मोटरसाइकल चढ्नेमाथि सरकारको अर्काे प्रहार, इम्बोस्ड नम्बरप्लेट बेचेर सवा १० अर्ब उठाउने योजना

  २०७९ जेठ २४ गते १३:४८     विकासन्युज

काठमाडौं । आफ्नो पेशा व्यवसाय गर्नको लागि मोटरसाइकल किनेर चलाउनेप्रति सरकार कठोर बनेको छ । मोटरसाइकल चलाउनेसँग इम्बोस्ड नम्बर प्लेट बेचेर सरकारले सवा १० अर्ब रुपैयाँभन्दा बढी उठाउने योजना बनाएको छ ।

नाडा अटोमोबाइल्स डिलर्स एसोसिएसनका अनुसार अहिले ३९ लाख ४० हजार ४५८ वटा दुई पाँग्रे सवारी साधन संचालनमा छन् । सरकारले दुई पाँग्रे सवारीमा प्रतिसवारी २ हजार ६०० रुपैयाँका दरले इम्बोस्ड नम्बर प्लेट विक्री गर्न लागेको छ । सरकारले सबै दुई पाँग्रे सवारीमा इम्बोस्ड नम्बर प्लेट प्रतिसवारी २६ सयको दरमा विक्री गर्दा १० अर्ब २४ करोड ५१ लाख ९० हजार ८०० रुपैयाँ उठाउने छ ।

यातायात व्यवस्था विभागले साउन १ गतेदेखि अनिवार्य रुपमा सवारी साधनमा इम्बोस्ड नम्बरप्लेट जडान गर्नुपर्ने जनाएको छ । विभागले बागमती र गण्डकी प्रदेशमा दर्ता भएका सम्पूर्ण सवारी साधनमा साउन १ गतेसम्म इम्बोस्ड नम्बर जडान नभए कारवाही गर्ने चेतावनी समेत दिएको छ ।

नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालले इम्बोस्ड नम्बर प्लेट जडान गर्नकै लागि १३ अर्ब बढी खर्च लाग्ने तथ्यांक सार्वजनिक गरेको छ ।

विभागले अनिवार्य जडान गर्नुपर्ने भनिरहँदा हाल सञ्चालनमा रहेका सानादेखि ठूला सवारीमा इम्बोस्ड नम्बर जडान गर्नकै लागि १३ अर्ब बढी खर्च हुने देखिएको छ ।

नाडाले चार, तीन र दुई पाँग्रे गरी ४८ लाख ८२ हजार २६७ वटा सवारीमा इम्बोस्ड नम्बर जडानकै लागि १३ अर्ब ३१ करोड १ लाख ९३ हजार रुपैयाँभन्दा बढी खर्च हुने तथ्यांक सार्वजनिक गरेको हो ।

नाडाको तथ्यांक अनुसार हाल बजारमा २ लाख २६ हजार ९४० ठूला सवारी साधन रहेका छन् । उक्त साधनमा प्रतिसवारी ३६०० रुपैयाँका दरले इम्बोस्ड नम्बर प्लेट जडानका लागि मात्रै ८१ करोड ६९ लाख ८४ हजार रुपैयाँ खर्च लाग्नेछ । यस्तै, ५ लाख ८३ हजार साना, १ लााख ३१ हजार ८६१ तीन पाँग्रे सवारी साधन रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.