पाँचतारे ह्यातको नाफा ३९ प्रतिशत बढ्यो

  २०८१ वैशाख २७ गते १५:२३     विकासन्युज

काठमाडौं । प्रमुख पाँचतारे होटल तारागाउँ रिजेन्सी (ह्यात) ले ३९ प्रतिशतले नाफा वृद्धि गरेको छ ।

ह्यात सञ्चालक कम्पनीले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासिक वित्तीय विवरणमार्फत नाफा बढेको जनाएको हो ।

वित्तीय विवरणअनुसार ह्यातले पछिल्लो नौ महिनामा ३३ करोड ३२ लाख रुपैयाँ खुद नाफा गरेको हो ।

गत आर्थिक वर्ष तेस्रो त्रैमाससम्ममा भने ह्यातले २३ करोड ८८ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा पर्यटक संख्यामा वृद्धि भएसँगै होटलको तृतीय त्रैमासिक अवधिमा अक्युपेन्सी दर अघिल्लो वर्षको सोही अवधिको तुलनामा वृद्धि भएको उल्लेख गरिएको छ । यस कारण समीक्षा अवधिमा होटलको आम्दानी १२ प्रतिशत बढेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा होटलले १ अर्ब १३ करोड ९९ लाख रुपैयाँ कुल आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा होटलको यस्तो आम्दानी १ अर्ब १ करोड रुपैयाँ थियो ।

होटलको नाफा बढेसँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । गत वर्ष यस अवधिसम्म १२ रुपैयाँ ६६ पैसा रहेको कम्पनीको प्रतिसेयर आम्दानी यस वर्ष १६ रुपैयाँ ९९ पैसा कायम छ ।

गत वर्ष कम्पनीको प्रतिसेयर नेटवर्थ १२७ रूपैयाँ २४ पैसा रहेकोमा यस वर्ष १३७ रुपैयाँ १९ पैसा कायम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.