निगमलाई अर्थ मन्त्रालयका दुई विकल्पः सके जहाज भाडामा लगाउ, नसके बिक्री गरेर व्यवस्थापन गर

  २०७७ चैत १३ गते १२:५४     विकासन्युज

काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगम सञ्चालक समितिले सञ्चालन खर्च समेत धान्न नसकेको भन्दै चिनियाँ जहाज ग्राउन्डेड गरेको ९ महिनापछि अर्थ मन्त्रालयले जहाज व्यवस्थापन गर्न स्वीकृति दिएको छ ।

बिहीबार अर्थ मन्त्रालयले निगम सञ्चालक समितिलाई जहाज व्यवस्थापनाका लागि दुई विकल्प दिएको हो । अर्थले सकेसम्म जहाज भाडामा लगाउनु नसके अन्तिम विकल्पको रुपमा जहाज बिक्रीगर्न भन्दै निगम सञ्चालकलाई दुई विकल्प दिएको हो ।

अर्थ मन्त्रालयले निगमको स्वामित्वमा हुने गरी जहाज भाडामा लगाएर नाफा आर्जन गर्न पहिलो सर्त दिएको निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले जानकारी दिए । उनका अनुसार अर्थले दोस्रो सर्त स्वरुप अधिकतम फाइदा हुने गरी बिक्री गर्न सहमति दिएको छ । अर्थबाट आएको दुई वटा विकल्पमध्ये सकेसम्म पहिलो विकल्पलाई प्राथमिकता दिने नसके दोस्रो विकल्प स्वरुप जहाज बिक्री गरिने उनले बताए ।

निगमले २०७१ सालदेखि २०७४ सालसम्म अनुदान सहित खरिद गरेर ल्याईएको चिनियाँ जहाजले सञ्चालन खर्च समेत धान्न नसकेको भन्दै साउन १५ गते बसेको निगम सञ्चालक समितिले जहाज ग्राउन्डेड गर्ने निर्णय गरेको थियो ।

निगम सञ्चालक समितिले नोक्सानी बढी भएको भन्दै चिनियाँ अनुदान तथा खरिद गरेर ल्याईएका ४ थान वाई–१२ ई र २ थान एमए–६० गरी ६ विमान ग्राउन्डेड गर्ने निर्णय गरेको ९ महिनापछि बिहीबार अर्थ मन्त्रालयले जहाज व्यवस्थापनको स्वीकृति दिएको हो ।

सरकारको पूर्ण स्वमित्वमा सञ्चालन भएको जहाज र दुई देशबिचको सम्बन्धका कारण देखाउँदै संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले जहाज व्यवस्थापनको मोडालिटिको विषयमा अर्थ मन्त्रालयसँग राय मागेको छ । अर्थ मन्त्रालयले जहाज खरिदको विषय दुई देशबीचको सम्बन्धसँग जोडिएको भन्दै जहाज व्यवस्थापनको निर्णय दिएको थिएन् ।

निगमले ५६ सिट क्षमताका २ थान एमए–६० र १९ सिट क्षमताका ४ थान वाई–१२ ई जहाज ल्याएको थियो । दुई अर्ब ९४ करोड अनुदान र तीन अर्ब ७२ करोड ऋणमा २०७१ सालदेखि २०७४ सालसम्म ६ वटा जहाज नेपाल ल्याईएको थियो । खरिद गरेर ल्याईएको ४ थान जहाज १.५ प्रतिशत ब्याजमा चीनकै एक्जिम बैंकबाट नेपाल सरकारले ऋण लिएको थियो ।

अनुदान तथा ऋणगरी ६ अर्ब ६७ करोड खर्च गरेर जोडिएका ६ थान जहाजबाट निगमले हालसम्म एक अर्ब ८४ करोड रुपैयाँ नोक्सान व्यहोर्नुपरेको जनाएको छ ।

कुन जहाज कहिले ल्याईयो ?

२०६९ सालमा नेपाल सरकार र चीन सरकारबीच भएको सम्झौताअनुसार निगमले ६ वटामध्ये दुई थान वाई १२ ई र एउटा एमए–६० गरी तीन थान चिनियाँ विमान अनुदानमा नेपालले प्राप्त गरेको थियो । अनुदान बाहेकका दुई वाई १२ ई र एउटा एमए ६० विमान एक्जिम बैंकको सहुलियत ऋणमा खरिद गरिएको हो ।

दुई देशबिच जहाज खरिदको सम्झौता भएको २ वर्षपछि अर्थात वि.स २०७१ कात्तिक १७ मा पहिलो जहाज स्वरुप वाई १२–ई विमान नेपाल ल्याइएको थियो । सुरुमा ०७१ मा एउटा एमए ६० र एउटा वाई १२ ई जहाज अनुदानमा ल्याइएको थियो । ०७३ मा निगमले एउटा एमए ६० र एउटा वाई १२ ई जहाज खरिद गरेर ल्याएको थियो । अर्को वर्ष ०७४ मा दुईवटा वाई १२ ई जहाज ल्याइएको थियो । चीनबाट आउँनु पर्ने अन्तिम विमान भने २०७४ फागुन १ मा नेपाल आइपुगेको थियो ।

कुन वर्ष कति नोक्सान ?

चिनियाँ जहाज उडाउन नसक्दा निगमले हालसम्म एक अर्ब ८४ करोड रुपैयाँ नोक्सान व्यहोर्नुपरेको छ । निगमका अनुसार आर्थिक वर्ष ०७१/७२ मा तीन करोड, आर्थिक वर्ष ०७२/७३ मा नौ करोड, आर्थिक वर्ष ०७३÷७४ मा १० करोड ३१ लाख र आर्थिक वर्ष ०७४/७५ मा एमए ६० बाट ३१ करोड ६४ लाख र वाई १२ ई बाट २८ करोड ९६ लाख गरेर जम्मा ६० करोड ६० लाख रुपैयाँ नोक्सान भएको थियो ।

यसैगरी गत आर्थिक वर्ष ०७५/७६ मा दुईवटा एम ६० बाट २९ करोड ८४ लाख र चारवटा वाई १२ ई बाट २२ करोड ३६ लाख गरेर ५२ करोड २० लाख रुपैयाँ तथा ०७६/७७ मा ५० करोड रुपैयाँ घाटा व्यहोर्नुपरेको निगमले जनाएको छ ।

सम्बन्धित सामग्री

वायुसेवा निगमलाई डुवायो चिनीयाँ जहाजले, ९ महिना पार्किङमै थन्क्याउँदा साढे १० करोड स्वाहा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.