म्युचुअल फण्डले घरजग्गा र सुनमा लगानी गर्न पाउनुपर्छ : सीईओ कार्की

  २०७९ चैत २७ गते १०:५२     विकासन्युज

काठमाडौं । सिद्धार्थ क्यापिटलले चैत २६ गतेदेखि सिद्धार्थ इन्भेष्टेमन्ट ग्रोथ स्किम-३ निष्काशन तथा बिक्री खुला गरेको छ । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सिद्धार्थ इन्भेष्टेमन्ट ग्रोथ स्किम-३ ले १२ अर्ब रुपैयाँ बराबरको इकाई बिक्री खुला गरेको हो । १० वर्षे अवधिको यो योजना बन्दमुखी प्रकृतिको हो ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १२ करोड इकाई रहेको जनाएको छ । जसमध्ये १० प्रतिशत अर्थात् १ करोड २० लाख इकाई कोष प्रबद्र्धक सिद्धार्थ बैंकलाई, ५ प्रतिशत अर्थात् ६० लाख इकाई कोष व्यवस्थापक सिद्धार्थ क्यापिटललाई र बाँकी १० करोड २० लाख इकाई सर्वसाधारण लगानीकर्तालाई छुटाइएको छ ।

क्यापिटलको फण्डमा लगानीकर्ताले न्यूनतम १ सय इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्म खरिद गर्न सक्नेछन् । क्यापिटलको फण्ड छिटोमा चैत २९ गतेसम्म खरिद गर्न सकिनेछ । यदि सो अवधिमा पूर्ण आवेदन नपरेमा २०८० बैशाख १० गतेसम्म आवेदन दिन समय लम्बिनेछ । यहि विषयमा आधारित भएर सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्दीप कार्कीसँग विकासन्युजका सीआर भण्डारीले कुराकानी गरेका छन् ।

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-३ कस्तो प्रकारको फण्ड हो ?

बजारमा सबै फण्डहरु इक्विटी ओरियन्टेड छन् । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-३ पनि इक्विटी ओरियन्टेड फण्ड हो । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-३ बाट संकलन रकम सेयर बजारमै लगानी गर्ने हो । फण्डहरुलाई सेयर बजार बाकेह अन्य क्षेत्रमा लगानी गर्नका लागि अनुमति छैन ।

यो योजनाका विशेषता के-के हुन् ?

सेयर बजार ४५ प्रतिशतसम्म झरेको छ । सेयर बजारमा अहिले लगानी गर्दा धेरै नाफा कमाउन सकिन्छ । त्यसैले अहिले जारी गरिएका फण्डले इकाईधनीहरुलाई धेरै प्रतिफल दिन सक्छन् । सेयर बजार घटेर तल्लो विन्दुमा पुगेको हुँदा लगानी गर्न सहज हुन्छ । अहिले सस्तो मूल्यमा सेयर खरिद गरेर दीर्घकालमा मूल्य बढ्न सक्छ ।

सेयर बजार तल्लो तहमा झरेको छ । म्युचुअल फण्डमा पनि आकर्षण कम छ । लगानीकर्ताको मनोबल कमजोर बनेको छ । यस्तो समयमा फण्ड बिक्री हुन्छ त ?

पक्कै पनि फण्ड बिक्री हुन्छ । किनभने सेयर बजार बुझेका लगानीकर्ताहरुका लागि अहिले उपयुक्त समय हो । लगानीकर्ताको मनोबल पक्कै घटेको छ । बजार अझै के हुन्छ भन्ने अन्यौलता छ । बजारमा धेरै उतारचढाब पक्कै भएको छ । तर, सधैं यस्तै रहन्छ भन्ने पनि छैन । अब बजार विस्तारै सुधार हुन्छ । लगानीकर्ताले छोटो अवधिका लागि मात्रै फाइदा खोजिरहेका छन् । अधिकांश फण्डहरु ८/१० वर्ष अवधिका छन् । दीर्घकालका लागि बजारको स्थिति राम्रो देखिन्छ । अहिले बजारमा लगानीकर्ताको मनोबल कमजोर भएपनि अब बजार माथि नै उक्लिने हो ।

बजार घट्दा म्युचुअल फण्डलाई कस्तो असर गर्छ ?

