देशभरका १४ पालिकाः युवा रोजगारीका लागि कस्तो कार्यक्रम गरिरहेका छन् ?

  २०७७ चैत ५ गते १३:३७     राजिव न्यौपाने

काठमाडौं । नेपाल सरकाले चालु आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम र बजेटमार्फत युवा रोजगारीका अवसर सिर्जना गरी आगमी पाँच वर्ष भित्र कुनै पनि नेपाली नागरिकले बाध्यताले वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाको अन्त्य गर्ने घोषणा गरेको थियो । तर यो लागु हुन सकेको छैन ।

युवा रोजारको लागि स्थानीय तहमा धेरै कार्यक्रमहरु सञ्चालन भएका छन् । कार्यक्रम सञ्चालन भए पनि अझै धेरै युवाहरु बेरोजगार रहेका छन् । युवालाई लक्षित गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रम २०७५ मा जारी भएको थियो । यो कार्यक्रमबाट धेरै युवाहरुले रोजगारी पाए तापनि सबै गाउँपालिका, नगरपालिकामा लागु हुन सकेकोे छैन ।

रोजगारीको खोजीमा युवा पलायन भएका छन् । कोरोनाको समयपछि धैरै युवा बेरोजगार भएका छन् । बेरोजगार भएकै कारण युवा पछिल्लो समयमा कृषि र पशु क्षेत्रमा जोडिएका छन् । देशको ठुलो समस्याको रुपमा बेरोजगारी नै रहेको छ । तर पनि केही स्थानीय तहले युवाहरुलाई स्वारोजगार बनाउनका लागि गरेको प्रयास यस्तो छ ।

सुनकोशी गाउँपालिका

बागमती प्रदशको सिन्धुली जिल्लामा यो गाउँपालिका पर्छ ।

युवा रोजगार

गाउँपालिकामा कुनै पनि व्यक्तिले आफ्नै गाउँठाउँमा केही गरेर बस्छु, उद्यमी बन्छु भन्छ भने गाँउपालिकाले उसको योजना अनुसारको सुलव व्याजमा ऋण दिने व्यवस्था मिलाएको छ । कुखुरा, बाख्रा पालन गर्नेहरुलाई २ देखि ४ लाख रुपैयाँसम्म रकम ऋण दिने गरेको छ । यसका लागि राष्ट्रिय वाणिज्य बैंकसँग बिनाधितो सहुलियत व्याजदरमा ऋण उपलव्ध गराउने सम्झौता भएको छ । महिलाको लागि यो ऋण १.७८ प्रतिशत र पुरुषलाई २.७८ प्रतिशत व्याजदर रहेको छ ।

के गर्दैछ पालिका ?

युवालाई रोजगारी दिनको लागि विभिन्न कार्यक्रमहरुको योजना तर्जुमा गरी कार्यान्वयन गरेको गाउँपालिकाकी अध्यक्ष दिपा बोहोरा बताउछिन् ।

मिक्वाखोला गाउँपालिका

प्रदेश १, ताप्लेजुङ्ग जिल्लामा यो गाउँपालिका पर्छ ।

युवा रोजगार

गाँउपालिकाभित्र रहेका बेरोजगार युवालाई रोजगारी दिनका लागि गाउँपालिकाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम सञ्चालन गरेको छ । उक्त कार्यक्रमका लागि गाउँपालिकाले वार्षिक रुपमा ४ लाख रुपैयाँ छुट्टाएर गाउँपालिकाको विकाससँगै बेरोजगार युवालाई रोजगारी प्रदान गरेको छ ।

के गर्दैछ पालिका ?

गाउँपालिका भित्रका बेरोजगार युवाहरुलाई विकास निर्माणको काममा सहभागी गरेर रोजगारी दिने गरिएको गाउँपालिकाका अध्यक्ष रामकुमार सावा बताउँछन् ।

तादी गाउँपालिका

यो गाउँपालिका बागमती प्रदेशको नुवाकोट जिल्लामा पर्छ ।

युवा रोजगार

युवा रोजगारको लागि विभिन्न कार्यक्रमहरु गाउँपालिकामा रहेको छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम पनि रहेको छ । गाँउपालिकामा युवाको लागि विभिन्न तालिमहरु सञ्चालन गर्दै आएको छ । गाँउपालिकाको सिफारिसमा तालिम प्राप्त गरेपछि सहुलियत ऋण पनि उपलव्ध गराउने योजना पनि रहेको छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा १ करोड रुपैंया बजेट रहेको छ ।

के गर्दैछ पालिका ?

