नेपाली सिमेन्ट उद्योगमा तहल्का मच्चाएको होङ्सीको आम्दानीमा भारी गिरावट, ऋणको रेटिङ घट्यो

  २०८१ वैशाख २३ गते १३:००     विकासन्युज

काठमाडौं । विदेशी लगानीको होङ्सी शिवम् सिमेन्टको आम्दानी १९ प्रतिशतले घटेकाे छ । आर्थिक मन्दीबीच सिमेन्टको आम्दानी सन् २०२३ उल्लेख्य दरमा घटेको हो ।

रेटिङ एजेन्सी इक्राका अनुसार होङ्सीले आर्थिक वर्ष २०२३/२४ को पहिलो ६ महिनामा ४ अर्ब ८६ करोड २० लाख आम्दानी गरेको छ ।आर्थिक वर्ष २०२२/२३ मा १३ अर्ब ८१ करोड १० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

त्यसअघि सन् २०२२ मा १७ अर्ब ४ करोड ४० लाख, २०२१ मा १७ अर्ब ४५ करोड ७० लाख र सन् २०२० मा १३ अर्ब ३७ करोड १० लाख रुपैयाँबराबर सञ्चालन आम्दानी गरेको थियो ।

कोइलाको भाउ बढ्नु र सिमेन्ट उद्योगमा व्यापक प्रतिस्पर्धा लगायत कारण कम्पनीको आम्दानीमा गिरावट आएको छ । यिनै सूचक हेरेर क्रेडिट रेटिङ एजेन्सी इक्राले होङ्सी शिवम सिमेन्टको दीर्घकालीन ऋण रेटिङ घटाएको छ ।

इक्राका अनुसार होङ्सी शिवम्को ६ अर्ब ५० करोडको दीर्घकालीन ऋणको रेटिङ घटाएर २ अर्ब ३२ करोड ६० लाख रुपैयाँमा झारेको छ ।

इक्राले ‘नकारात्मक प्रभावहरू सहित हेरेर’ होङसीको ऋणको क्रेडिट रेटिङ घटाएको जानकारी दिएको छ ।

सन् २०१५ सेप्टेम्बरमा स्थापना भएको होङ्सी शिवम् सिमेन्ट प्रालिले क्लिंकर र सिमेन्ट उत्पादन गर्दै आएको छ । कम्पनीको क्लिंकर उत्पादन क्षमता प्रतिवर्ष २० लाख टन र सिमेटन्ट उत्पान २३ लाख टन रहेको छ ।

होङ्सी शिवम्मा हङकङ रेड लायन सिमेन्ट नम्बर ३ लिमिटेडको ७० प्रतिशत र नेपालको शिवम् होल्डिङ्स प्रालिको ३० प्रतिशत लगानी छ ।

नवलपरासीको बिनायी त्रिवेणी गाउँपालिकामा कारखाना रहेको होङ्सी शिवम्ले होङ्सी ब्रान्डमा ‘अर्डिनरी पोर्टल्यान्ड सिमेटन्ट’ (ओपीसी) र ‘पोर्टल्यान्ड पोजोलाना सिमेन्ट’ (पीपीसी) सिमेन्ट उत्पादन गर्दै आएको छ ।

एकताका होङ्सी सिमेन्टको प्रवेशले नेपाली सिमेन्ट उद्योगमा तहल्ताकै मच्चिएकाे थियो । कुनैबेला प्रतिबोरा १ हजार रुपैयाँभन्दा बढी मूल्य पर्ने सिमेन्टमा होङ्सी नेपालमा आएपछि ५/६सय रुपैयाँमा झरेको थियो । त्यसपछि अधिकांश नेपाली सिमेन्ट उद्योगहरू प्रतिस्पर्धा गर्न नसकेर बन्द भएका थिए भने कतिपय अहिलेसम्म घाटामा नै सञ्चालन भइरहेका छन् ।

होङ्सीकै कारण अहिले नेपालमा सिमेन्टको मूल्ल बढ्नबाट रोकिएको छ । बजारमा ओपीसी सिमेन्ट ७ सयकाे हाराहारी र पीपीसी सिमेन्ट ६ सयकाे हाराहारीमा किन्न पाइन्छ । उपभोक्ताको लागि खुशीको विषय भएपनि एउटा होङ्सीकाे कारण दर्जनाैं उद्याेग संकटमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.