‘गत वर्ष निद्रा लाग्दैनथ्यो, अहिले सहज भएको छ’

  २०७९ चैत २८ गते १८:११     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र सुधार हुँदा सबै कुराहरु सुधार हुँदै गएको बताएका छन् । वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक कार्यक्रममा पत्रकारहरुसँग बोल्दै गभर्नर अधिकारीले अर्थतन्त्रमा सुधार हुँदै जाँदा सहज भएको बताएका हुन् । साथै, अहिले यहि अवस्थालाई स्थिर तथा निरन्तरता दिनुपर्ने उनको भनाइ छ ।

‘तथ्याङ्क हेर्दा स्थिती निकै सुधार भएको छ, गत वर्ष धेरै कमजोर अवस्थामा हुँदा निद्रा नै लाग्दैनथ्यो, चालू खाता स्थिती १२.८ प्रतिशत नकारात्मक थियो तर अन्य देश कुनैको पनि थिएन, अहिले १२.८ नकारात्मकबाट बाउन्स ब्याक भएर सहज स्थितीमा आएको छ, भविष्यमा आवश्यक औषधी, निर्माण सामाग्री लगायतका वस्तुहरु खरिद गर्न सक्ने स्थिती बनेको छ,’ उनले भने ।

चालु आर्थिक वर्षको ८ महिनामा आइपुग्दा अर्थतन्त्रका अधिकांश सूचकहरु सकारात्मक रहेको बताउँदै उनले अर्थतन्त्रमा सकारात्मक सुधार भएपछि जनताले महशुस हुने गरी सुधार हुन नसकेको बताए । अघिल्ला वर्षहरुमा पनि कर्जाको लागत १३ प्रतिशत हुँदा आर्थिक क्रियाकलाप भएको यसपटक भने सोही अवस्थामा व्याजदर हुँदा पनि आर्थिक क्रियाकलापमा कमी आएको गभर्नर अधिकारीको भनाइ छ ।

‘अर्थतन्त्तका सबै सूचक सकारात्मक छन् तर, समाजले महशुस गर्न पाएका छैनन्, सबैले ब्याज बेसी भयो भनेर छटपटी भइरहेको छ, ब्याज बेसी मात्रै भएर होकी अरु अर्थतन्त्र चलायमान नहुँदा समस्या आएको हो ? अर्थतन्त्रमा व्याजदरले मात्रै प्रभाव पार्दैन, अरु तत्वले पनि असर गरेको हुन्छ,’ उनले भने, ‘ब्याजदर बढी भयो भनेर राष्ट्र बैंक तिरै औंला ठड्याउनु हुन्छ तर, कुनै वस्तु उत्पादन गर्न ब्याजको कम्पोनेन्ट कति हुन्छ भनेर गणना गर्न जरुरी छ, आर्थिक क्रियाकलाप कम हुँदा समस्या आएको हो ।’

आवश्यक परेका ऋणीहरुलाई मात्रै कर्जा उपलब्ध गराउन उनले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिए । साथै, कर्जाको गलत प्रयोग गर्ने बैंक तथा वित्तीय संस्थालाई कारवाहीको दायरामा ल्याएको अधिकारीले बताए । उनका अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष धेरै बैंक र सीईओलाई कारवाही गरिएको छ । राष्ट्र बैंकले गलत बैंकिङ्ग अभ्यास गर्ने विषयमा थप अध्ययन पनि गरिरहेको उनको भनाइ छ ।

‘राष्ट्र बैंकले धेरै सुविधा दिएको छ, आवश्यक परेको ऋणीलाई मात्रै कर्जा दिनुहोस्, व्यवसाय पुनत्र्थान, विजनेशमा वृद्धि र दीर्घकालमा टिकाउ गर्न सक्नेलाई मात्रै कर्जा दिनुस्, रिकोभर नै हुँदैन भने दिनु पर्दैन,’ उनले भने, ‘कतिपय व्यवसायीहरुले गलत प्रयोग गरेका छन्, राष्ट्र बैंकले ठाउँका ठाउँ कारवाही पनि गरेको छ, अघिल्ला वर्षहरुको तुलनामा धेरै बैंक र सीईओहरुलाई कारवाही, पेनाल्टी लगाएका छौं ।’