युवाले के सीप लिन चाहन्छन्, त्यो सिप अनुसारको गाँउपालिकाले युवाको समस्या के हो, कस्तो किसिमको तालिम लिन चाहन्छन्, आर्थिक उन्नती कसरी हुन्छ भन्ने बारेमा विभिन्न कार्यक्रम गर्दै आएको अध्यक्ष नारायण प्रसाद पाण्डे बताउँछन् ।

दोरम्बा गाउँपालिका

यो गाउँपालिका बाग्मती प्रदेशको रामेछाप जिल्लामा पर्छ ।

युवा रोजगार

यो पालिकाका युवामा बढी मात्रामा कृषि र पशुपालन क्षेत्रमा आकर्षण भएको पाइन्छ । युवा रोजगारीको लागि कृषिमा ४३ वटा बाख्रा, भौसीहरु दर्ता भएका छन् । यसमा अनुदान पनि व्यावस्था रहेको छ । धेरै युवा व्यवसाय गर्नतर्फ पनि अगाडि बढेका पनि छन् ।

जसको आफ्नो जग्गा जमिन छ । व्यवसाय गर्छु भन्नेहरु आफैले कृषि विकास बैंकसँग ५ देखि १० लाख रुपैयाँसम्म ऋण लिन सक्छन् । कुनै व्यक्तिको प्रतिफल अनुुसारको गाँउपालिकाले १ लाखदेखि ३ लाख रुपैयाँसम्म अनुदान दिने गरेको छ । गाँउपालिकामा रहेको दलित, महिला, बेरोजगारीहरुलाई प्रधानमन्त्री स्वरोजगार कार्यक्रम रहेको छ ।

के गर्दैछ पालिका ?

गाँउपालिकाका युवालाई स्वरोजगार बनाउनका लागि विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको तथा युवालाई स्वरोजगार बनाउनको लागि होटल, रिसोर्टहरु खोल्न समेत आग्रह गरिएको अध्यक्ष कमानसिंह तामाङ बताउँछन् । युवाको लागि सहुलियत ऋण पनि दिने योजना गाउँपालिकाको छ ।

उनका अनुसार आफ्नो नाममा जग्गा जमिन नभएका तर उद्यम गर्न चाहने युवाका लागि ५ लाखसम्मको सहुलियत पूर्ण ऋणका लागि गाउँपालिकाले सिफारिस गरेर पठाउँने समेत गरेको छ ।

कालिका गाउँपालिका

बागमती प्रदेश अन्तरगत रसुवा जिल्लामा पर्ने गाउँपालिका हो यो ।

युवा रोजगार

युवाको लागि प्रधानमन्त्री स्वरोजगार कार्यक्रम पनि संचालनमा छ । यस गाँउपालिकामा हिमाली र पहाडी क्षेत्र छ । गाउँपालिकामा उद्यम विकास कार्यक्रम पनि लागू भएका छन् । एक सय जना उद्यमी नयाँ निकाल्ने योजना पनि गाउँपालिकाको रहेको छ । ती उद्यमी मार्फत पनि रोजगारी सिर्जना हुनेछ । गाउँपालिकामा ४२ लाख रुपैयाँको कार्यक्रम रहेको छ, त्यसमा सबै कर्मचारीको व्यवस्थादेखि विभिन्न आधारमा कार्यक्रम पनि रहेको छ ।

के गर्दैछ पालिका ?

रोजगार बन्नको लागि युवा आफैमा सशक्त हुनुपर्छ । गत वर्ष विदेशबाट फर्केका युवाहरुलाई प्रपोजल ल्याएर मिलेर काम गर्नु होस् भन्ने लगायतका सुचना पनि प्रकाशन गरेको अध्यक्ष सिताकुमारी अधिकारीले जानकारी दिइन् । उनका अनुसार स्वरोजगार बन्छौं भनेर युवा आएमा गाँउपालिकाले बजेट छुट्याउन सक्छ ।

खानीखोला गाउँपालिका

बागमती प्रदेश अन्तर्गत काभ्रे जिल्लामा यो गाउँपालिका पर्छ ।

युवा रोजगार

गाउँपालिकाका बढिजसो युवा कृषिक्षेत्रमा आबद्ध रहेका छन् । युवाहरुलाई विकास निर्माणको काममा लगाएर पनि रोजगारी दिने वातावरण सिर्जना गर्ने पहल गाउँपालिकाले गरेको छ । साना तथा मझौला उद्योग खोल्न चाहने युवाहरुलाई ऋण समेत उपलब्ध गराउने व्यवस्था गाउँपालिकाले मिलाएको छ ।

के गर्दैछ पालिका ?

