‘माउन्टेन गाइड’ को पहिलो सरकारी लाइसेन्स कीर्तिमानी आरोही शेर्पालाई

  २०७७ चैत १० गते १५:२८     विकासन्युज

काठमाडौं । कीर्तिमानी आरोही कामीरिता शेर्पाले माउन्टेन गाइडको सरकारी परिचयपत्र पाएका छन् । पर्यटन विभागले पहिलो पटक माउन्टेन गाइडलाई सरकारी परिचयपत्र (लाइसेन्स) वितरण गरेको हो । विभागले वितरण गरेको पहिलो लाइसेन्स शेर्पाले पाएका हुन् ।

यसअघि नेपाल पर्वतारोहण संघले दिएको प्रमाणपत्र लिएका शेर्पाले पहिलो पटक सरकारी लाइसेन्स पाउँदा खुशी भएको बताएका छन् । ‘हामी जति वटा हिमाल आरोहण गरेपनि भरियाको रुपमा थियौँ, पहिलो पटक सरकारले हामीलाई सम्मान गर्दै सरकारी लाइसेन्स दिएको छ, निकै खुशी छु’, विकासन्युजसँग कुरा गर्दै शेर्पाले भने ।

विभागले सरकारी लाइसेन्सको अनुमति लिनका लागि गत चैत १ गतेदेखि अनलाइनमार्फत आवेदन माग गरेको थियो । विभागको सूचना अनुसार शेर्पाले पहिलो नम्बरमा नाम दर्ता गराएका कारण उनलाई पहिलो लाइसेन्स जारी गरिएको विभाग अन्तरगतको पर्वतारोहण शाखाले जनाएको छ ।

विभागमा माउन्टेन गाइडको अनुमतिपत्रका लागि दुई सयभन्दा बढीले आवेदन दिइसकेका छन् । विभागले दिएको उक्त लाइसेन्सको अवधि ५ वर्षको रहेको छ ।

विभागको उक्त निर्णयबाट लामो समयदेखि पर्यटन क्षेत्रमा सक्रिय रहेर अन्य निकायबाट लाइसेन्स पाएका २१ सयबढी गाइडले  सरकारले दिएको इजाजत (लाइसेन्स) को लागि आवेदन दिन सक्नेछन् । नेपाल पर्वतारोहण संघ (एनएमए) बाट रातो किताब लिएका तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बबाट तह चारको माउन्टेन गाइडको प्रमाणपत्र पाएकाले सरकारी लाइसेन्सका लागि अनलाइन आवेदन दिन सक्नेछन् ।

यसअघि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) बाट तह चारको माउन्टेन गाइड प्रमाणपत्र लिने ११ जना र नेपाल पर्वतारोहण संघबाट रातो किताब पाएका दुई हजार ९४ जना गरी २१ सय पाँच जनाले पहिलो पटक लाइसेन्स प्राप्त गर्नेछन् ।

गत वर्षबाट मात्र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्ले सीप परिक्षण गरी तह चारको माउन्टेन गाइण प्रमाणपत्र दिन सुरु गरेको हो । सीप परिक्षणबाट ११ जनाले तह चारको प्रमाणपत्र पाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.