एकै दिन ५ कम्पनीले घोषणा गरे लाभांश, प्रोग्रेसिभका सेयरधनीलाई २७ वर्षपछि प्रतिफल

  २०७८ पुष २ गते १५:५०     विकासन्युज

काठमाडौं । सूचीकृत कम्पनीहरुमध्ये ५ वटाले एकैदिन लाभांश घोषणा गरेका छन् । पुस २ गते मात्रै दुई वाणिज्य बैंकसहित ५ वटा कम्पनीले सेयरधनीलाई वितरण गर्न गत आर्थिक वर्षको लाभांश घोषणा गरेका हुन् ।

५ कम्पनीमा दुई वाणिज्य बैंक, दुई फाइनान्स र एक हाइड्रो कम्पनी रहेका छन् । कृषि विकास बैंक, सेञ्चुरी कमर्शियल बैंक, प्रोग्रेशिभ फाइनान्स, पोखरा फाइनान्स र नेपाल हाइड्रो डेभलपर्सले एकैदिन लाभांशको प्रस्ताव गरेका हुन् ।

यी ५ वटै कम्पनीको आ-आफ्नो सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सम्बन्धित सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेका हुन् । जसमध्ये सबैभन्दा बढी कृषि विकास बैंकले घोषणा गरेको छ ।

कृषि विकास बैंकले बढायो लाभांश

कृषि विकास बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा बढी हो । पुस १ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको २० प्रतिशत बोनस र उक्त बोनसमा लाग्ने कर प्रयोजनको लागि १.०५२६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १५ प्रतिशत बोनस र ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

साथै, नेपाल सरकारको हाल कामय भएको फिर्ता नहुने अग्राधिकार सेयर पुँजीमा समेत वार्षिक ६ प्रतिशतले हुने नगद लाभांश रकम समेत प्रदान गर्ने निर्णय गरेको छ । बैंकले प्रत्येक वर्ष सरकारले लगानी गरेको करिब साँढे पाँच अर्बको लगानीबाट ६ प्रतिशत लाभांश वितरण गर्ने गरेको छ ।

सेञ्चुरी बैंकले बढायो घटायो लाभांश

सेञ्चुरी कमर्शियल बैंकले सेयरधनीहरुलाई ६.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले चुक्ता पुँजीको ५.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा घटी हो । अघिल्लो आर्थिक वर्ष २०७६/७७ को नाफाबाट बैंकले सेयरधनीलाई ७.५० लाभांश वितरण गरेको थियो ।

२७ वर्षपछि प्रोग्रेसिभको लाभांश घोषणा

प्रोग्रेशिभ फाइनान्सले २७ वर्षपछि पहिलो पटक लाभांश घोषणा गरेको छ । सञ्चालनमा आएदेखि सेयरधनीलाई लाभांश खुवाउन नसकेको संस्थाले गत वर्षको नाफाबाट भने लाभांश खुवाउने भएको छ । पुराना बैंकर किशाेर महर्जन अध्यक्ष भएर आएसँगै संस्थाले २७ वर्षपछि सेयरधनीलाई लाभांश वितरण गर्ने भएकाे छ । पुस १ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई ७ प्रतिशत बोनस र ०.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । हाल ८० करोड रुपैयाँ रहेको संस्थाको चुक्ता पुँजी ७ प्रतिशत बोनसपछि ८५ करोड ६१ लाख रुपैयाँ नाघ्ने छ ।

पोखरा फाइनान्सले बढायो लाभांश

पोखरा फाइनान्सले लाभांशदर बढाएर घोषणा गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ५.२६३ प्रतिशत लाभांश घोषणा गरेको फाइनान्सले गत वर्ष २०७७/७८ को नाफाबाट ८.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । पुस १ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको ८.०७५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.४२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल ९६ करोड ३१ लाख रुपैयाँ रहेको संस्थाको चुक्ता पुँजी प्रस्तावित बोनसपछि एक अर्ब रुपैयाँ नाघ्ने छ ।

नेपाल हाइड्रोले लाभांशसहित तोक्यो बुक क्लोज

नेपाल हाइड्रो डेभलपरले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको ७ प्रतिशत बोनस र ०.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश प्रस्तावसहित संस्थाले आगामी पुस २८ गते दिउँसो ३ बजे वार्षिक साधारणसभाको मिति तय गरेको छ । सभामा जाने प्रयोजनको लागि कम्पनीले पुस १३ गतेदेखि पुस २८ गतेसम्म बुक क्लोज गर्ने छ । यससँगै पुस १२ गतेसम्म कायम सेयरधनीहरु उक्त प्रस्तावित लाभांश पाउन योग्य हुनेछन् ।


५ कम्पनीमध्ये हाइड्रो बाहेक ४ कम्पनीको प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा सम्बन्धित कम्पनीको वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । हालसम्म कुनैले पनि सभाको मिति तय गरेका छैनन् ।

यता नेपाल हाइड्रो डेभलपरको लाभांश भने संस्थाको वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन् । हाइड्रोले बुक क्लोजको घोषणा गरिसकेको छ । त्यसैले  पुस १२ गतेसम्म कम्पनीको सेयर किन्ने तथा होल्ड गर्ने सेयरधनीले मात्र उक्त प्रस्तावित लाभांश पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.