पुनर्बीमा निर्देशिका खारेज नभएसम्म वार्ता नगर्ने महासंघ र ईप्पानको निर्णय

  २०७८ पुष २० गते १८:३९     विकासन्युज

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ र स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (ईप्पान) को संयुक्त प्रतिनिधिमण्डल र बीमा समितिबीच मंगलबार भएको वार्ता बिना निष्कर्ष सकिएको छ । बीमाको दररेट र शर्तहरु संशोधन सम्बन्धमा भएकाे उक्त छलफल निष्कर्ष बिहीन भएको हो ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलसँगको भेटमा समितिले समस्या समाधानका लागि ठोस प्रस्ताव नल्याएको महासंघले जनाएको छ । २०७८ असोज ६ मा जारी पुनर्बीमा निर्देशिका, २०७८ मा बीमाको दररेट र शर्तहरु हाल सम्म संशोधन नभएकोले त्यस्तो अव्यवहारिक निर्देशिका खारेज गर्न महासंघ र ईप्पानले माग राखेका छन् ।

यस सम्बन्धमा महासंघ र ईप्पानले बीमा समितिलाई दुईपटक र प्रधानमन्त्रीलाई समेत संयुक्त रूपमा ज्ञापनपत्र बुझाएको थियो । उक्त ज्ञापनपत्र बुझाए पश्चात् बीमा समितिले महासंघ र ईप्पानलाई मंगलवार वार्तामा बोलाउँदा बीमा समितिले कुनै निकास नदिएकोले निर्देशिका खारेज नभएमा ईप्पान र निर्माण महासंघले संयुक्त रुपले चरणबद्घ आन्दोलन गर्ने जानकारी गराएका छन् ।

निर्देशिका खारेज नभएसम्म बीमा समितिसँग कुनै पनि वार्ता तथा छलफल नगर्ने निर्णय महासंघ र ईप्पानले गरेको महासंघका महासचिव रोशन दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । निर्देशिका खारेज भए पश्चात् सर्वपक्षीय सरोकारवालानिकायहरूबीच विस्तृत छलफल हुनुपर्ने महासंघको माग रहेको छ ।

विदेशी बीमा कम्पनीसँग समेत बीमा गर्ने व्यवस्था हुनुपर्ने, बीमा गर्ने कार्य ऐच्छिक हुनुपर्ने, बीमा गरेको मितिदेखि नै क्षतिपुर्ति पाउनु पर्ने, खुला अर्थबजार नीतिअनुरुप स्वस्थ प्रतिस्पर्धा गरिनु पर्ने लगायतका व्यवस्था सहितको निर्देशिका जारी गर्न महासंघका अध्यक्ष रवि सिंहले बीमा समिति समक्ष माग गरेका थिए । महासंघ र ईप्पानका मागहरू तत्काल सम्बोधन नभएमा सशक्त आन्दोलनमा जान बाध्य हुने महासंघको विज्ञप्तिमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.