नेपालको अटो उद्योगमा कोसेढुङ्गो : हुन्डाई एसेम्बल प्लान्ट

  २०८१ वैशाख २८ गते १५:५०     ऋतु

काठमाडौं । नेपालमै पहिलो पटक गाडी एसेम्बल प्लान्ट सञ्चालनमा आएको छ । दक्षिण कोरियाको गाडी निर्माता कम्पनी हुन्डाईको एसेम्बल प्लान्ट नेपालको नवलपरासीमा सञ्चालनमा आएको हो ।

हुन्डाई गाडीको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी मोटर कर्पोरेसनसँगको साझेदारीमा हुन्डाईले नेपालमा एसेम्बल प्लान्ट सञ्चालनमा ल्याएको हो । उक्त एसेम्बल प्लान्टको शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उदघाटन गरे ।

लक्ष्मी मोटर कर्पोरेसन व्यावसायिक घराना लक्ष्मी ग्रुपको हो । कर्पोरेसनले २०७६ सालमा ५ अर्ब १० करोड रुपैयाँ लागतमा एसेम्बल उद्योग दर्ता गरेको थियो । तर, सरकारी नीतिका कारण प्लान्ट सञ्चालनमा आउन सकेकाे  थिएन । सरकारले बजेटमा एसेम्बल उद्योगलाई प्रोत्साहन गर्ने नीति बनाएपछि कर्पोरेसनले प्लान्ट निर्माणको कामलाई अगाडि बढाएको थियो ।

नेपालमै पहिलो पटक गाडी एसेम्बल प्लान्ट खुलेपछि अटो क्षेत्रमा ‘काेसेढुङ्गाे’ सावित हुन सक्ने देखिन्छ । हुन्डाईको एसेम्बल प्लान्ट हेरेर अरू गाडी कम्पनीले पनि नेपालमा एसेम्बल प्लान्ट खोल्ने सम्भावना रहेको छ ।

प्लान्ट स्थापनाको पाँच वर्षभित्र वार्षिक २० हजार थान गाडी उत्पादन गर्ने याेजनामा कोरियाली कम्पनी मोट्रेक्स छ । त्यस्तै, प्लान्ट पूर्ण क्षमतामा सञ्चालनमा आएपछि भने वार्षिक ५० हजार थानसम्म गाडी उत्पादन गरिने बताइएकाे छ ।

सुरुवाती अवस्थामा सम्पूर्ण पार्टपुर्जा आयात गरेर नै कम्पनीले नेपालमा गाडी एसेम्बल गर्ने छ । तर, विस्तारै नेपालमै कम्पनीले पार्ट्स पनि उत्पादन गर्ने लक्ष्य राखेको छ ।

लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी इन्टरकन्टिनेन्टलले २०६६ सालबाट हुन्डाई कम्पनीका गाडी नेपालको डिलरका रूपमा बिक्री गर्न थालेको हो ।

यो ग्रुपले हुन्डाईका गाडी बिक्री गर्न थालेको छोटो समयमै हुन्डाई कम्पनीको आधिकारिक डिलर बन्न सफल बन्यो ।

अहिले नेपालमै हुन्डाईका गाडी एसेम्बल गर्ने अवस्थामा यो व्यावसायिक घराना आइपुगेको छ ।

वर्तमानमा लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाईका १२ मोडेलका कार बिक्री गर्दै आइरहेको छ । जसमा स्यान्ट्रो, ग्रान्ड आई१० एनआईओएस, आई२०, ओरा, भेन्यु, वर्ना, अल न्यु क्रेटा, टक्सन, सान्टा फे, पैलिसेड, आयनिक इलेक्ट्रिक र कोना इलेक्ट्रिक छन् । यी गाडीका मूल्य ३ लाख रुपैयाँदेखि १ करोड रुपैयाँसम्म रहेका छन् ।

सुरुवातमा पुस्टकारी (स्थानीय मिठाइ) उत्पादन गर्ने लक्ष्मी ग्रुपले अहिलेसम्म आइपुग्दा विभिन्न क्षेत्रमा आफूलाई विस्तार गर्दै व्यवसायिक साम्राज्य स्थापना गरिसकेको छ ।

हाल लक्ष्मी ग्रुपले मिठाइबाहेक अटोमाबोइल, इलेक्ट्रोनिक्स, प्लास्टिक, ट्रेडिङ र स्टिल उत्पादन व्यवसाय सञ्चालन गर्दै आइरहेको छ ।

देशभरि ग्रुपको २० भन्दा धेरै कम्पनी छन् । जसमा करिब २ हजारले रोजगारी पाइरहेका छन् ।

सुजल फुड प्रालि, लक्ष्मी इन्टरकन्टिनेन्टलको हुन्डाई तथा एमएमएल इसुजु, सुजल डेरी प्रालि, समृद्धि स्टिल्स, सिद्धि लक्ष्मी स्टिल्स, जयमा इन्टरकन्टिनेन्टल, जयमा लक्ष्मी टेक्नो सेन्टर लगायत व्यवसाय लक्ष्मी ग्रुपअन्तर्गत छन् ।

लक्ष्मी मोटर कर्पोरेसनले नवलपरासीमा प्लान्ट स्थापना गरेर हुन्डाई भेन्युको परीक्षण उत्पादन सकिसकेको छ । उक्त प्लान्टमा एसेम्ब्ली लाइनदेखि बनेका कार परीक्षण गर्ने उपकरणसमेत जडान गरिएको छ ।

