विजनेशमा ब्रेक लागेपछि बैंकहरुले घटाए ब्याज, २० महिनापछि एकल अंकमा झर्यो

  २०७९ चैत २९ गते ११:३३     विकासन्युज

काठमाडौं । २० महिनापछि वाणिज्य बैंकहरुको ब्याजदर एकल अंकमा झरेको छ । नेपाल बैंकर्स संघले बुधबार ब्याजदर घटाउने निर्णय गरेसँगै २० महिनापछि एकल अंकमा ब्याजदर झरेको हो । बैंकहरुले बैशाख महिनाका लागि ब्याजदर घटाउने निर्णय गरेका हुन् ।

वाणिज्य बैंकहरुले बैशाख १ गतेदेखि लागू हुने गरी निक्षेपमा १.०१ प्रतिशत घटाएर ९.९९ प्रतिशतमा झारेको हो । वाणिज्य बैंकका सीईओहरुको छाता संगठन नेपाल बैंकर्स संघको बुधबार बसेको बैठकले निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको अध्यक्ष सुनिल केसीेले विकासन्युजलाई जानकारी दिए ।

बैशाखमा बैंकहरुले ब्यक्तिगत तर्फको मुद्दती निक्षेपमा ९.९९ प्रतिशत र संस्थागत तर्फको मुद्दती निक्षेपमा ७.९९ प्रतिशत ब्याजदर निर्धारण गरेका हुन् । यस्तै, साधारण बचत खातामा भने न्यूनतम ५.४० प्रतिशतदेखि ७.४० प्रतिशत प्रतिशतसम्म ब्याजदर निर्धारण गर्ने भएका छन् ।

यसअघि २० महिना अर्थात् २०७८ असोजमा दोहोरो अंकमा ब्याजदर पुगेको थियो । तरलतामा चाप पर्न थालेपछि २० महिनाअघि १० प्रतिशत हाराहारीमा ब्याजदर पुगेको थियो ।

एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)ले बैंकको ब्याजदर उच्च हुँदा कर्जा विस्तारमा ब्रेक लागेपछि निक्षेपमा घटाउनु परेको बताए । पछिल्लो सम्म बैंकहरुमा तरलता सहज भएपनि कर्जा विस्तार हुन नसकेको उनको भनाइ छ ।

‘तरलता सहज भएको छ, सीडी रेसियो पनि कम्फर्टेबल छ, एकाध बैंक तलमाथि छन् भनेपनि प्राय सहज नै छ, ब्याजदरलाई बजारले चलाउने हो, अहिले सहज भएकाले ब्याजदर घट्यो, फेरी टाइट भएपछि पुनः बढ्न सक्छ,’ उनले भने ।

यदि कर्जा विस्तार बढ्दै गएर टाइट अवस्थामा पुगेपछि ब्याजदर पुन बढ्न सक्ने उनले बताए । बैंकिङ्ग क्षेत्रमा तरलतामा चाप पर्दा ब्याजदर बढ्ने र सहज भएको बेला घट्ने बजारको नियम रहेको उनको भनाइ छ ।

‘ब्याजदरलाई बजारमा छोड्नु पर्छ, हल्लाखल्ला गर्नुभन्दा बजारलाई छोड्दा राम्रो हुन्छ, ब्याजदरमा अंकुश लगाउन हुँदैन,’ उनले भने, ‘राष्ट्र बैंकको निर्देशन अनुसार बैंकको प्रिमियम घटाउन दबाब छ, एभरेष्ट बैंकले १/२ प्रतिशत प्रिमियम घटाइसकेको छ, कर्जाको ब्याजदर अटोमेटिक घट्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.