तिमी दलित भएकोले कोठा पाइनौ, म बाहुन भएर कोटा पाइनँ

  २०७८ असार १० गते १४:५६     सुशिल घिमिरे ‘त्रैलोक्य’

प्रिय मित्र नमस्कार,

यो हप्ता नेपाली छापा, डिजिटल अनलाइन खबरहरु र रेडियो तथा टेलिभिजनहरुमा तिम्रै सर्वाधिक चर्चा सुनियो । तिमीले दलित भएर कोठा नपाएको खबरहरु बारम्बार सुनियो ।

तिमी छाइरह्यौं यो हप्ता नेपाली मिडियामा, समाजिक सन्जालहरुमा । आजको एक्काइसौं शताब्दीमा पनि यस्ता मानवीय जातीय विभेदका समाचारहरु सुन्दा मलाई असाध्यै नरमाइलो लाग्छ । आजको एक्काइसौं शताब्दीमा पनि सामाजिक कुरितीले मान्छेलाई विभेद गर्न मान्छे नै अग्रसर हुनु मानव जातिकै लागि लज्जाको विषय हो भन्ने मलाई लाग्छ ।

म सुन्दछु साथी, बेलाबेलामा नेपाली समाजमा कहिले दलित भएकै कारणले मन्दिरमा छिर्न नपाएको, कथित उपल्लो जात भनाउदाहरुसँग मन परापर हँुदा पनि विवाह गर्न नपाएको, भोज बिहे बटुलोमा सामेल हुन नपाएको जस्ता समाचारहरु पनि म वारम्वार पढिरहेको हुन्छु । मलाई पनि दुःख लाग्छ, नरमाइलो लाग्छ । तर, यो पनि थाहा छ कि यस्ता सामाजिक कुरितीहरु विस्तारै हट्दै जाने छन् र पहिलेको तुलानामा हटिरहेका पनि छन् ।

पिडा आ–आफनै छन् साथी । दलितलाई समाजिक तिरस्कारको पिडा छ । महिलालाई महिलाकै पिडा छ । मधेशीलाई आफ्नै हिसावको चित्त दुखाई छ । गरिबलाई गरिबीकै पिडा छ । बेरोजगारलाई रोजगारीको तनाव छ । व्यापारीलाई व्यापारकै चिन्ता छ । देश आर्थिक रुपमा सवल र सक्षम नहुन्जेलसम्म यस्ता पिडा देखिरहन्छन् भन्ने लाग्छ साथी ।

के गर्छाैं ! यो समाज यस्तै छ । विस्तारै परिवर्तन हुदै पनि त छ । त्यसैले दुःख लाग्छ नै । तर, समाज परिवर्तनको लागि हामी सबैको संयुक्त प्रयास आवश्यक छ । परिवर्तन भनेको एक्कासी हुँदैन । हरेक जातजतिका आ–आफनै समस्याहरु छन् । कसैलाई भाषाको समस्या होला, मैले बुझ्ने भाषा वोलेन भनेर । मेरो जातले वोल्ने भाषा, स्कुल, कार्यालयमा लागू गरेन भन्ने होला कसैलाई ।

कसैलाई मेरो धर्म मानेन् भन्ने होला । कसैलाई मेरो संस्कृति लोप भयो भन्ने होला । विविधताको साझा मञ्चमा बसेपछि यस्ता समस्या कहिले काँही आउदा रहेछन् । कहिले ‘लोग्ने टोकेको’ नाउँमा जिउदै जलाइएको समाचार सुन्छु । कहिले दाइजोको नाउँमा हत्या गरेको समाचार सुन्छु । कहिले वोक्सीको नाममा यातना दिएको समाचारहरु सुन्छु । साह्रै दुःख लाग्छ । तर, के गर्नु आखिर यस्ता सामाजिक कुरितीहरु त छन् नै । ठूलो मेहेनत गरेर यस्ता सामाजिक कुरिती हटाउँदै जानु नै छ हामीले ।

हामीले धैर्य गर्नुपर्छ भन्ने मलाई लाग्छ । सजग हुनुपर्छ । यस्ता समस्या बेला बेलामा देखा परिरहेको छन्, नेपाली समाजमा । तर, हामीले विवेकपूर्ण काम गर्नुपर्छ । यस्ता सामाजिक कुरितीलाई जरैदेखि उखेलेर फाल्नुछ । त्यसको लागि समय, मेहेनत र प्रयास सानो गरेर हुँदैन । सानो अभियानले यो सामाजिक कुरिती उखेलेर मिल्काउन सकिन्न । कानुनभन्दा माथि जस्तै गरी रहेको सामाजिक कुरितीलाई परास्त गर्नु भनेको कुहिनोले पहाड भत्काउनु जस्तै हो । तर, निरन्तरको र सामुहिक लडाईले नै यस्ता कुसंस्कार हटाउन सकिन्छ ।

हामी त सयौं थुंगा फूलका एउटै माला नेपाली न हौं । त्यसैले विस्तारै नेपाली समाज परिवर्तन हुनेछ भन्ने अपेक्षा गर साथी । विचलित नहोऊँ । चित्त नदुखाउँ, डेरा पाइन भनेर । डेरा अवश्य पाउने छौं ।

फरक यत्ति हो, तिमीले कोठा नपाउँदा खबर बन्छ । देशको प्रमुख समाचार बन्छ र बजार तातिन्छ । तर, मैले जति गरे पनि समाचार बन्दैन । समस्या आ–आफ्नै छन् । तिमीलाई बस्नलाई समस्या, मलाई खान समस्या । तिमी दलित भएकोले कोठा पाइनौं । म गरिब भए पनि के गर्नु ? फगत बाहुन भएकोले कोटा पाइनँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.