सुधारको संकेत देखिएको उनले बताए ।

‘आयातलाई धान्न सक्ने शोधानान्तर स्थिती छ, अहिले आयात र कर्जा विस्तार हुन नसके पनि ब्याजदर घटेको हुँदा सहज हुनेछ, राजश्व संकलन बढाउनुपर्ने देखिन्छ, तरलता सहज भएकाले कर्जा विस्तारमा जोड दिनुपर्छ,’ उनले भने, ‘एक खर्ब ४ अर्ब रुपैयाँ लगानी गर्न सक्ने तरलता बैंकहरुसँग छ तर, माग नभएकाले कर्जा विस्तार हुन सकेको छैन, बजारमा सेवा र वस्तु बिक्री भएको छैन, उद्योगी व्यवसायीहरुको क्षमता नपुगेपछि हजारौं गाडीहरु भान्सार कार्यालयमा थन्किएका छन्, यो अवस्थामा बैंकको वित्तीय विवरण पनि राम्रो आउने देखिँदैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.