निगममा बेथितिः कमजोर व्यवस्थापनका कारण एक महिनादेखि जहाज दोहामा अलपत्र

  २०७८ माघ १८ गते १२:०५     विकासन्युज

काठमाडौं । नेपाल वायुसेवा निगमको एउटा जहाज एक महिनादेखि कतारमा अलपत्र परेको छ । निगमको कमजोर व्यवस्थापनका कारण नाइनएन एकेडब्लू कलसाइन भएको एयरबस ३२० (न्यारोवडी) जहाजको बायाँ इन्जिनमा समस्या देखिएपछि कतारको दोहामा नै रोकिएको हो ।

पुस १३ गते मंगलबार नेपालबाट यात्रु लिएर कतार पुगेको नेपाल एयरलाइन्सको सो जहाजको इन्जिन बिग्रिँदा कतारको दोहामै ग्राउन्डेड भएको छ । अन्तर्राष्ट्रिय उडानका लागि ४ वटा एयरबसमध्ये १ एउटा एयरबस लामो समयदेखि बिग्रिएर दोहामै रोकिदा समेत निगम व्यवस्थापनले मर्मतमा चासो देखाएको छैन ।

जहाज मर्मत र इन्जिन परिवर्तनका लागि निगम सञ्चालक समितिको बैठकले निर्णय गर्नुपर्ने हुन्छ । तर निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको बेवास्ताका कारण बोर्ड बैठकले उक्त निर्णय नगर्दा एक महिनादेखि जहाज ग्राउन्डेड भएको हो ।

अध्यक्ष अधिकारीकै कारण बोर्ड बैठक नबस्दा इन्जिनमा समस्या देखिएसँगै जहाज मर्मत गरी नेपाल ल्याउने विषयपनि अन्योलमा परेको छ । निगमको बोर्ड बैठक समयमा नबस्दा निगममाथि आर्थिक भार थपिएको छ ।

जहाज मर्मत लगायतका विषयमा निर्णय गर्ने भन्दै चार पटक बोलाइएको बोर्ड बैठक विभिन्न बहाना बनाएर लम्ब्याउँदा न्यारोवडीको दैनिक साढे २ करोड आम्दानी गुमेको छ ।

दैनिक सञ्चालन आम्दानी तथा खर्चसँगै दोहारामा जहाज राख्दा निगमले दैनिक २४ हजार नेपाली रुपैयाँ जरिवाना भुक्तानी गर्नुपर्ने हुन्छ । दोहाको विमास्थललाई निगमले जहाजको पार्किङ लगायतका शिर्षकमा उक्त रकम भुक्तानी गर्नुपर्ने हुन्छ ।

निगम सञ्चालक समितिमा ७ जना रहेका छन् । जसमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सहसचिव होमप्रसाद लुईंटेल, अर्थ मन्त्रालयका सहसचिव महेश आर्चाय रहेका छन् । यस्तै निजी क्षेत्रबाट डिम प्रकाश पौडेल, फुरग्येल्जे शेर्पा, ईश्वरी पौडेल र किशोर कुमार प्रधान रहेका छन् ।

दैनिक साढे २ करोड नोक्सान

१ सय ५८ सिट क्षमताको न्यारोबडी जहाजले नियमित रुपमा दैनिक ४ गन्तव्यमा उडान गर्दै आएको थियो ।

छोटो दुरीमा उडान गर्दै आएको न्यारोवडी जहाज एक महिनादेखि ग्राउन्डेड हुँदा दैनिक साढे २ करोड रुपैयाँको हाराहारीमा नोक्सानी बढेको निगम स्रोतले जनाएको छ ।

स्रोतका अनुसार दैनिक ४ गन्तव्यमा १५५ जना यात्रु राखेर उडान गर्दा एक महिनाको अवधिमा ८० करोड बढी आम्दानी हुने गरेको थियो । एक महिनादेखि जहाज ग्राउन्डेड हुँदा उक्त आम्दानी गुमेको हो ।

न्यारोवडी जहाजको स्थानमा वाइडबडी (ठूलो जहाज) को प्रयोग गर्दा थोरै यात्रु बोक्दा सञ्चालन खर्च बढेको छ ।

दुई थान न्यारोवडी जहाजमध्ये एउटा जहाज लामो समयदेखि ग्राउन्डेड हुँदा निगमको उडान सेड्युल नै बिग्रिएको एक क्यापटेनले बताए । उनका अनुसार जहाज बिग्रएकै कारण नयाँदिल्ली, दोहालगायतका धेरै स्थानका उडान रोकिएका छन् ।

छिट्टै मर्मत गछौंः अध्यक्ष अधिकारी

एक महिनादेखि दोहामा ग्राउन्डेड भएको जहाज मर्मत गरेर छिट्टै सञ्चालन गरिने निगमका कार्यकारी अध्यक्ष अधिकारीले बताए ।

‘जहाज मर्मत गर्न केही समय लाग्छ, हामीले त्यति समयका लागि भाडामा इन्जिन लिएर जहाज उडाउँछौँ’, उनले भने । जहाजको इन्जिन भाडामा लिने विषयमा तयारी थालिएको निगमले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.