बजारमा फण्डहरुको मूल्य पार भ्यालू भन्दा तल झरेको छ । म्युचुअल फण्डको मूल्य १०/१५ प्रतिशतसम्म घटेको देखिन्छ । अब धेरै तल झर्नु पर्ने कारण छैन । लगानीकर्ताहरुमा बुझाईको कमी छ । फण्डहरु पनि विभिन्न समयमा बजारमा आएका छन् । यदि बजार ५० प्रतिशत बढ्यो भने फण्डहरुले राम्रो प्रतिफल दिन्छन् । फण्डहरुमा विभिन्न तत्वहरुले पनि प्रभाव पारेको हुन्छ । अहिले ५ वर्ष अघि आएका फण्डको कस्ट फरक परेको हो । तर, अहिले आएका फण्डहरुबाट तत्काल फाइदा लिन सकिन्छ ।

प्रत्येक फण्डहरुको आ-आफ्नै विशेषता छन् । कुनै फण्ड बजार बढेको बेला आएका छन् भने कुनै फण्ड बजार घटेको बेला । १० रुपैयाँ भन्दा कम मूल्य भएका फण्डहरुले लाभांश वितरण गरेका पनि छन् । जस्तो सिद्धार्थ क्यापिटलका २ वटा फण्ड सञ्चालित छन् । एउटा फण्डले ५७ प्रतिशत र अर्काे फण्डले ४५ प्रतिशत लाभांश वितरण गरेको छ । अन्य फण्डहरुले पनि प्रत्येक वर्ष लाभांश वितरण गरिरहेका छन् । लगानीकर्ताहरुले छोटो अवधिभन्दा दीर्घकालका लागि हेर्दा फाइदा नै छ । ५ वर्षको अवधिमा फण्डहरुले ३/४ पटक लाभांश वितरण गरिसकेका हुन्छन् । फण्डहरुले क्षमता अनुसार प्रत्येक वर्ष इकाईधनीहरुलाई लाभांश वितरण गर्दै आएका छन् ।

फण्डहरुले औषतमा १५/२० प्रतिशतसम्म प्रतिफल वितरण गरेका छन् । केही परिपक्व भएका फण्डहरुले औषतमा ४० प्रतिशतसम्म प्रतिफल बाँडेका पनि छन् । म्युचुअल फण्डहरुले वार्षिक प्रतिफल वितरण गर्दा नराम्रो भन्न पक्कै पनि मिल्दैन । म्युचुअल फण्डहरुले राम्रो पर्फमेन्स पनि गरिरहेका छन् । आजको भोलि प्रतिफल खोेज्ने हो भने म्युचुअल फण्ड राम्रो नदेखिन सक्छन् । तर, दीर्घकालका लागि होल्ड गर्ने लगानीकर्ताका लागि म्युचुअल फण्ड उत्कृष्ट क्षेत्र हो ।

म्युचुअल फण्डको धेरै लामो इतिहास पनि छैन । त्यसैले बजारमा एक/दुई फण्डहरुले राम्रो प्रर्फमेन्स गर्न नसेकेका हुन सक्छन् । कतिपय कुराहरुमा हामी पनि गर्दै सिक्दै छौं । नेपालमा म्युचुअल फण्डको इतिहास १० वर्ष मात्रै भयो । विदेश (भारत)मा म्युचुअल फण्डको ६० वर्षको इतिहास छ । तैपनि हामीले सञ्चालन गरेका फण्डबाट असन्तुष्ट नै हुनुपर्ने अवस्था छैन । जस्तो सिद्धार्थ क्यापिटलले सञ्चालन गरिरहेका फण्डहरुले वार्षिक औषत २० प्रतिशत लाभांश वितरण गर्दै आएको छ ।

