ताराको जहाज मुस्ताङको लेते क्षेत्रमा दुर्घटनामा परेको शंका, खोजी कार्य तीब्र

  २०७९ जेठ १५ गते ११:२५     विकासन्युज

काठमाडौं । तारा एयरको जहाज मुस्ताङको लेते क्षेत्रमा दुर्घटनामा परेको शंका गरिएको छ । आइतबार बिहान पोखराबाट जोमसोमको उडेको सो जहाज मुस्ताङ जिल्लाको लेते क्षेत्रमा दुर्घटनामा परेको शंका गर्दै सो क्षेत्रमा खोजी केन्द्रित गरिएको छ ।

तारा एयरको ९ एनएईटी ट्विनअटर विमान दुर्घटनामा परेको हो। १९ यात्रु लिएर पोखराबाट आइतबार बिहान ताराको जहाज ९ बजेर ५५ मिनेटमा उडेको थियो ।

तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार ९ एन -एईटी कलसाइनको जहाजमा क्याप्टेन प्रभाकरप्रसाद घिमिरे, को पाइलट इतासाप पोखरेल र एयर होस्टेज कास्मी थापा थिए ।

जहाजमा चार जना भारतीय नागरिक, दुईजना अन्य देशका र १३ जना नेपाली यात्रु साथै चालक दलका तीन सदस्य गरी २२ जना रहेका थिए।

आइतबार बिहान ९ बजेर ५५ मिनेटमा पोखरा विमानस्थलबाट जोमसोमका लागि उडान भरेको जहाज उडान भरेको १२ मिनेटदेखि सम्पर्क विहीन भएको थियो । चालक दलसहित १९ यात्रु लिएर उडान भरेको ताराको ९–एनएईटी ट्विनअटर विमानको नेतृत्व बरिष्ठ क्यापटेन प्रभाकर घिमिरेले गरेका थिए ।

जहाज सम्पर्क विहीन भएपछि नेपाली सेना, नेपाल प्रहरी, तारा एयरको उद्धार टोलीले मुस्ताङको लेते लेक वरपर खोजी केन्द्रित गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुर जहाजका क्यापटेन प्रभाकरप्रसाद घिमिरेको फोन लोकेशन ट्राक गरेर खोजी कार्य सुरु गरिएको बताए ।

‘उहाँको फोनको अन्तिम लोकेशन मुस्ताङको लेतेको लार्के आसपास देखाएको छ, सोही लोकेशनलाई आधार बनाएर उद्धार टोलीले खोजी कार्य जारी राखेको छ,’ उनले भने ।

वायु सेवा सञ्चालक संघका प्रवक्ता योगराज कंडेल मुस्ताङको लेतेदेखि लार्जुङ आशपासलाई लोकेट गरी खोजी कार्य जारी गरिएको बताउँछन् ।

‘अहिलेसम्म जहाज भेटिएको छैन, हामीले लेतेदेखि लार्जुङ एरियालाई लोकेट गरेर खोजी कार्य जारी राखेका छौँ, नेपाली सेनाको जहाज भर्खर न्यारीकोट क्षेत्रमा ल्याण्ड गरेको छ, फिस्टेल एयरको जहाज सोही क्षेत्रमा घुमिरहेको छ’, उनले भने ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विष्णुकुमार केसी पनि अहिलेसम्म जहाज नभेटिएको बताउँछन् ।

‘जहाज खोजी कार्य जारी छ, यो ठाउँमा भेटियो भनेर मलाई कसैले भनेको छैन, जसजसले भेटियो भनिरहेका छन्, ती सबै हावा कुरा हुन्,’ नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता केसीले भने ।

जहाजमा चालक दलका तीन सदस्यसहित १९ यात्रु सवार थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.