कति वर्ष पुरानो प्लेन उडाउन पाइन्छ ? सरकारी अधिकारी भन्छन्– प्लेन पुरानो नै हुँदैन

  २०७९ जेठ १८ गते १०:२०     विकासन्युज

काठमाडौं । गत आइतबार मुस्ताङको थासाङमा तारा एयरको ट्विनेटर विमान दुर्घटना भएसँगै नेपालमा विमान दुर्घटनाको संख्या १०७ पुगेको छ । यो तथ्यांक सन् १९५५ देखि सन् २०२२ सम्मको हो । १०७ वटा दुर्घटना मध्ये ६४ वटा विमान दुर्घटनामा ८३६ जनाले ज्यान गुमाएका छन् ।

आइतबार मुस्ताङमा तारा एयरको ट्विनअटर विमानको दुर्घटनासँगै मिडियामा नेपालमा रहेका बिमानहरुको उमेर र दुर्घटनाको इतिहासले स्थान पायो । सो चर्चासँगै दुर्घटनामा परेको तारा एयरको ट्विनअटर विमान नेपाली आकाशमा उड्ने मध्ये सबैभन्दा पुरानो विमान भएको विषय बाहिर आएको छ । नेपाल एयरलाइन्सको ३८ वर्षसम्म पुरानो विमान चल्दै आएको जनाइएको छ । आधा दर्जन भन्दा धेरै बायुयानहरु २० वर्षभन्दा पुराना छन् ।

प्रायजसो विमान दुर्घटनामा परेपछि सरकारले त्यसको वास्तविकताको लागि जाँचबुझ समिति बनाउने र अनुसन्धान गर्ने गर्छ । पाइलटको कमजोरी, कतिपयमा जहाजको इन्जिनमा समस्या त कतिपय अवस्थामा मौसम खराबको विषयलाई दुर्घटनाको मुख्य कारण बनाउने गरिएको हुन्छ । विमान दुर्घटना पश्चात जहाज दुर्घटनाको कारण पत्ता लगाउने र त्यही कारण पटक–पटक दोहोरिरहेकोमा भने सम्बन्धित पक्षमाथि आशंका गर्न सकिन्छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ अनुसार नेपालमा वायुसेवा सञ्चालनको अनुमति दिने, वायुसेवा सञ्चालन सम्बन्धी अवस्था, मर्मत, आदि लगायतका मुख्य कार्यहरु नेपाल नागरिक उड्डयन प्राधिकरणले गर्ने गर्दछ । सो ऐनमा गरिएको व्यवस्थाअनुसार विमानलाई नयाँ वा पुरानो भनिएको पाइँदैन । नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता चन्द्रलाल कर्ण विमान कहिल्यै पनि पुरानो नहुने बताउँछन् ।

कर्ण भन्छन, विमानको सन्दर्भमा अन्तर्राष्ट्रिय मान्यता के छ भने विमान कहिल्यै पनि पुरानो हुँदैन । विमानको डिजाइनको एउटा मिति हुन्छ । त्यो डिजाइन मितिसम्म उसले उड्न पाउँछ । विमानको हरेक पार्टहरुको आफ्नो मिति हुन्छ, जुनको मिति सकिएपछि परिवर्तन गर्नैपर्ने हुन्छ ।

अन्तर्राष्ट्रिय मान्यताअनुसार कुनै पनि विमान उड्नको लागि उसको एयरवर्थी हुनुपर्छ । यदि विमानमा उडानको लागि केही समस्या छ भने त्यसलाई उडानयोग्य विमान मानिदैन् । संसारमा अहिलेपनि ५० वर्ष भन्दा पुराना विमानहरु उडिरहेको प्रसंग राख्दै प्रवक्ता कर्णले मिति सकिएका पाटपुर्जाको परिवर्तन र आवश्यक मर्मत सम्भार गर्दै विमानहरु उड्न सक्ने बताउँछन् ।

के वायुयानहरु पुराना भएर दुर्घटना हुने गर्दछन ?

कुनैपनि वायुयान बनेको आधारमा पुरानो हुँदैनन् । विमानको आयु वर्षमा नभई दबाब चक्रमा मापन गरिन्छ ।

‘निर्माताले विमानको आयु निर्धारण गर्छ, सामान्यतया टेकअफ र ल्यान्डिङ साइकलमा आधारित हुन्छ । फ्युसेलेज थकानको लागि सबैभन्दा संवेदनशील हुन्छ, तर पखेटाहरू पनि हुन्छन्, विशेष गरी छोटो दूरीमा जहाँ विमान हरेक दिन दबाब चक्र मार्फत जान्छ । लामो उडानहरूमा प्रयोग गरिएका विमानहरूले कम दबाव चक्र अनुभव गर्छन् ।’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय नागरिक उड्डयन महाशाखाका प्रमुख बुद्धीसागर लामिछाने पनि विमानहरु निर्माण भएको आधारमा पुरानो नहुने तर्क गर्छन् ।

उनी भन्छन्, ‘विमान उत्पादन गर्ने कम्पनीले हरेक विमानका हरेक पाटपुर्जाको आयू तय गरेको हुन्छ । सोही अनुरुप आयु सकिएका पाटपुर्जाको समयमा नै परिवर्तन गर्नुपर्ने हुन्छ ।’

के नेपालमा वायुयानहरुको अवस्थाको बारेमा नियमित चेकजाँच भइरहेको हुन्छ त भन्ने सन्दर्भमा लामिछानेले त्यो काम नियमित हुने बताए । जहाजको नियमित चेकजाँचका सन्दर्भमा लामिछाने भन्छन्, ‘विमानका मालिकहरु नै सोही विमानमा उड्ने गर्दछन्, पाइलट उड्छ, पाइलटले उडाउँछ, उसले राम्रोसँग बुझेको हुन्छ । विमानको कुनैपनि भागमा खराबी हुनेवित्तिकै उसले संकेत देखाउँदछ । पाइलटले कहिल्यैपनि कमजोर जहाज उडाउँदैन ।’

केही वर्ष अगाडि तारा एयरकै नयाँ भर्सनको विमान दुर्घटना भएको बताउँदै लामिछानेले विमान बनेको आधारमा पुरानो भएर दुर्घटना नहुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.