अर्थतन्त्र पनि स्थीर हुँदैछ । आगामी वर्षमा सबैभन्दा धेरै लाभांश दिन सक्ने क्षेत्र म्युचुअल फण्ड नै हुनेछ । त्यसकारण पनि म्युचुअल फण्डमा आकर्षण नै देखिन्छ । परिपक्व हुने समयमा वास्तविक न्याभभन्दा बढीमै कारोबार भएका हुन्छन् । अबको सेयर बजारमा म्युचुअल फण्डले नै राज गर्छ ।

म्युचुअल फण्ड बजार बढेको बेला खरिद गर्ने की घटेको बेला ? 

यो लगानीकर्ताको व्यक्तिगत निर्णय हो । जसले सानो ‘होराइजन’ राखेको छ, उसले बजार बढेको बेला खरिद गर्छ । अहिले फण्ड खरिद गरेर ४/५ महिनापछि लाभांश बुक गरेर बाहिरीन्छन् । बजारको स्थिती पनि बढेको बेला बढ्यै हुन्छ भने घटेको बेला घटेको घट्यै हुन्छ । बजार घटेको बेला धेरै औजार प्रयोग गर्न सकिन्छ । घटेको बेला राम्रो गर्न सक्ने क्षमता हामीसँग छ । हामीले बजार घटेकै बेला पनि राम्रो नाफा कमाउन सक्छौं । बजार बढेको बेला राम्रो देखिन्छ भने घटेको बेला नराम्रो देखिनु स्वभाविक हो । बजारमा सबै जना डाउन भएर बसेका छन् । बजार बढेको बेला न्याभ बढी हुने भएकाले लाभांश पनि राम्रो दिन सक्ने क्षमता हुन्छ ।

अन्य समूहका कम्पनीहरुसँग तुलना गर्ने हो बजार घटेको बेला पनि म्युचुअल फण्डहरुले औषत १५ प्रतिशत लाभांश वितरण गरेका छन् । अब त्यसलाई नराम्रो भन्न त मिल्दैन । गत वर्ष सिद्धार्थ क्यापिटलका फण्डहरुले १० प्रतिशतसम्म लाभांश वितरण गरेको थियो । तर, अन्य क्षेत्रका कम्पनीहरुले १० प्रतिशत पनि लाभांश सकेका छैनन् । अब बजार भाइब्रेट भएर माथि उक्लिएपछि राम्रो प्रतिफल दिन्छन् ।

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-३ ले कुन-कुन क्षेत्रमा लगानी गर्छ ?

नियामक निकायले स्टक मार्केटमा मात्रै लगानी गर्न अनुमति दिएको छ । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-३ ले पनि नियामकले दिएको क्षेत्रभित्रै लगानी गर्छ । सेयर बजारको वस्तु स्थिती हेरेर लगानी गर्छ । सेक्टरमा आधारित फण्डहरु पनि आइरहेका छन् । भविष्यमा अन्य क्षेत्रमा पनि लगानी गर्ने वातावरण बन्यो भने त्यतापनि लगानी सक्छौं । आजको दिनमा अन्य क्षेत्रमा अनुमति नदिएको हुँदा इक्विटीमा मात्रै लगानी गर्छाै ।

यो स्किमले इकाईधनीहरुलाई कति प्रतिफल दिने प्रक्षेपण गरेको छ ?

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-३ को अवधि १० वर्षको हो । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-३ का इकाईधनीहरुलाई वार्षिक २०/२२ प्रतिशतसम्म प्रतिफल दिने प्रक्षेपण छ । कुनै वर्ष बढी र कुनै वर्ष कम हुन सक्छ । तर, औषतमा वार्षिक २०/२२ प्रतिशत प्रतिफल दिन्छौं । बजारको परिपेक्ष हेर्दा सर्ट टर्म हावी देखिन्छ । त्यो बेलामा हाम्रो प्रक्षेपण नमिल्न पनि सक्छ । प्रत्येक वर्ष नै वितरण गर्नुपर्छ भन्ने मान्यता लगानीकर्तामा छ ।

यसअघि जारी गरेका म्युचुअल फण्डबाट कस्तो अनुभव बटुल्नु भएको छ ?

