पर्यटन उद्योगमा थपियो साढे ८ अर्ब बढी लगानी, एक हजारले रोजगारी पाउने

  २०७९ कार्तिक २५ गते १५:५८     विकासन्युज

काठमाडौं । पर्यटन उद्योगमा साढे ८ अर्ब बढीको स्वदेशी लगानी थपिएको छ । उद्योग विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिना (गत साउनदेखि असोज मसान्तसम्म) पर्यटन क्षेत्रका ८ उद्योगका लागि ८ अर्ब ६१ करोड ४७ लाख ७१ हजार ९७५ रुपैयाँ बराबरको लगानी प्रस्ताव (थपिएको) हो ।

विभागको तथ्यांक अनुसार सबैभन्दा धेरै लगानी बुढानिलकण्ठ हेरिटेज होटलका लागि थपिएको छ । तथ्यांक अनुसार उक्त होटलका लागि २ अर्ब ४० करोड बराबरको लगानी स्वीकृत भएको छ ।

काठमाडौं जिल्लाको बुढानिलकण्ठ नगरपालिका १ मा निर्माण उक्त होटलले १५०० किलोवाट क्षमताको विद्युत खपत गर्नेछ भने २२० जनालाई रोजगारी दिईने उल्लेख गरेको छ ।

यस्तै, झापाको मेचिनगर १० मा निर्माण हुने होटल ईष्टर्न नेपाल प्रालिले एक अर्ब ६९ करोड ७७ लाख बराबरको होटल निर्माणको स्वीकृृति पाएको छ । उक्त होटलमा ५०० किलोवाट विद्युत प्रयोग गर्नेछ भने १७० जनालाई रोजगारी दिने उल्लेख छ ।

झापाकै मंचीनगरमा होटल आयुष्मानका लागि २ अर्ब ५१ करोड १० लाखको लगानी स्वीकृत भएको छ । ३०० जनालाई रोजगारी दिने उक्त होटलले एक हजार किलोवाट विद्युत प्रयोग गर्नेछ ।

सुनसरीमा निर्माण गर्नेगरी ग्राण्ड सेन्ट्रल होटलका लागि ६० करोड बढीको लगानी स्वीकृत भएको छ । सुनसरीको ईटहरी उपमहानगरपालिकामा निर्माण हुने उक्त होटलले ५०० किलोवाट विद्युत खपत गर्नेछ भने ४० जनालाई रोजगारी दिने उल्लेख छ ।

५५ करोड लगानीमा कास्कीमा दोर्जेज् फार्म रिसोर्टले लगानीको स्वीकृत पाएको छ । ७० जनालाई रोजगारी र ५०० किलोवाट विद्युत प्रयोग गर्नेछ ।

यस्तैगरी, तनहुँको बन्दिपुरमा निर्माण हुने बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले ८६ करोड ४० लाख बढीको लगानी स्वीकृत पाएको छ । एक हजार विद्युत खपत गर्ने उक्त होटलले १७२ जनालाई रोजगारी दिने उल्लेख गरिएको छ ।

तीन महिनामा ८८ अर्ब लगानी

विभागको तथ्यांक अनुसार तीन महिनाको अवधिमा स्वदेशी तथा विदेशी लगानीका ८८ अर्ब बराबरको लगानी स्वीकृत भएकोे छ । उक्त अवधिमा विभिन्न ८६ उद्योगका लागि ८७ अर्ब ८५ करोड बढीकोे लगानी स्वीकृत भएको हो ।

यस्तैगरी, उक्त अवधिमा १९ विदेशी लगानीका उद्योगमा २ अर्ब २४ करोड बराबरको लगानी प्रस्वात आएको छ । उक्त उद्योगमा १ हजार ४३ जनालाई रोजगारी दिईने प्रस्ताव पेश गरेको उद्योगले जनाएको छ ।

२ अर्ब ३५ करोडको औषधि उद्योग दर्ता

मोरङ र चितवनमा करिब साढे २ अर्ब बराबरको लगानीमा दुई औषधि उद्योग विभागमा दर्ता भएका छन् । विभागको तथ्यांक अनुसार मोरङको कटहरी गाउँपालिका ६ मा १ अर्ब ५० करोड बराबरको लगानीमा जानकी पोलिकेम प्रालि दर्ता भएको छ । उत साउनमा विभागमा दर्ता भएको उक्त उद्योगले १४० जनालाई रोजगारी दिनेछ भने एक हजार ६ सय मेटावाग विद्युत खपत गर्नेछ ।

यस्तैगरी चितवनकोे भरतपुर महानगरपालिका १७ मा उद्योग रहनेगरी जेनेरिका फर्मास्युटिकल्स दर्ता भएको छ । ८५ करोड ५३ लाख १८ हजार बराबरको लगानी रहने उक्त उद्योगले ९४ जनालाई रोजगारी दिनेछन् भने ६२५ किलोवाट विद्युत खपत गर्ने उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.