एमबीबीएस छात्रवृत्तिमा अन्तर्राष्ट्रिय चलखेल, पास भएकालाई हटाएर अर्कै विद्यार्थीको नाम छनोट

  २०८१ जेठ ३ गते ११:५०     इन्द्रसरा खड्का

काठमाडौं । अछाम मंगलसेनका प्रकाश कठायतको दैनिकी आजभोलि मन्त्रालय धाउँदै र मन्त्रीलाई भेट्दै बितिरहेको छ । छात्रवृत्ति कोटामा एमबीबीएस पढ्न बंगलादेश जाने तयारीमा गरिरहेका उनको नाममा बंगलादेशले फरक व्यक्तिको नाम पठाएपछि उनी न्यायका लागि मन्त्रालय र मन्त्रीकहाँ धाइरहेका छन् ।

‘१३ दिन भयो राम्रोसँग खाना पनि खाएको छैन,’ प्रकाशले विकासन्युजसँग गुनासो गर्दै भने, ‘नेपाल सरकारले छात्रवृत्तिका लागि लिएको परीक्षा पास गरेर नामसमेत छनोट भयो । तर, अन्तिमममा अर्कैको नाम आयो, यस्तो कसरी भयो, थाहै भएन ।’

गत कार्तिक १८ गते सरकारले बंगलादेश पढ्न पठाउने विद्यार्थीको परीक्षा लिएको लिएको थियो । त्यसमा प्रकाशले पनि परीक्षा दिए । उनी पास भएर छनोट समेत भए । तर, अन्तिममा नाम अर्कैको आयो ।

एमबीबीएसतर्फ १९ र बीडीएसतर्फ तीन जनाको लागि लिइएको परिक्षमा उनको पनि नाम निस्किएको थियो । छात्रवृत्तिमा नाम निस्किएपछि प्रकाशले बंगलादेश पढ्न जाने तयारी थाले । अछाम गएर परिवारसँग भेटघाट गरे ।

तर, गत वैशाख १८ गते बंगलादेशले पठाएको विद्यार्थीको सूचीमा प्रकाशको नाम भेटिएन । आफ्नो नाम नभेटिएपछि उनी छनोट भएको नाम कसरी कहाँबाट हट्यो र आफ्नो सट्टा अर्कैको नाम कसरी पर्यो भनेर जवाफ खोजिरहेका छन् ।

‘कसरी यस्तो भयो भन्ने कुरा अचम्म लागेको छ,’ प्रकाश भन्छन्, ‘सबै तयारी गरिसकेको थिएँ, घरपरिवार र आफन्तलाई पढ्न जाँदैछु भनेर आएँ, उनले प्रश्न गर्दै भने, ‘अब म न्याय खोज्न कहाँ जानु ?’

प्रकाशले नेपालमै चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)मा बिडीएसतर्फ छात्रवृत्ति पाएका थिए । तर, एमबीबीएसतर्फ बंगलादेशमै पढ्न छात्रवृत्ति पाउँदा उनले यहाँ पाएको छात्रवृत्ति छोडे । अहिले नाममा चलखेल हुँदा उनी न यता न उताको भएका छन् ।

प्रकाशजस्तै एमबीबीएसमा नाम निस्केका १९ मध्ये ९ र बीडीएसमा ३ जनामध्ये एक जनाको नाममा चलखेल भएको उनीहरूको आरोप छ । चिकित्सा शिक्षा आयेगले बंगलादेशमा छात्रवृत्तिमा मेडिकल शिक्षा पढ्न जाने २२ जनाको नाम छनोट गरेर शिक्षा मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत् नेपालस्थित बंगलादेशको राजदूतावासमा पठाएको थियो ।

आयोगले पठाएको सूचीभन्दा बंगलादेशले फरक नामावली पठाएपछि छनोट भएका १० जनाको नाम हटेर उनीहरूको सट्टा नयाँ नाम आएपछि अहिले यो विषय सबैले चासोका साथ हेरेका छन् ।

बंगालदेशको सरकारले प्रत्येक वर्ष नेपाललाई चिकित्सा शिक्षाअन्तर्गत एमबीबीएस र बीडीएसतर्फ छात्रवृत्ति दिने गरेको छ । दुई देशको सम्झौताअनुसार सन् २०२३/०२४ का लागि एमबीबीएसतर्फ १९ र एमडीएसतर्फ २३ गरी जम्मा २२ सिटका लागि कुटनीतिक नाोटमार्फत नेपालमा रहेको बंगलादेशको दूतावासमार्फत परराष्ट्र मन्त्रालयलाई पठाएको थियो ।

परराष्ट्रले शिक्षा मन्त्रालय र शिक्षा मन्त्रालयले चिकित्सा शिक्षा आयोगलाई नोट पठाउँदा यसै वर्ष परीक्षा भयो । बंगलादेशको नोटको आधारमा चिकित्सा शिक्षा आयोगले सूचना निकाल्यो । उसले आवश्यक मापदण्ड तोकेर परीक्षा लियो ।