यस प्लान्टमा २ सय जनाले रोजगारी पाइसकेको पनि कर्पोरेसनले जानकारी दिएको छ ।

लक्ष्मी माेटर कर्पाेरेसनले २०८० असाेजमा दुईथान भेन्यु गाडीका `सीकेडी´ उत्पादनका लागि परीक्षण गर्न ल्याएको थियो ।

त्यसपछि गत माघमा कर्पाेरेसनले एकैचाेटि भेन्यु गाडी एसेम्बल गर्न १ सयभन्दा बढी सीकेडी किट आयात गर्याे । लक्ष्मी मोटर कर्पोरेसनले २०२३ डिसेम्बर अन्तिम साता दक्षिण कोरिया र छिमेकी भारतबाट सीकेडी आयात गरेको थियो ।

त्यसपछि ठूलाे परिमाणमा सीकेडी आयात भइसकेको छ । लक्ष्मी मोटर कर्पोरेसनले ९ सय ९८ सीसीको भेन्यु एस (ओ), ११ सय ९७ सीसीको भेन्यु एस १.२ एमटी र ११ सय ९७ सीसी भेन्यु एसएक्स १.२ एमटी मोडेलका सीकेडी ल्याएर एसेम्बल थालेको हो । एसेम्बलपछि तयार हुने भेन्यु पेट्रोल इन्जिन गाडी हाे ।

हुन्डाई मोटर्स स्थापना

करिब ५६ वर्ष पहिले दक्षिण कोरियामा १९६७ डिसेम्बर १९ का दिन चाङ जु युङले ‘हुन्डाई मोटर्स’स्थापना गरेका थिए । हुन्डाईको सुरुवात हुन्डाई इन्जिनियरिङ एन्ड कन्स्ट्रक्सन कम्पनी र पछि हुन्डाई मोटर कम्पनीका रूपमा भएको हो ।

तीन दशकभित्र यो कोरियाली घरेलु बजारमा अग्रणी अटो बिक्री कम्पनी भयो । यो १९८६ मा हुन्डाई एक्सेलसँगै संयुक्त राज्य अमेरिकामा लन्च गरिएको थियो र सात महिनामा १० हजार युनिट बिक्री गरेर पहिलो वर्ष आयात कार वितरकका रूपमा रेकर्ड कायम गरेको थियो ।

बिक्री बढ्दै जाँदा हुन्डाई संयुक्त राज्यको अमेरिकाको मध्य भागमा विस्तार भए । यसले यसको राष्ट्रिय मुख्यालय गार्डेन ग्रोभ, सीएबाट फाउन्टेन भ्याली सीएमा सार्यो ।

यस समूहमा प्रख्यात हुन्डाई ब्रान्ड समावेश छ र लक्जरी ब्रान्ड जेनेसिस मोटर्स र इको–फ्रेन्डली इलेक्ट्रिक कार आयनिकको स्वामित्व दाबी गर्दछ ।

२०२२ सम्म किया मोटर्सले हुन्डाईमा उल्लेखनीय ३३.८८ प्रतिशत हिस्सेदारी राखेको छ, जसका कारण कया हुन्डाई मोटर समूहको छातामा रहेको प्रतिष्ठित सहायक कम्पनी बनेको छ ।

हुन्डाई, किया र जेनेसिस हाल हुन्डाई मोटर्सको स्वामित्वमा छन् ।

हुन्डाईको मालिक

हुन्डाई मोटर समूह दक्षिण कोरियाली बहुराष्ट्रिय समूह हुन्डाई मोटर कम्पनीको स्वामित्वमा छ ।

चुङ जु युङद्वारा स्थापना गरिएको यो समूह विश्वको सबैभन्दा ठूलो अटोमोटिभ उत्पादकमध्ये एक हो र जेनेसिस मोटर्स जस्ता अन्य ब्रान्डहरूको मालिक हो । जाहुन चाङ हाल हुन्डाई मोटर कम्पनी लिमिटेडका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत (सीईओ) छन्।

हुन्डाई मोटर कम्पनीको हुन्डाई अटोमोटिभ डिभिजन विश्वको तेस्रो ठूलो कार निर्माता हो । हुन्डाईका कारहरू २सयभन्दा बढी देशमा बेचिन्छन् । यसको मुख्यालय सियोल, दक्षिण कोरियामा छ ।

हुन्डाईले आफ्ना धेरैजसो गाडी दक्षिण कोरियाको उल्सानमा उत्पादन गर्छ, जहाँ विश्वको सबैभन्दा ठूलो अटोमोटिभ उत्पादन सुविधा रहेको छ ।

यसैबीच कम्पनीले मेक्सिको र अलाबामामा पनि प्लान्टहरू सञ्चालन गरेको छ, जसले विशेष रूपमा उत्तर अमेरिकी बजारलाई समग्रमा ओगटेको छ ।

सन् २०२३ मा हुन्डाई मोटर कम्पनीले उत्तर अमेरिकी क्षेत्रमा सबैभन्दा धेरै गाडीहरू बेचेको थियो, जसको बिक्री १० लाख युनिटभन्दा बढी थियो । यस क्षेत्रलाई युरोप र भारतले पछ्याएको थियो, जहाँ क्रमशः लगभग ६ लाख ३६ हजार र ६ लाख ५ हजार युनिट बिक्री भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.