वायुसेवा निगमलाई डुबायो चिनियाँ जहाजले, ९ महिना पार्किङमै थन्क्याउँदा साढे १० करोड स्वाहा

  २०७७ चैत १३ गते १८:०५     विकासन्युज

काठमाडौं। वर्षेनी आर्थिक रुपमा  टाँट पल्टिँदै गएको राष्ट्रिय ध्वजा वाहक नेपाल वायु सेवा निगमलाई आर्थिक रुपमा सक्षम बनाउनको लागि खरिद गरिएका चिनीयाँ जहाजले झन समस्या थुपार्दै गएका छन् । अधिक खर्च र न्युन आम्दानीका कारण उडाएर नाफा लिन नसक्ने निष्कर्ष निकाल्दै निगमले गत साउनमा जहाज ग्राउन्डेड गर्ने निर्णय गरे यता मात्रै चिनियाँ जहाजले निगमलाई थप आर्थिक भार थुपारेको हुन् ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको पार्किङमा राखिएको ६ थान चिनियाँ जहाजबाट निगमलाई ९ महिनाको अबधिमा साढे १० करोड रुपैयाँ आर्थिक भार  थपिएको छ । विमानस्थलको पार्किङमा राखिएको शुल्क र इन्स्युरेन्स (बीमा)  शुल्क बापत निगमलाई उक्त रकम थपिएको हो । सञ्चालन गर्दा नोक्सान भएको भन्दै निगम सञ्चालक समितिले साउन १५ गतेदेखि चिनियाँ जहाज सञ्चालन नगर्ने निर्णय गरेको थियाे।

ग्राउन्डेड भएको ९ महिनाको अबधिमा निगमले इन्स्युरेन्स बापत ६ थान विमानको १० करोड ३४ लाख रुपैयाँ र विमानस्थलको पार्किङ शुल्क बापत २१ लाख रुपैयाँ गरी १० करोड ५५ लाख रुपैयाँ थप आर्थिक भार थपिएको निगम अन्तरगतको अर्थ विभागले जनाएको छ । उक्त जहाजका क्यापटेन, कोपाइलट, एयरहोस्टेस तथा अन्य कर्मचारीको सेवासुविधा बाहेक विमानस्थको पार्किङ र बीमा बापत उक्त रकम खर्च भएको हो ।

अर्थ विभागको तथ्यांक अनुसार चिनियाँ कम्पनीको एम ए–६० जहाजको दैनिक पार्किङ शुल्क २ हजार ५ सय १४ रुपैयाँ र इन्स्युरेन्स वापतको एक हजार ६१ अमेरिकी डलर दैनिक खर्च हुने निगमले जनाएको छ । यसैगरी वाई–१२ ई जहाजको एक दिन विमानस्थल कार्यालयमा राखिएबापत विमानस्थल कार्यालयले ६ सय ८५ रुपैयाँ लिन्छ भने इन्स्योरेन्सबापतको ३ सय १५ अमेरिकी डलर भुक्तानी गर्नुपर्छ ।

जहाज उडान तथा ग्राउन्डेड गरेर राखेतापनि वायुसेवा सञ्चालकले विमानस्थल कार्यालयलाई पार्किङ र इन्स्योरेन्स कम्पनीलाई इन्स्योरेन्सको शुल्क बुझाउँनुपर्छ । विमानस्थलको पार्किङ शुल्क रुपैयाँमा भुक्तानी हुनेछ भने इन्स्योरेन्सको शुल्क डलरमा बुझाउनुपर्ने हुन्छ ।

निगमले चीनबाट ५६ सिट क्षमताका २ थान एमए–६० र १९ सिट क्षमताका ४ थान वाई–१२ ई जहाज अनुदान तथा खरिद गरेर ल्याएको थियो । दुई अर्ब ९४ करोड अनुदान र तीन अर्ब ७२ करोड ऋणमा २०७१ सालदेखि २०७४ सालसम्म ६ वटा जहाज नेपाल ल्याईएको थियो । खरिद गरेर ल्याईएको ४ थान जहाज १.५ प्रतिशत ब्याजमा चीनकै एक्जिम बैंकबाट नेपाल सरकारले ऋण लिएको थियो ।

६ वर्षमा आधा घट्यो खरिद मूल्य

निगमको व्यवस्थापनले सम्पत्ति तथा दायित्व मूल्यांकन (डिडिए) गराउँदा निगमको सम्पत्तिअन्तर्गतको चिनियाँ जहाजको मूल्य ३ अर्ब ८१ करोड १० रुपैयाँ मात्रै मूल्यांकन गरिएको छ ।

चार्टर्ड एकाउन्टेन्ट फर्म एसएआर एसोसिएट्सले सम्पन्न गरेको निगमको डिडिए प्रतिवेदन अनुसार २०७६ असार मसान्तसम्म ६ थान चिनियाँ विमानको मूल्य मूल्यांकलन गरेको थियो । ६ अर्ब ६६ करोड रुपैयाँ मूल्यमा ल्याईएको उत्त जहाजको मूल्य पाँच वर्षमा नै दोब्बर घटेको हो । जहाज नउडाई ग्राउन्डेड गर्दै जाने हो भने अझै मूल्य घट्दै जानेछ ।

६ थान चिनियाँ जहाज मध्येमा एक थान वाई १२ ई जहाज गत चैतमा नेपालगन्ज विमानस्थलमा दुर्घटना भएको थियो । विमानस्थलको धावनमार्गमा धसिएको उक्त विमान सञ्चालन योग्य नभएको नेपाल नागरिक उडड्यन प्राधिकरणले जनाएको छ ।

निगमले ६ वर्षअघि ल्याएको उक्र ६ थान चिनियाँ जहाज मध्येमा हाल तीन थान मात्र सञ्चालन योग्य रहेको छ । सञ्चालन गर्न नसक्ने भन्दै ग्राउन्डेड गरिएको चिनियाँ जहाज व्यवस्थापनका लागि अर्थ मन्त्रालयले बिहीबार निगम व्यवस्थापनलाई दुई विकल्प दिएको छ ।

सम्बन्धित सामग्री

निगमलाई अर्थ मन्त्रालयका दुई विकल्पः सके जहाज भाडामा लगाउ, नसके बिक्री गरेर व्यवस्थापन गर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.