मलाई ठिक लाग्छ । हामी यहि क्षेत्रबाट विकास हुँदै गर्दै सिक्दै आएका छौं । एक/दुई फण्डको पर्फमेन्स तलमाथि हुन सक्छ । तर, समग्रमा म्युचुअल फण्ड धेरै परिपक्व भइसके । पहिलाको तुलनामा धेरै प्रगति गरेका छन् । विगतको तुलनामा अहिलेका फण्डहरुको पर्फमेन्स राम्रो छ । ७०/८० प्रतिशत लाभांश दियो भने राम्रो, नत्र भने नराम्रो भन्ने जमात बजारमा छ । तर, व्यवहारिक रुपमा सधैं सम्भव हुँदैन । धेरै जोखिम लिन सक्ने ठाउँमा पनि हुँदैनौं । समग्रमा हेर्दा म्युचुअल फण्डको स्थिति बैंकको फिक्स्ड डिपोजिट रेट (एफडी)भन्दा माथि नै छ । औषतमा वार्षिक २५ प्रतिशतसम्म लाभांश बाँडिरहेका छन् । कतिपय सूचीकृत कम्पनीहरुले लाभांश नै दिन सकेका छैनन् ।

म्युचुअल फण्डको न्याभ र लाभांश दर घटेको छ । लगानीकर्ताको आकर्षण म्युचुअल फण्डमा कम देखिन्छ नी ?

अहिले बजार पक्कै पनि सेन्टिमेन्टमा छ । बजार घटेको बेला कमाउन सकिने औजार छैनन् । हाम्रो बजार वान वे छ । अब बजारमा लगानीकर्ताको मनोबल बढाउनुपर्छ । आर्थिक सूचकमा पनि सकारात्मक सुधार हुँदैछ । जति चाँडो अर्थतन्त्रमा सुधार हुँदै जान्छ त्यति नै छिटो लगानीकर्ताको मनोबल पनि बढ्दै जान्छ । आफै कारोबार गर्न नसक्ने लगानीकर्ताले म्युचुअल फण्ड खरिद गर्दा राम्रो हुन्छ । म्युचुअल फण्डमा व्यक्तिगत जोखिमभन्दा पनि धेरै जोखिम हुन्छ । विस्तारै अर्थतन्त्र खुकुलो हुँदै जाँदा आकर्षण बढ्दै जान्छ ।

बजार बढेको बेला शतप्रतिशत लाभांश र घटेको बेला लाभांश नै वितरण गरेनन् । यसले बजार बढेको बेला लगानी गर्नुपर्छ भन्ने मानसिकता भएन र ?

बजार बढेको बेला मूल्य पनि बढी हुन्छ । सेयर बजार घटेको बेला खरिद गर्याे भने मूल्य कस्टमाइज हुन्छ । १ सय प्रतिशत लाभांश दिएका फण्डको मूल्य पनि त्यो बेला बढी नै हुन्छ । उनीहरुले १८ रुपैयाँमा खरिद गरेर लाभांश बुक गरेका हुन्छन् । तर, आजको दिनमा सेयर खरिद गरेर होल्ड गर्न सक्यो भने भविष्यमा राम्रो हुन्छ । फण्डहरुले आ-आफ्नै पोलिसी बनाएका हुन्छन् । फण्डहरुले एक रुपता कायम गरेर लाभांश वितरण गर्न सके भने राम्रो नै हुन्छ । फण्ड व्यवस्थापनमा ध्यान दिन सकियो भने लाभांश वितरणमा एकरुपता कायम बन्न सक्छ ।

समग्र म्युचुअल फण्डको भविष्य कस्तो देख्नु भएको छ ?

