गाउँपालिकामा ‘खाना नफालौं’ भन्ने अभियान सञ्चालन गरेका छौं- अध्यक्ष कुँवरसँगको कुराकानी

  २०७७ चैत ४ गते १८:१९     विकासन्युज

गण्डकी प्रदेश अन्तर्गत कास्की जिल्लामा पर्ने एउटा सुन्दर गाउँपालिका हो अन्नपूर्ण गाउँपालिका । यो गाउँपालिका ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिक रुपले फरक विशेषता बोक्न सफल छ भने कृषि उत्पादन तथा पर्यटकीय गन्तव्यको रूपमा पनि निक्कै चर्चित रहेको पाइन्छ ।

४ सय १७ दसमलव ७४ वर्ग किलोमिटरमा फैलिएको यो गाउँपालिकामा २३ हजार ५ सय ६५ जनाको बसोवास रहेको छ । गाउँपालिकाको सिमाना पूर्वतर्फ माछापुच्छ्रे गाउँपालिका, पश्चिममा म्याग्दी जिल्ला, उत्तरी सिमानामा मनंग तथा दक्षिणमा पर्वत र पोखरा-लेखनाथ महानगरपालिका रहेको छ । नौडाँडा, काँडे, नयाँ पुल, बिरेठाँटि र स्याउली बजार यस गाउँपालिकाको मुख्य बजार क्षेत्रका रुपमा रहेका छन् ।

गाउँपालिकाका ठुला योजना तथा परियोजनाहरू के-के छन्, जनप्रतिनिधि निर्वाचित हुनु अघि र निर्वाचित भइसकेपछि गाउँपालिकामा कस्ता खाले परिवर्तन आएका छन्, रोजगारी सृजना गर्नमा गाउँपालिकाले कस्तो भूमिका खेल्दै आइरहेको छ भन्ने लगायतका विषयमा सो गाउँपालिकाका अध्यक्ष युवराज कुँवरसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् । प्रस्तुत छ उक्त कुराकानीको अंश ।

कृषि क्षेत्रबाटै सुरु गरौं, गाउँपालिकाले कृषि विकासका लागि के-कसरी काम गर्दै आएको छ ?

कृषि विकासको लागि हामीले गाउँपालिकामा धेरै काम गर्दै आएका छौं । कृषिको लागि तरकारीको विउ ५० प्रतिशत अनुदानमा वितरण गर्ने कार्यक्रम रहेको छ । हामीले आलुको तथा बेमौसमी तरकारीको विउ पनि कृषकलाई वितरण गर्दै आएका छौं । कोदो संरक्षणका लागि पनि गाउँपालिकामा विशेष जोड दिएका छौं । राम्रो कोदो उत्पादन गर्ने कृषकलाई हामीले पुरस्कृत गर्ने गरेका छौं । सिँचाई सम्बन्धी काम पनि गरेका छौं । मासुजन्य उत्पादनमा हाम्रो गाउँपालिका आत्मनिर्भर बनेको छ । गाउँपालिकामा दूध सङ्कलन केन्द्र पनि रहेको छ ।

गाउँपालिकामा कति प्रतिशत नागरिकहरू कृषि पेशामा आवद्ध रहेका होलान् ?

यहाँका धेरैजसो नागरिकहरु कृषि पेशामा नै आवद्ध छन् । प्रतिशतमै भन्नुपर्दा करिब ७० प्रतिशत मानिसहरु कृषि पेशामा आवद्ध छन् भन्न सकिन्छ । गाउँपालिकाको आर्थिक वृद्धि गर्ने स्रोत कृषि नै हो ।

आफ्नो गाउँपालिका भित्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसार कसरी गरिरहनुभएको छ ?

हाम्रो गाउँपालिका आफैंमा एउटा पर्यटकीय क्षेत्र हो । मुख्य पर्यटकीय क्षेत्रमा अन्नपूर्ण शिविर, माछापुच्छ्रे शिविर, घोरेपानी, घान्द्रुक, पन्चासे, इशरु, हिँड्न ताल, नसिखर्क लगायतका रहेका छन् । हाम्रो गाउँपालिकामा अन्नपूर्ण हिमाल पनि रहेको छ ।

कोरोनाको समय पछि वाह्य पर्यटनको आकर्षण कमै रहेको छ । आन्तरिक पर्यटनको आकर्षण चाहिँ गाउँपालिकामा धेरै नै रहेको छ ।

