लाभांश रद्द भएसँगै आत्तिए एनआईसी एशियाका लगानीकर्ता

  २०७८ माघ १० गते १६:११     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले प्रस्तावित लाभांश रद्द गरेसँगै त्यसको नकारात्मक प्रभाव दोश्रो बजारमा परेको छ । बैंकले सेयरधनीलाई लाभांश वितरण नगर्ने घोषणा गरेसँगै बैंकको सेयर मूल्य घटेको छ ।

बैंकको सेयर मूल्य एकैदिन ३६.८० रुपैयाँले घटेको छ । जुन अघिल्लो दिनको तुलनामा ४.०८ प्रतिशतले घटी हो । आइतबार प्रतिकित्ता ९०३ रुपैयाँ रहेको बैंकको सेयर मूल्य सोमबार प्रतिकित्ता ८६६.२० रुपैयाँमा अन्तिम कारोबार भएको छ । दिनभरको बजारमा बैंकको प्रतिकित्ता सेयर अधिकतम ९०० र न्यूनतम ८६६ रुपैयाँको बीचमा किनबेच भएको थियो ।

सोमबार उच्च कारोबार गर्नेको अग्रस्थानमा एनआईसी एशिया दोश्रो स्थानमा पर्न सफल भएको छ । बैंकको एकैदिन ४ लाख १९ हजार ३३५ कित्ता सेयर ३६ करोड ७३ लाख रुपैयाँमा किनबेच भएको छ ।

बैंकले लाभांश वितरण नगर्ने भएपछि लगानीकर्ताहरुले डराएर सेयर बेच्दा बैंकको एकाएक उच्च कारोबार भएको हो । बैंकले माघ १० गते मात्रै एक सूचना जारी गर्दै आर्थिक वर्ष २०७७/७८ को प्रस्तावित लाभांश रद्द भएको जानकारी गराएको थियो । यससँगै लाभांशको लोभमा बैंकको सेयर किनेर बसेका लगानीकर्ताहरु डराएर बेच्न बाध्य भएका हुन् ।

बैंकले नेपाल राष्ट्र बैंकको स्वीकृति नपाएपछि प्रस्तावित १५.७८९ प्रतिशत लाभांश रद्द गरेको हो । माघ ९ गते राष्ट्र बैंकको सुपरिवेक्षण विभागले बैंकको क्यापिटल कर्जभेसन बफर पर्याप्त नदेखिएको जनाउँदै प्रस्तावित लाभांश अस्वीकृत गरेको हो । यससँगै बैंकले गत कार्त्तिक ८ गते प्रस्ताव गरेको १५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०।७८९४ प्रतिशत नगद लाभांश प्रस्ताव रद्द भएको छ । र, सेयरधनीको हात खाली भएको छ ।

सम्बन्धित समाचार: एनआईसी एशिया बैंकको लाभांश रद्द

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.