विदेशी कम्पनीमा पुनर्बीमा गर्न खुला गरिँदै

  २०७८ माघ १७ गते १६:४०     विकासन्युज

काठमाडौं । बीमा कम्पनीहरुलाई विदेशी कम्पनीमा पुनर्बीमा गर्ने बाटो खुला गरिने भएको छ । बीमा समितिले पुनर्बीमाको जोखिमलाई वर्गीकरण गरेर बीमा कम्पनीहरुलाई विदेशी कम्पनीमा पुनर्बीमा गर्न दिने भएको हो ।

समितिले पुनर्बीमाको जोखिमलाई उच्चस्तर र न्यूनस्तर गरी दुई भागमा वर्गीकरण गरेको हो । जसमध्ये उच्चस्तरको जोखिम रहेकोलाई विदेशी कम्पनीमा र न्यूनस्तरको जोखिमलाई स्वदेशी कम्पनीमा पुनर्बीमा गर्न दिइने व्यवस्था लागू गरिने समितिका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडेलले बताए ।

उनका अनुसार एभियशन (हवाई) बीमा, ठूला जलविद्युत परियोजनाका बीमा, जलवायु परिवर्तनबाट हुने क्षतिको बीमा, प्राकृतिक प्रकोपबाट हुने क्षतिको बीमा लगायत भूकम्पबाट हुुने क्षतिको बीमालाई उच्चस्तरको जोखिममा वर्गीकरण गरिएको छ । त्यस्तै, न्यूनस्तरको जोखिममा मोटर बीमा, घर तथा सम्पत्ति बीमा, स्वास्थ्य बीमा लगायत अन्य प्रकारका बीमा पर्दछन् जसको जोखिम तुलनात्मक रुपमा कम देखिन्छन् ।

समितिले वैदेशिक मुद्रा जोगाउने भन्दै केही महिना अघि मात्रै बीमा कम्पनीहरुलाई विदेशी कम्पनीसँग पुनर्बीमा गर्न रोक लगाएको थियो । र, सबै पुनर्बीमा व्यवसाय स्वदेशी पुनर्बीमा कम्पनी (नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रि इन्स्योरेन्स) सँग गर्न निर्देशन दिएको थियो । तर, स्वदेशी पुनर्बीमा कम्पनीले सबै प्रकारको बीमाको जोखिम बहन गर्न नसक्ने भएकाले र बीमा कम्पनीहरुलाई थप सहज होस् भन्ने उद्देश्यले जोखिमलाई विभाजन गरिएको समितिका प्रवक्ता पौडेल बताउँछन् ।

‘स्वदेशी कम्पनीले सबै प्रकारका बीमाको जोखिम बहन गर्न नसक्ने अवस्था भएकाले जोखिमलाई दुई भागमा विभाजित गर्न लागिएको हो, यससँगै अब बीमा कम्पनीहरुले बीमाको जोखिमका आधारमा योग्यता पुगेका विदेशी कम्पनीसँग पुनर्बीमा व्यवसाय गर्न पाउने छन्,’ पौडेलले भने ।

तर, नेपालका पुनर्बीमा कम्पनीले जोखिम बहन गर्न सक्ने किसिमका सबै बीमा भने नेपालमै गराउनु पर्ने उनको भनाई छ । उनीहरुले जोखिम बहन गर्न नसक्ने अवस्था रहेमा मात्रै विदेशी कम्पनीसँगै पुनर्बीमा गर्न पाइने उनले थप प्रष्ट पारे । साथै, यस विषयमा समिति छलफलको चरणमै रहेको समेत उनले बताए ।

समितिले गत मंसिरमा निर्देशन जारी गर्दै विदेशी कम्पनीमा पुनर्बीमा गर्न करिब रोक लगाएको थियो । उक्त निर्देशन अनुुसार २० प्रतिशत पुनर्बीमा व्यवसाय अनिवार्य रुपमा नेपाल पुनर्बीमा कम्पनीलाई दिनुपर्ने र बाँकी रहेको ८० प्रतिशत पुनर्बीमा व्यवसाय दुई पुनर्बीमा कम्पनी (नेपाल रि र हिमालयन रि) लाई दिनुपर्ने भएको थियो ।

सम्बन्धित समाचार

बीमा कम्पनीहरुले स्वदेशी कम्पनीमै पुनर्बीमा गर्नुपर्ने

वैदेशिक मुद्रा संचितिमा योगदान पुर्याउन नयाँ व्यवस्था गरिएको होः बीमा समिति

४ अर्ब पुनर्बीमा कमिसनमा प्रतिस्पर्धा, विदेशी मुद्रा जोगाउने तर्क गफ मात्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.