बैंकबाट ऋण लिएपछि तिर्नु हुँदैन भन्ने कुरा अराजक भएको उनले बताए । यस्ता गतिविधि गर्ने व्यक्तिलाई कारवाहीको दायरामा ल्याउन राष्ट्र बैंकले पहल चालिरहेको उनको भनाइ छ । बैंकमा तरलता सहज भएपनि पछिल्ला घटनाक्रमले बैंकहरुले सहजै कर्जा नदिएको उनले बताए ।

‘तरलता सहज भएको छ तर, ऋणीले कर्जा पाएका छैनन्, पछिल्ला गतिविधिले बैंकहरुलाई सचेत गराएको छ, सहज रुपमा ऋण दिनु हुँदैन, जथाभाबी ऋण दिएपछि विरोध हुन्छ भनेर बैंकरहरु सचेत भएका छन्,’ उनले भने ।

लघुवित्त वित्तीय संस्थाहरुको ब्यापक सुधार गर्नुपर्ने राष्ट्र बैंकले महशुस गरेको उनले बताए । लघुवित्त संस्थाहरुलाई दीर्घकालसम्म टिकाउनका लागि लाभांशमा कडाइ गरेको गभर्नर अधिकारीको भनाइ छ । लगानीकर्ताले १५ प्रतिशत मात्रै वितरण गर्दा बाँकी नाफा दीर्घकालसम्म सञ्चालन गर्न सक्ने, रिटर्न अर्निङ बढ्ने, तरलता सहज हुने उनले बताए ।

‘लघुवित्तको लाभांश कम गराएकै हो किनभने अहिले सकसमा परेका छन्, एकैचोटी सबै नाफा वितरण गर्दा भोलिका दिनमा संस्था नै कोल्याप्स भयो भने के गर्ने ?, अहिलेदेखि नै सुधार गरेर लघुवित्तको दीगोपना बढाउन आवश्यक छ, लघुवित्त विरुद्ध विरोध गरेर संस्था आवश्यक छैन, औचित्य नै छैन भनेर हल्ला चलाएका छन्,’ उनले भने, ‘घुवित्तलाई जोगाउन लाभांशमा कडाई गरेको हो, अघुवित्तले सामाजिक तथा आर्थिक रुपान्तरण गर्न महत्वपूर्ण भूमिका खेलेका छन् ।’

पछिल्लो ४ महिनायता प्रत्येक महिना १ खर्ब भन्दा बढी रेमिट्यान्स भित्रीरहेको उनले बताए । अर्थतन्त्र सुधार हुँदै जादा उच्च रहेको ब्याजदर निरन्तर घटिरहेको उनको भनाइ छ । रास्ट्र बैंकका कामकारवाहीलाई राजनीतिसँग जोड्न नमिल्ने गभर्नर अधिकारीले बताए ।

‘राष्ट्र बैंकले नीति निर्देशन जारी गर्दा २ दर्जन मान्छे सहभागी हुन्छन्, समग्र अर्थतन्त्रलाई मध्यनजर गरी नीति निर्देशन जारी गर्छ, कसैको व्यवसायिक स्वार्थ पुरा भएन भन्दैमा परिवर्तन गर्छ भन्ने बिल्कुलै सोच राख्न हुँदैन, राष्ट्र बैंक स्वायत्त संस्था भएकाले हरेक कामकारवाहीलाई राजनीतिसँग नजोडिदिनुहोला, राष्ट्र बैंक ‘प्रोफेसनल’ संस्था थियो, छ र भोलि पनि हुनेछ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.