गाउँपालिकामा रहेका बेरोजगार युवालाई रोजगारीका लागि बिदेशी मुलुक जानबाट रोक्न गाउँपालिकाले विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको अध्यक्ष कृष्णबहादुर खुलाल बताउछन् ।

भिमसेनथापा गाउँपालिका

गण्डकी प्रदेश अन्तर्गतको गोरखा जिल्लामा यो गाउँपालिका पर्छ ।

युवा रोजगार

गाँउपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम संचालनमा रहेको छ । गाउँपालिकाका धेरै युवाहरु रोजगारीको लागि विकास निर्माणको काममा लागि परेका छन् । गाउँपालिकामा धेरै युवाहरु कृषिमा पनि लागेका छन् । यहाँ उद्योग धन्दाको विकास गर्न सकिएको छैन । यदि उद्योेगको विकास गर्न सकिन्थ्यो भने यहाँका युवाहरुलाई पर्याप्त मात्रामा रोजगारी पनि दिन सकिने थियो ।

के गर्दैछ पालिका ?

ठाउँ तथा अवस्था अनुसार युवाहरुलाई बाख्रा पालन अथवा खेतीतर्फ अग्रसर गराएको अध्यक्ष ईश्वर पाण्डे बताउँछन् ।

बाग्मती गाउँपालिका

बागमती प्रदेश अन्तर्गतको ललितपुर जिल्लामा पर्छ यो गाउँपालिका ।

युवा रोजगार

गाउँपालिकाले बेरोजगार युवालाई लक्षित गरेर विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको छ । विदेशबाट फर्केका युवाहरुलाई सामुहिक खेती गर्न प्रेरित गरी अनुदान स्वरुप २ प्रतिशत ब्याजमा ऋण दिने कार्यक्रम सञ्चालन गरेको छ ।

यसैगरी, गाउँपालिकाले एकल पुरुष भत्ता वितरण गर्दै आएको छ । यो कार्य ३ वर्षदेखि निरन्तर रुपमा चल्दै आइरहेको छ । ५० वर्ष पुगेर ७० वर्ष ननाघेका एकल पुरुषहरुले महिनाको १ हजार रुपैयाँका दरले भत्ता दिने गरिएको गाउँपालिकाले जनाएको छ ।

के गर्दैछ पालिका ?

गाउँपालिकामा धेरे युवालाई रोजगार दिनको लागि ठुलो उद्योग नभए पनि बेरोजगार युवालाई रोजगारी दिन गाउँपालिकाले प्रयास गरिरहेको अध्यक्ष बिरवहादुर चोप्चन बताउँछन् ।

षडानन्द नगरपालिका

प्रदेश १ को भोजपुर जिल्लामा यो नगरपालिका पर्छ ।

युवा रोजगार

नगरपालिकाले रोजगारी दिनका लागि भेटेरिनरी र कृषिमा तालिम खुलाएको छ । तालिमको लागि नगरपालिकाले कृषि भेटेरिनरीमा एक/एक करोड रुपैयाँ बजेटे विनियोजन गरेकोे छ । नगरपालिकाले १ हजार ४ सय जना युवालाई रोजगारी दिने योजना बनाएको छ ।

के गर्दैछ पालिका ?

नगरपालिकाका युवाहरुलाई कसरी धेरै रोजगारी दिन सकिन्छ भनेर योजना बनाईएकको मेयर वीरवल राई बताउछन् ।

खाँडादेवी गाउँपालिका

बागमती प्रदेश अन्तर्गत रामेछाप जिल्लामा यो गाउँपालिका पर्छ ।

युवा रोजगार

युवाका लागि गाउँपालिकामा धेरै तालिम तथा कार्यक्रमहरुको व्यवस्था रहेको छैन । युवाले कामको प्रोजेक्ट बनाएर ल्याउँछन् भने प्रोजेक्ट अनुसारको ऋण पनि उपलब्ध गराउने व्यवस्था रहेको छ ।

दुई लाख रुपैयाँसम्मको प्रोजेक्ट बनाएर आए भने बिना धितो ऋण दिने व्यवस्था रहेको छ । यहाँका धेरैसजो युवाहरु बाख्रा पालन, तरकारी खेती लगायतमा आबद्ध भएका छन् । गरिब परिवारमा भएका किसानलाई १ लाख रुपैयाँसम्म अनुदान दिने व्यवस्था छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा पनि १ करोड रुपैयाँ बजेट रहेको छ । युवाहरुलाई विकास निर्माणको काममा सहभागी गराइएको छ ।

के गर्दैछ पालिका ?

युवा स्वरोजगार कोषसँगको साझेदारीमा २ करोड रुपैयाँ बजेट बिनियोजन गरेको अध्यक्ष प्रेम वहादुर तामाङ्गले जानकारी दिए ।

अजिरकोट गाउँपालिका

गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यो गाउँपालिका पर्छ ।

युवा रोजगार

गाउँपालिकाका धेरैजसो युवाहरु कृषि पेशामा आवद्ध रहेका छन् भने केही युवाले पशुपालन, कुुखुरा पालन व्यवसाय गर्दै आएका छन् । गाउँपालिकाले व्यवसाय गर्ने युवालाई अनुदानको समेत व्यवस्था मिलाएको छ ।

के गर्दैछ पालिका ?