गाउँपालिकामा कोरोनाले पुर्याएको असर तथा हाल त्यहाँको अवस्थाका वारेमा छोटकरीमा बताइदिनुस् न

विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसले हाम्रो गाउँपालिकामा पनि नराम्रो असर पुर्यायो । गाउँपालिकामा रहेका मानिसहरूलाई कोरोना नलागे पनि विदेश गएका नेपाली नागरिकलाई कोरोना सङक्रमण भएको थियो । गाउँपालिकामा मानवीय असर नपरे पनि आर्थिक उपार्जनमा ठुलो असर ग¥यो ।

कोरोना भाइरस विरुद्ध लड्नको लागि गाउँपालिकामा क्वारेन्टिन स्थापना गरेका थियौं । धेरै नागरिकहरु होम आइसोलेसनमा बसेका थिए । शिक्षाका साथै विकास निर्माणका कामहरू पनि त्यो वेला प्रभावित भएका थिए । अहिले भने गाउँपालिकाको अवस्था सामान्य भइसकेको छ । सर्वसाधारणहरू पनि त्रासरहित भएर आफ्नो काम गरिरहनुभएको छ ।

शैक्षिक विकासको लागि गाउँपालिकाले कसरी काम गर्दै आइरहेको छ ?

गाउँपालिकामा पहिलो प्राथमिकताका रुपमा शैक्षिक क्षेत्रलाई राखेका छौं । गाउँपालिकामा कम्प्युटर कक्षा सञ्चालन हुने गरेको छ । अन्नपुर्ण बहु प्राविधिक विद्यालयमा बाली विज्ञानको सुरुवात गरेका छौं । ४० जना विद्यार्थीहरु यो विद्यालयमा पढिरहेका छन् । नमुना मा.वि.को रूपमा माछापुच्छ्रे मा.वि. रहेको छ । अबको समयमा भौतिक सुधार भन्दा शैक्षिक सुधार गर्न आवश्यक रहेको छ । गाउँपालिका भित्र ५४ ओटा विद्यालयहरू रहेका छन् ।

गाउँपालिकामा स्वास्थ्य क्षेत्र विकासको लागि कसरी काम गर्दै आइरहनुभएको छ ?

स्वास्थ्य क्षेत्रको विकासका लागि पनि हामीले गाउँपालिकामा धेरै काम गर्दै आएका छौं । एक वडा एक स्वास्थ्य चौकी निर्माणको काम सकाएका छौं । १५ शैय्या बेडको अस्पताल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । सरकारले दिएको औषधीहरु गाउँपालिकाका नागरिकलाई निःशुल्क वितरण गर्ने गरेका छौं । ठुलो रोगको त उपचार गाउँपालिकामा हुन सक्दैन । गाउँपालिकामा रहेका सबै नागरिकहरुको पहुँच प्राथमिक स्वास्थ्य सेवासम्म पुगेको छ ।

गाउँपालिकामा रहेका ठुला योजना तथा परियोजनाहरू के-के हुन् नि ?

गाउँपालिकाको ठुलो योजनाको रुपमा खानेपानी योजना रहेको छ । १ करोड ६० लाख रुपैयाँ बजेटमा खानेपानीको काम अघि बढेको छ । ४ करोड ५० लाख रुपैयाँमा ठेक्का प्रकियाबाट सडक निर्माणको काम भइरहेको छ । सडक सञ्जालको काम गाउँपालिकामा धेरै नै रहेको छ ।

७ ओटा वडा कार्यालयको भवन निर्माण भइरहेको छ । गाउँपालिका भित्रका सबै वडा भवन निर्माण भइसकेपछि गाउँपालिकाको भवन निर्माण गर्ने योजना बनाएका छौं । हाम्रो गाउँपालिकामा ४ ओटा वडामा बिजुली पुगेको छैन । राष्ट्रिय प्रसारण लाइनको पनि काम भइरहेको छ । बिजुली पुग्न बाँकि रहेका वडामा पनि आउने असार भित्र बिजुली पुर्याउने लक्ष्य लिएका छौं । ७ कि.मि. सडकको ढलान गर्ने काम पनि गाउँपालिकामा सुरु भएको छ ।

अहिले सम्मको काम गराईबाट के कति सन्तुष्ट हुनुहुन्छ ?