म्युचुअल फण्डको भविष्य राम्रो छ । १०/११ वर्षअघि म्युचुअल फण्डको आकारभन्दा अहिलेका म्युचुअल फण्डको आकार पनि बढेको छ । पहिला म्युचुअल फण्ड भनेको के हो भन्ने पनि थाहा थिएन । आजका दिनमा एउटा क्षेत्रको विकास तथा विस्तार भएको छ । म्युचुअल फण्डमा भएका कमीकमजोरीलाई सुधार गरेर अघि बढ्नुपर्छ । विदेशमा म्युचुअल फण्डको ठूलो इण्डष्ट्रि छ । १० वर्षअघि बन्दुमुखी फण्डबाट यात्रा सुरु भएकोमा ३/४ वर्षअघिदेखि खुलामुखी फण्ड पनि सुरु भएको छन् । अब यो क्षेत्र ठूलो हुँदैछ । अन्य लगानी गर्ने क्षेत्र पनि खुला भइरहेका छन् । विदेशमा फण्डहलाई घरजग्गा तथा सुनमा लगानी गर्न पाउँछन् । यदि नेपालमा पनि घरजग्गा तथा सुनमा लगानी गर्न पाउने व्यवस्था गरियो भने म्युचुअल फण्डको भविष्य चम्किलो छ ।

४०/५० करोडको आकारबाट सुरु भएका फण्डहरु ४०/५० अर्ब पुग्न सक्ने अवस्था पुगिसकेको छ । बजारका लागि पनि राम्रो हो । म्युचुअल फण्डमा कर छुटको व्यवस्था गर्नुपर्छ । विदेशमा म्युचुअल फण्डमा कर छुटको व्यवस्था छ । साथै फण्डका लागि सुविधा बढाउँदै जाने र प्रक्रिया सहज बनाउदिने हो र समय अनुसारको व्यवस्था गर्ने हो भने राम्रो नै हुनेछ । यस विषयमा सहकार्य गरेर तयारी अघि बढाउनु पर्याे । हामीले यो क्षेत्रलाई स्थापित बनाएका छौं भने भविष्यका पुस्ताहरुका लागि पनि यो ठाउँलाई राम्रै बनाउनुपर्नेछ ।

सबै मान्छे आफै लगानी गर्न सक्दैनन् । त्यसकारण यो फण्डलाई व्यवस्थित गर्नुपर्छ । यी विषयमा हामीले पनि गृहकार्य गर्नुपर्नेछ । म्युचुअल फण्डको १० वर्षको इतिहाशमा भएका कमीकमजोरी पहिचान गरी समाधानतर्फ लाग्नू पर्छ । विदेशमा फण्डहरुलाई भाइटल लगानीको भाग मानिन्छ । बजारमा स्थीरता कायम गर्न फण्डहरुको भूमिका रहन्छ ।

१० वर्षमा कति वटा बुल आउँछन् ?

ठ्याक्कै भन्न सक्ने अवस्था छैन । बजार बढेपछि घट्नै पर्ने र घटेपछि बढ्नैपर्छ । पुराना तथ्याङ्क विश्लेषण गर्दा १० वर्षमा २ वटा बुल आउने अनुमान छ । तर, बजारले आफ्नो प्रकृति वा पवृत्ति परिवर्तन गरिरहेको हुन्छ । यसपटक बजार ४४ प्रतिशत घट्दा हाम्रा लागि नयाँ अनुभव भएको छ । फण्ड म्यानेजरहरुले पनि लामो समय अनुभव सँगालेका छन् । कहिले काँही लामो समय काम गर्दा पनि नयाँ अनुभव लिनुपर्छ । हरेक बुल सरप्राइज, हरेक वियर सरप्राइज भन्ने कुरालाई हामीले बुझ्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.