‘भारतसँग कुटनीतिक पहल बिना भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान गर्न सहज छैन’

  २०७९ माघ २९ गते १७:१०     विकासन्युज

काठमाडौंं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई.प्रदीप अधिकारीले भारतसँग कुटनीतिक पहल बिना भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न नसकिने बताएका छन् ।

आईतबार सिंहदरबारमा बसेको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । महानिर्देशक अधिकारीले भैरहवा र पोखरा विमानस्थलबाट अहिले नै लाभ खोज्ने बेला नभइसकेको भन्दै विमानस्थलमा अन्तर्राष्ट्रिय उडान बढाउन भारतसँग सरकारले वार्ता गर्न आवश्यक रहेको बताए ।

समितिको बैठमा सांसदहरुले रुटको कारणले विमानस्थल सञ्चालनमा नआएको भन्ने जिज्ञासाको जवाफ दिँदै उनले विमानस्थलमा अन्तर्राष्ट्रिय उडान कम हुनुमा रुटमात्रै बाधक नरहेको बताए । उनले विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न अहिलेको प्रचारप्रसार पर्याप्त नभएको समेत जनाए ।

महानिर्देशक अधिकारीले विमानस्थलको बारेमा छिमेकी देशहरुमा उडान माग्ने र प्रचारप्रसारको कामलाई पनि तीव्र बनाउँदै लगे विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सञ्चालन हुने उनको भनाई छ । साथै, उनले भैरहवा विमानस्थल चलायमान बनाउन विमानस्थलकेन्द्रित गतिविधि बढाउनुपर्नेमा जोड दिए ।

‘भैरहवा र पोखराको विमानस्थलको कुरा छ, तत्काल हामीले बेनिफिट खोजेर हुँदैन, त्रिभुवन विमानस्थलमा जति लगानी गरेका छौं, त्यहाँ त्यति लगानी कहाँ भएको छ र ? त्रिभूवन विमानस्थल सञ्चालनमा आएको ७५ वर्ष भइसक्यो आज पनि पूर्ण क्षमतामा छैन, त्यसैले यसलाई केही समय अझै धैर्य गर्नुपर्छ, सबै मिलेर यसको प्रचारप्रसार गर्नुपर्छ, पोलिसी निर्माण गरेर भैरहवाकेन्द्रित गतिविधि निर्माण गराउनुपर्छ, रुटको कारणले मात्रै विमानस्थल नचलेको भन्ने होइन, हामीले भारत र चीन दुवै देशको चाहना छ भने न हामीले विमानस्थलमा उडान पाउने हो, यसलाई त कुटनीतिक पहल गर्नुपर्छ,’ उनले भने ।

महानिर्देशक अधिकारीले पोखरामा भएको दुर्घटनामा विमान धेरै नै तल आइसकेपछि ल्याण्डिङ प्रक्रिया शुरु भएको भन्ने गुनासा आएकाले त्यसलाई सम्बोधन गर्न एक हजार फिट माथि नै सबै व्यवस्थापन गरेर मात्रै ल्याण्डिङ गर्नुपर्ने नियम ल्याएको बताए । उनले नियमित मौसम सूचना उपलब्ध नहुने हिमाली तथा उच्च पहाडी क्षेत्रमा मौसमी क्यामेराहरु जडान भइसकेको उल्लेख गर्दै जोमसोममा भएको दुर्घटनापछि प्राधिकरण राष्ट्रिय आविष्कार केन्द्रसँग मिलेर पोखरादेखि जोमसोम रुटका सबै ठाउँमा अहिले लाइभ वेदर क्यामेरा जडान गरिसकेको बताए । अब चाँडै नै लुक्ला र सिमिकोटमा जडान गर्ने तयारीमा रहेको बताउँदै लाइभ वेदर क्यामेरा जडानपछि पाइलटले उडान गर्नुपूर्व नै रुटको सम्पूर्ण जानकारी लिनसक्ने उनको भनाइ छ ।

महानिर्देशक अधिकारीले उडानपूर्व बाध्यकारी रुपले उडान सुरक्षा जोखिम मूल्यांकन गर्नुपर्ने समेत बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.