कोभिडपछि मेडिकल ल्याबः पीसीआर परीक्षणबाटै साढे १ अर्बको व्यापार (देशभरमा कसको कति?)

  २०७८ वैशाख २७ गते ११:४५     विकासन्युज

काठमाडौं । नेपालमा कोभिड संक्रमण सुरु भएपछि मेडिकल ल्याबहरुको व्यापार बढेको छ । सामान्य अवस्थामा थोरै व्यापार गर्ने निजी क्षेत्रका ल्याबहरुले पनि कोरोना भाइरस (कोभिड–१९) संक्रमण भए नभएको यकिन गर्न गरिने पीसीआर परीक्षणबाट राम्रो व्यापार गरेका तथ्यांकले देखाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत बैशाख २३ गतेसम्ममा ल्याबहरुले १० लाख ५४ हजार २२६ नमुनाको पीसीआर परीक्षण गरेका छन् । यो संख्या सरकारी तथा निजी क्षेत्रबाट संचालित ल्याबहरुको मात्रै हो । अस्पतालका ल्याबहरुले गरेको परीक्षणको संख्या यो तथ्यांकमा समावेश छैन ।

नेपालमा कोभिड संक्रमण फैलन सक्ने भन्दै सरकारले २०७६ सालको चैत ११ गतेदेखि देशव्यापी लकडाउन गरेर पीसीआर परीक्षण गर्न सुरु गरेको थियो । सुरुमा सरकारी ल्याबहरुले निःशुल्क परीक्षण गरेका थिए । पछि निजी क्षेत्रबाट संचालित ल्याबहरुलाई पनि पीसीआर परीक्षण गर्ने अनुमति दिइएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०७७ को असार ८ गते एउटा निर्देशिका जारी गरेर निजी क्षेत्रका ल्याबहरुले पीसीआर परीक्षण गर्न पाउने बाटो खुल्ला गरेको थियो । सो निर्देशिकामा निजी क्षेत्रका ल्याबहरुले स्वाब संकलन गर्न नपाउने र सरकारी ल्याबहरुले संकलन गरेको स्वाब मात्रै परीक्षण गर्न पाउने भनिएको थियो ।

तर, २०७७ कै साउन १५ गते मन्त्रालयले निजी ल्याबहरुलाई पनि स्वाब संकलन गरेर परीक्षण गर्न पाउने गरी पहिलो पटक मूल्य पनि तय गरेको थियो । सो मूल्य अनुसार स्वाब पीसीआर गरेको प्रतिनमुना ५ हजार ५ सय रुपैयाँ लाग्ने बताइएको थियो ।

सरकारले पीसीआर परीक्षण शुल्क प्रतिनमुना ५ हजार ५ सय रुपैयाँ तोकेपनि निजी क्षेत्रका ल्याबहरुले सोभन्दा सस्तोमा पीसीआर गराउने घोषणा नै गरेका थिए । त्यसपछि मूल्य क्रमशः घट्दै गएको हो । सरकारले पछिल्लो समय पीसीआर परीक्षण गर्दा प्रतिनमुना १ हजार रुपैयाँ तोकेपनि सरकारी बाहेक निजी क्षेत्रबाट संचालित र अस्पतालहरुले संचालन गरेका प्रायः सबै ल्याबहरुले प्रतिनुमना २ हजार रुपैयाँमा स्वाब परीक्षण गरिरहेका छन् ।

कसले कति रुपैयाँको व्यापार गरे ?

सरकारी ल्याबहरुले सुरुमा निःशुल्क परीक्षण गरेको र पछि प्रतिनमुना १ हजार रुपैयाँ शुल्क लिएर परीक्षण गर्न थालिएको छ । अहिले पनि लक्षणसहितका व्यक्तिहरुको निःशुल्क परीक्षण गराउने सरकारी निर्णय छ । यस्तै, पैसा तिर्न सक्दिन भन्ने व्यक्तिहरुलाई पनि निःशुल्क परीक्षण गराउने सरकारको निर्णयमा उल्लेख छ ।

सुरुमा निःशुल्क परीक्षण गरिएको र अहिले पनि केही नमुनाको परीक्षण शुल्क नलिई परीक्षण गराउने गरिएको कारण सरकारी ल्याबहरुले कति रुपैयाँको व्यापार गरे भन्ने यकिन छैन । तर, सरकारी ल्याबहरुले प्रतिनमुना १ हजार रुपैयाँको दरले शुल्क लिएका छन् भनेर आकलन गर्दा र निजी क्षेत्रका ल्याबहरुले प्रतिनमुना २ हजार रुपैयाँको दरले मात्रै शुल्क लिएका छन् भनेर मान्दा पनि पीसीआर परीक्षणबाट ल्याबहरुले यो अवधीमा १ अर्ब ४५ करोड ३३ लाख ७८ हजार रुपैयाँ बराबरको व्यापार गरेको देखिन्छ ।

सम्बन्धित समाचार

१२ दिनको पीसीआरः निजीको साढे २३ करोड र सरकारी ल्यावको १६ करोडको व्यापार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.