सहकारी पीडितको बचत फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने

  २०८१ जेठ ११ गते १६:४९     विकासन्युज

काठमाडौं । सहकारी पीडितहरुको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले शुक्रबार काठमाडौंमा प्रदर्शन गरेको छ ।

शुक्रबार काठमाडौंको माईतीघरमा प्रदर्शनसहित सहकारी पीडितले रिले अनशन समेत सुरु गरेका हुन् । सहकारी पीडित बचतकर्ताहरु संगठित हुँदै सरकारले सहकारी सञ्चालकबाट बचत फिर्ता गराउन माग राख्दै प्रदर्शन गरेका छन् । अभियानका अध्यक्ष कुशलभ केसीले सहकारी पीडितहरुको बचत फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने बताए ।

सरकारले दुई पटक सहकारी समस्या समाधान गर्ने सम्झौता गरे पनि कार्यान्वनय नभएकोले आफूहरू बाध्य भएर आन्दोलनमा उत्रनुपरेको बताए । उनले सरकारले सञ्चालकलाई कारबाही गरी बचताकर्ताको बचत फिर्ता हुनुपर्ने माग आफूहरुको माग रहेको बताए । उनले सरकारले आगामी जेठ १५ गते ल्याउने बजेटमा सहकारी समस्या समाधान गर्ने विषयलाई नसमेटेसम्म आन्दोलन नरोक्ने बताए । सहकारी पीडितहरुको आन्दोलन अन्तिम लडाईको रुपमा अघि बढेको जानकारी दिए ।

अध्यक्ष केसीले बजेटमा सहकारी पीडितका समस्या समाधान गर्नेगरी नआउने हो भने आगामी निर्वाचनमा घरदैलोमा मुख देखाउन नसक्ने चेतावनी दिए । सहकारी पीडितहरुले सरकारसँग न्याय भन्दा बाहेक अन्य केही नखोजेको बचाए ।

सहकारी पीडितहरुले सहकारी पीडितलाई न्याय दे,हाम्रो बचत रकम फिर्ता गर,बजेट भाषणमा हाम्रो माग सम्बोधन गर सहकारी सञ्चालकलाई तत्काल कारबाही गर लगायतका नारा समेत लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.