युवालाई लक्षित गर्दै १० लाख रुपैयाँ बजेट छुट्याएको र युवाले राम्रो प्रोजेक्ट ल्याएका वेला सुलभ दरमा ऋण पनि उपलब्ध गराउने व्यवस्था रहेको अध्यक्ष फणिन्द्र प्रसाद धिताल बताउँछन् ।

मनहरी गाउँपालिका

बागमती प्रदेश अन्तर्गत मकवानपुर जिल्लामा यो गाउँपालिका पर्छ ।

युवा रोजगार

युवा रोजगारको लागि गाउँपालिकामा लघु उद्यम कार्यक्रम सञ्चालन भएको छ । धेरै युवा कृषि पेशामा आबद्ध रहेका छन् । कृषि गरेका युवालाई गाउँपालिकाले अनुदानमा प्लास्टिक टनेल वितरण गर्ने गरेको छ ।

बेरोजगार युवालाई लक्षित गर्दै कृषि र पशुपालनका विभिन्न कार्यक्रम गाउँपालिकामा हुने गरेको छ । तालिम अनुसारको युवालाई उत्पादनमा जोड दिएर बजारीकरण गर्ने गरी यो बर्ष ५० जना दक्ष कृषक उत्पादन गर्ने पनि गाउँपालिकाले जनाएको छ ।

प्रदेश सरकारको तर्फबाट साना किसान विकास बैंक मार्फत ३ प्रतिशत व्याजदरमा गाउँकै कृषि सहकारी मार्फत १० लाख रुपैयाँसम्म ऋण पनि पाउँछन् । कृषि विकास बैंक मार्फत् २० लाख रुपैयाँसम्म उद्योग गर्नको लागि युवाले ऋण लिन सक्नेछन् ।

के गर्दैछ पालिका ?

गाउँपालिकाले युवालाई कृषिसँग जोडेको र युवा स्वारोजगारको लागि गाउँपालिकाको तर्फबाट ठुलो भूमिका खेलेको अध्यक्ष एकराज उप्रेती बताउँछन् ।

सभापोखरी गाउँपालिका

प्रदेश १ अन्तर्गत संखुवासभा जिल्लामा यो गाउँपालिका पर्छ ।

युवा रोजगार

गाउँपालिकामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम संचालनमा रहेको छ । गाउँपालिकाले युवालाई विकास निर्माणको काममा लगाएर रोजगारी दिने गरेको छ ।

के गर्दैछ पालिका ?

गाउँपालिकाले बेरोजगार युवालाई लक्षित गरि विभिन्न कार्यक्रमहरु ल्याएको छ । कृषि विकास र क्षमता विकास अन्तर्गत युवालाई बजेट छुट्याएको र युवाको क्षमता विकास गर्ने काम भइरहेको भन्दै उद्योगधन्दाको विकास गर्न नसकिएको अध्यक्ष रतन वहादुर सुब्बा बताउँछन् ।

नेत्रावती डबजोङ गाउँपालिका

बागमती प्रदेश अन्तर्गत धादिङ जिल्लामा यो गाउँपालिका पर्छ ।

युवा रोजगार

हातमा सीप भएका युवालाई सहकारीसँग समन्वय गरेर ऋणको व्यवस्था मिलाएको छ । कुनै युवाले केही गर्न चाहन्छु भनेर आएमा गाउँपालिकाले १ लाख रुपैयाँ र सहकारीबाट १ लाख गरी २ लाख रुपैयाँ ऋण पाउँनेछन् । गाउँपालिकाले अदक्ष कामदारको लागि श्रम बैंकको समेत व्यवस्था मिलाएका छ । गाउँपालिकाले श्रमदान मार्फत युवालाई रोजगारी दिदैँ आएको छ ।

यसअघि गाउँपालिकाले ग्रामीण कृषि कार्यकर्ता कार्यक्रम संचालन गरेको थियो । गाउँपालिकाले विभिन्न कार्यक्रमसँगै विकास निर्माणको काममा लगाएर रोजगारी प्रदान गर्दै आएको छ ।

बागमती प्रदेश सरकारले सहुलियत व्याजदरको कर्जाको व्यवस्था गरेको छ । उत्पादनमा काम गर्ने समुहलाई ३ प्रतिशत व्याजदरमा विना धितो ५ लाख रुपैयाँ र व्यक्तिका लागि धितो राखेर १० लाख रुपैयाँसम्मको ऋणको व्यवस्था गाउँपालिकाले मिलाएको छ ।

के गर्दैछ पालिका ?

बेरोजगार युवालाई लक्षित गर्दै गाउँपालिकाले विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको भन्दै स्वरोजगार बन्न चाहने युवाका लागि धेरै अवसर दिईएको अध्यक्ष दुर्गकुमार शाक्य बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.