आयोगले समयमै परीक्षाको नतिजा पनि सार्वजनिक गर्यो । सार्वजनिक गरेको नतिजा शिक्षा मन्त्रालयमा पठायो । शिक्षा मन्त्रालयले फेरि परराष्ट्र मन्त्रालयमा पठायो । परराष्ट्रले नेपालमा रहेको दूतावासमार्फत बंगलादेशको डिरेक्टर जनरल मेडिकल एजुकेशन (डीजीएमई) लाई पठायो ।

बंगलादेशको चिकित्सा शिक्षा महानिर्देशनालयले वैशाखको १८ गते निकालेको सूचीमा नेपाल सरकारले सबै प्रक्रिया पूरा गरेर पठाएको विद्यार्थीको ९ जना एमबीबीएस र एकजना बीडीएसको नाम काटेर नयाँ विद्यार्थीको नाम पठाएको देखिन्छ ।

आफ्नो नाम काटेर अरुको नाम आएपछि नेपाली विद्यार्थी अहिले यो कसरी भयो भन्ने विषयमा खोजी गर्दै न्याय मागिरहेका छन् । १० जनामध्ये दुई जना नेपालमा भर्ना भइसकेको र बाँकी ८ जना अहिले मन्त्रालय धाइरहेका छन् ।

यी हुन् सुरुमा छनोटमा भएका विद्यार्थी

एमबीबीएस तर्फ
१. राहुल शाह
२. देबशिखर रौनीयार
३. पारस कठायत
४. आशिर्वाद झा
५. अनु कुमारी शाह
६. अमृता कुमारी
७. ललनकुमार दास
८. पुनम चुनारा
९. समिक्षा बोहरा
१०. बीडीएस तर्फ
११. अस्वीन

पुरानो हटाएर नयाँ थपिएका विद्यार्थी
१. गौरव झा
२. नेहा अन्सारी
३. आदित्या महतो
४. आशिस अधिकारी
५. आशिस कुमार साह
६. आदर्शकुमार यादव
७. अहसान जमाल
८. अभिशेक शाह
९. एमडी मासोम अन्सारी

आश्चर्यमा आयोग र मन्त्रालय

विद्यार्थीको नाममा कसरी चलखेल भयो भन्ने विषयमा अहिले शिक्षा मन्त्रालय, चिकित्सा शिक्षा आयोग र परराष्ट्र मन्त्रालय नै अचम्ममा परेका छन् ।

चिकित्सा शिक्षा आयोगका अध्यक्ष प्रा.डा अञ्जलीकुमार झाले आयोगले एकिकृत प्रवेश परीक्षा मार्फत् छनोट भएका विद्यार्थीको नामावली शिक्षा मन्त्रालयमा पठाएको र त्यसपछि के भयो भन्नेबारे जानकारी नभएको बताए ।

‘हामीले परीक्षा लिएर २२ जना विद्यार्थीको नाम पठाएका हौं, त्यो मध्ये केही विद्यार्थीको कन्फ्रमेशन आयो र केही विद्यार्थी त्यो लिस्टमा नपरेको सूचना आयो, यो विषयमा हामीलाई पनि अचम्म लागेको छ,’ उनले भने ।

झाले चिकित्सा शिक्षा आयोग, शिक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयबाट पठाइएको सूचीमा एकनास देखिन्छ । सबैको नाम ठिकै छ । तर, बंगलादेशबाट आउने सूचीमा कहाँबाट हामीले छनोट नगरेका विद्यार्थीको नाम आयो भन्ने विषयमा सोधपुछको काम भइरहेको बताए । उनी कुनै न कुनै पहँचको आधारमै यस्तो भएको हुन सक्ने बताउँछन् ।

शिक्षा मन्त्रालयले पनि यो विषयमा अहिले छानबिन गरिरहेको छ । शिक्षा मन्त्रालयले बंगलादेशलाई कुटनीतिक नोट पनि पठाइसकेको बताइसकेको छ ।

यो विषयमा शिक्षामन्त्री सुमना श्रेष्ठले नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्दिननोमान चौधरीसँग भेट पनि गरिसकेकी छन् ।

अन्तर्राष्ट्रिय चलखेलको आशंका

शिक्षा मन्त्रालय, पराराष्ट्र मन्त्रालय र चिकित्सा शिक्षा आयोगले नै थाहा नभएको जानकारी दिइरहँदा यसमा अन्तर्राष्ट्रिय चलखेलको आशंका गरिएको छ । विद्यार्थीका अभिभाव सिद्धराज ढुङ्गानाले यसमा छानबिन हुनुपर्ने माग राखेका छन् ।

‘छनोट भएका विद्यार्थीको नाम कसरी र कसले हटायो, यस विषयमा छानबिन हुनुपर्छ, नयाँ नाममा अटाएका विद्यार्थीको कुन नेतासँग पहुँच छ, यस विषयमा जानकारी हुनुपर्छ, यस विषयमा हामी अदालत पनि जान्छौं,’ ढुङ्गानाले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.