आजदेखि नयाँ शैक्षिक सत्र शुरु, १० गतेसम्म सबै विद्यार्थीको हातमा पुस्तक पुग्ने

  २०८० वैशाख ३ गते १५:५८     विकासन्युज

काठमाडौं । नयाँ वर्ष २०८० सँगै नयाँ शैक्षिक सत्र आजदेखि शुरु भएको छ । नयाँ वर्षको पहिलो दिन शुक्रबार र २ गते शनिबार सार्वजनिक बिदा भएको हुँदा नयाँ शैक्षिक सत्रको शुरुवात आजदेखि शुरु भएको हो ।

आजदेखि देशभरका सामुदायिक, निजी र गुठी अन्तर्गतका सम्पूर्ण विद्यालयहरुले विद्यार्थीको नयाँ भर्ना लिएर पठनपाठन शुरुवात गर्दैछन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र शिक्षा तथा मानव स्रोत विकास केन्द्रले वैशाख १ गते नै एक सूचना प्रकाशित गरेर विद्यालय जान उमेर पुगेका विद्यार्थीहरुलाई विद्यालय भर्ना गरेर शिक्षा सम्बन्धी मौलिक अधिकार कार्यान्वयन गराउन जिल्लास्थित शिक्षा समन्वय इकाई, स्थानीय तह र विद्यालय अनुरोध गरेका छन् ।

शैक्षिक सत्र २०८० को भर्ना अभियान कार्यक्रम बैशाख महिनाभित्र नै सञ्चालन गर्न र नयाँ विद्यार्थीलाई भर्ना गरी स्वागत गरेर निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउन मन्त्रालय र केन्द्रले अनुरोध गरेका छन् ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्रवक्ता रुद्रप्रसाद अधिकारीका अनुसार अहिलेसम्मको तथ्यांकमा विद्यालय जाने उमेरका बालबालिका मध्ये ९७.१ प्रतिशत मात्रै विद्यार्थी विद्यालय भर्ना भएको र बाँकी २.९ प्रतिशत बालबालिका विद्यालय बाहिर नै रहेका छन् । अहिलेको भर्ना अभियानमा बाहिर छुटेका विद्यार्थीलाई पनि भर्ना गर्ने प्रयत्न हुने उनले बताए ।

इतिहासमा पहिलोपल्ट समयमा नै विद्यार्थीले पुस्तक पाउने

नयाँ शैक्षिक सत्रमा देशभरका विद्यार्थीले इतिहासमा पहिलोपटक समयमा नै पुस्तक पाउने भएका छन् । विगतमा शैक्षिक सत्रको अन्त्यसम्म पनि पुस्तक दिन नसकेको जनक शिक्षा सामग्री कम्पनी लिमिटेडले नयाँ शैक्षिक सत्रमा भने समयमा नै सबै विद्यार्थीको हातमा पुस्तक पुर्याउन सफल हुने जनाएको छ । जनक शिक्षाका प्रवन्ध निर्देशक अनिलकुमार झाले अहिलेसम्म पहाडी र हिमाली भूगोलका ५६ वटा जिल्लामा पुस्तक पुगिसकेको र बाँकी जिल्लामा १० गतेसम्म पुर्याउने बताए ।

उनका अनुसार पहाडका बाँकी जिल्ला र तराईका जिल्लामा बैशाख १० गतेसम्म पुस्तक पुर्याउनेगरी केन्द्रले काम गरिरहेको छ । जनक शिक्षाले सबै जिल्लामा बिक्रेता मार्फत नै पुस्तक बिक्री गरेको छ ।

विद्यालयको पुस्तक बिक्री गर्दा बिक्रेतालाई नौ प्रतिशत कमिसन र ढुवानी भाडा उपलब्ध गराउने व्यवस्था गरिएको निर्देशक झाले बताए । उनका अनुसार काठमाडौं उपत्यकामा पुस्तक ढुवानी गर्दा बिक्रेताले ढुवानी खर्च पाउँदैनन भने हुम्ला जिल्लामा ढुवानी गर्दा सबैभन्दा धेरै ६८ प्रतिशत सम्म कमिसन प्राप्त गर्छन् ।

छपाई मेसिन थपिएको, उत्पादन क्षमता वृद्धि भएको, कागज आपूर्तिमा सहज भएको, आवश्यक जनशक्ति करारमा लिइएको र २४ सै घण्टा काम गर्ने वातावरण मिलाइएकाले समयमा नै आवश्यक पुस्तक छापेर वितरण गर्न सफल भएको निर्देशक झाले विकासन्युजलाई बताए ।

One comment on "आजदेखि नयाँ शैक्षिक सत्र शुरु, १० गतेसम्म सबै विद्यार्थीको हातमा पुस्तक पुग्ने"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.