विकास निर्माणको काम पूर्ण भइसकेको छैन । तर पनि हाम्रो सुरुवात राम्रो रहेको छ । १५ वर्ष भित्र गाउँपालिकालाई नेपालकै पर्यटकीय तथा कृषि क्षेत्रको मुख्य गन्तव्य बनाउनको लागि जनप्रतिनिधि तथा स्थानीय नागरिकहरु जुटिरहेका छौं ।

तपाईंको पालिकामा सबैभन्दा ठुलो उद्योग वा व्यापारिक कम्पनी कुन हो ?

हाम्रो गाउँपालिकामा ठुला उद्योग त छैनन् मात्र ढुङ्गा, गिट्टि लगायतका साना उद्योगहरु छन् । स्थानीय नागरिकले सञ्चालन गरेका साना तथा मझौला उद्योगहरु पनि छन् । पालिकामा बरु कृषि उद्योग धेरै संख्यामा रहेको छ । कृषकहरूले कुखुरापालन तथा भैँसीपालन लगायतका काम पनि गर्दै आएका छन् ।

सबैभन्दा धेरै कर तिर्ने कम्पनी चाहिँ कुन् हो नि ?

गाउँपालिकामा ठुलो उद्योगहरु नभइसकेपछि धेरै कर तिर्ने कम्पनी पनि हुने कुरै भएन । तरपनि निर्माण व्यवसायीहरुबाट भने सामान्य कर संङ्कलन हुने गरेको छ । गाउँपालिकामा हाल हाईड्रोपावरको निर्माण पनि भइरहेको छ ।

यस अवधिमा बजेट के कति खर्च भयो ? खर्चअनुसार उपलब्धि प्राप्त भएको छ कि छैन होला ?

दुई चौमासिक सकिसकेको छ । दुई चौमासिकको खर्चमा हामी सन्तुष्ट नै रहेका छौं ।

गाउँपालिकाले युवाहरुलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ?

गाउँपालिकामा रोजगारीका लागि विभिन्न कार्यक्रमहरु राखेका छौं । ‘मेड्पा रोजगारी’ कार्यक्रम सञ्चालन गरेका छौं । यहाँका धेरै युवाहरु कृषि पेशामा आवद्ध भएर स्वरोजगार पनि बनेका छन् । केही युवालाई विकास निर्माणको काममा पनि लगाउँदै आएका छौं । युवाहरुले स-साना कृषि उद्योग पनि स्थापना गरेका छन् । युवाहरुको क्षमता वृद्धि गर्नको लागि पनि हामीले गाउँपालिकामा विभिन्न तालिमको व्यवस्था मिलाएका छौं । प्रधानमन्त्रि स्वरोजगार कार्यक्रम पनि गाउँपालिकामा रहेको छ ।

स्थानीय तहमा काम गर्दा के कस्ता समस्या आईपर्ने गरेको छ ?

स्थानीय तहमा काम गर्दा विभिन्न किसिमका समस्याहरु आइपर्छन् । सडक निर्माण गर्न लाग्दा जग्गाको समस्या, खानेपानीमा पानीको मुहानको समस्याहरु देखा पर्ने गरेका छन् । तरपनि हामी यी समस्याको समाधान गरेर मात्र अघि बढिरहेका छौं ।

प्रदेश तथा केन्द्र सरकारसँग कस्तो समन्वय भइरहेको छ ?

हाम्रो समन्वय राम्रै गरी भइरहेको छ । समपुरक बजेट पनि प्रदेश र केन्द्रबाट आउने गरेको छ । गाउँपालिकाको विकास निर्माणको कामहरु पनि प्रदेश र केन्द्र सरकार बाटै आएको बजेटमा गर्ने हो ।

गाउँपालिकामा हाल कस्ता किसिमका योजनाहरुलाई प्रथमिकतामा राख्नुभएको छ ?

उत्पादन, पर्यटन पदमार्ग, खानेपानी, शिक्षा, सडक आदिलाई हामीले गाउँपालिकामा प्रथामिकतामा राखेका छौं ।

अब तपाईंको बाँकी रहको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने योजना छ ?

यो कार्यकालमै त गाउँपालिकामा धेरै काम गर्न सकिँदैन । नेपाल सरकारबाट आएको बजेट प्रत्यक्ष जनताको माझमा लैजाने हो । गाउँपालिकामा ‘खाना नफालौं’ भन्ने अभियान सञ्चालन गरेका छौं । यसका साथै स्वास्थ्य, शिक्षा लगायतलाई पनि उत्कृष्ट बनाउने योजना छ । कृषिलाई आधुनिकिकरण गर्ने योजना पनि बनाएको छु । यसका साथै पूर्वाधार विकासको काममा पनि कम्मर कस्नेछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.