बागमतीका स्थानीय तहमध्ये उत्कृष्ट स्वास्थ्यसेवा दिनेमा हाम्रै गाउँपालिका परेको छः अध्यक्ष सिंतान

  २०७७ चैत २ गते १७:४२     विकासन्युज

कोन्ज्योसोम गाउँपालिका प्रदेश नं ३ अन्तर्गतको ललितपुर जिल्लामा पर्ने एउटा सुन्दर एवं रमणीय गाउँपालिका हो । यो गाउँपालिका कृषि उत्पादन तथा पर्यटकीय गन्तव्यको रूपमा निक्कै चर्चित छ । ५ ओटा वडा रहेको यो गाउँपालिका ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिकरुपले फरक विशेषता बोकेको पाइन्छ । गाउँपालिकाका ठुला योजना तथा परियोजनाहरू के-के छन्, जनप्रतिनिधि निर्वाचित हुनु अघि र निर्वाचित भइसकेपछि गाउँपालिकामा कस्ता खाले परिवर्तन आएका छन्, रोजगारी सृजना गर्नमा गाउँपालिकाले कस्तो भूमिका खेल्दै आइरहेको छ भन्ने लगायतका विषयमा सो गाउँपालिकाका अध्यक्ष गोपीलाल सिंतानसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् । प्रस्तुत छ उक्त कुराकानीको अंश ।


सर्वप्रथम कृषि क्षेत्रबाटै सुरु गरौं, गाउँपालिकाले कृषि विकासका लागि के-कसरी काम गरिरहेकाे छ ?

हामीले गाउँपालिकामा कृषि विकासको लागि धेरै काम गर्दै आइरहेका छौं । यहाँ मुख्य पेशाको रुपमा कृषि नै रहेको छ । हामीले कृषिका ब्लक कार्यक्रमहरू पनि राखेका छौं । पालिकाको माटो परीक्षण गरेका छौं । उत्पादन हुने अनुसारको वडामा तरकारी फलफुलको विउहरु लागाईएको छ । गाउँपालिकामा पकेट क्षेत्र पनि छुटाएका छौं ।

तरकारी तथा फलफुका विउ ५० प्रतिशत अनुदानमा वितरण गर्दै आई रहेको छौं । कृषि औजार र हाते ट्रयाक्टर पनि अनुदानको रूपमा वितरण गर्दै आएका छौं । यो वर्षमा ब्लक अनुसार तरकारी खेती गर्ने लाई पनि अनुदानको व्यवस्था मिलाएका छौं । काउली, गोलभेडा खेती गर्ने कृषकलाई गाउँपालिकाले प्लास्टिक टनेलहरू ५० प्रतिशत अनुदानमा दिने गरेको छ । निर्वाहमुखी कृषि प्रणालीलाई व्यावसायिक बनाउनु पर्छ भनेर भनिरहेका छौं । पशुपालनका कार्यक्रमहरू पनि अगाडि सारेका छौं । आधुनिक कृषि प्रणालीलाई पनि विशेष जोड दिएका छौं । हाम्रो गाउँपालिकाबाट दैनिक ४ ट्रक तरकारी काठमाडौंमा जाने गर्छ । गाउँपालिकामा धेरै दुध पनि उत्पादन हुने पनि गरेको छ ।

गाउँपालिकामा कति प्रतिशत नागरिकहरू कृषि पेशामा आवद्ध रहेका छन् ?

कोन्ज्योसोम गाउँपालिकामा बढी ग्रामिण क्षेत्रको रुपमा रहेको हुनाले धेरैजसो नागरिकहरु कृषि पेशामा नै आवद्ध छन् । प्रतिशतमै भन्नुपर्दा करिव ९० प्रतिशत भन्दाबढि मानिसहरु कृषि पेशामा आबद्ध छन् भन्न सकिन्छ ।

गाउँपालिकामा कोरोनाले पुर्याएको असर तथा हाल त्यहाँको अवस्थाका वारेमा पनि छोटकरीमा बताइदिनुस् न । 

विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसले हाम्रो गाउँपालिकामा पनि नराम्रो असर पुर्यायो । कोरोनाको समयमा गाउँपालिकाका नागरिक त्रसित भएका थिए । कोरोनाको समयमा नागरिकलाई धेरै नै सचेत बनायौं । गाउँपालिकामा हामीले क्वारेन्टिन निर्माण पनि गरेका थियौं । शिक्षाका साथै विकास निर्माणका कामहरू पनि त्यो वेला प्रभावित भएको थियो । अहिले भने गाउँपालिकाको अवस्था सामान्य भइसकेको छ । सर्वसाधारणहरू पनि त्रासरहित भएर आफ्नो काम गरिरहनुभएको छ ।

खेलकुद विकासको लागि गाउँपालिकाले के–कसरी अनि कस्ता योजनाहरू बनाएको छ ?

विद्यालयस्तरको खेलकुद प्रतियोगिता गाउँपालिकामा हुने गरेको छ । खेलकुद विकासको लागि हामीले केही बजेट पनि छुट्याउँदै आएका छौं । धेरै युवाहरू खेलकुदमा उत्सुक छन् । हाम्रो गाउँपालिकामा वडास्तरीय खेलकुद प्रतियोगिता पनि हुने गरेको छ । बक्सीङ्ग, भलिवल, टेबल टेनिस, कराँते, फुटबल लगायतका खेलहरू बेलाबेलामा गाउँपालिकामा आयोजना गर्दै आएका छौं ।

शैक्षिक विकासको लागि गाउँपालिकाले कसरी काम गर्दै आइरहेको छ नि ?

सरकारले बनाएको मापदण्ड अनुसार हामीले शैक्षिक क्षेत्रलाई पनि अगाडि बढाई रहेका छौं । हाम्रो गाउँपालिकामा १७ ओटा विद्यालयहरु रहेका छन् । विद्यालय भवन निर्माण भएका छन् । गुणस्तरीय शिक्षामा हामीले विशेष जोड दिएका छौं ।

गाउँपालिकामा स्वास्थ्य क्षेत्र विकासको लागि कसरी काम गर्दै आइरहनुभएको छ ?

गाउँपालिकाको सबै वडामा स्वास्थ्य चौकी रहेका छन् । १५ सय बेडको अस्पताल निर्माण गर्ने अवधारणा पनि अगाडि सारेका छौं । संघिय सरकारको अनुदान र प्रदेश सरकारको अनुदानमध्ये आएको बजेट मात्र नभएर हामीले एकमुस्ट ६० लाख रुपैयाँ बराबरको बजेट पनि छुट्याएका छौं । कोभिड अस्पताललाई पनि हामीले निरन्तरता दिइरहेका छौं । बागमती प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गत आयुर्वेदिक अस्पतालबाट पनि सेवा निरन्तर दिइरहेका छौं । बागमती प्रदेशका स्थानीय तहहरुमध्ये उत्कृष्ट स्वास्थ्यसेवा दिनेमा हाम्रै गाउँपालिका परेको छ । प्राथमिक स्वास्थ्य सेवासम्म गाउँपालिकाको सबै नागरिकहरुको पहुँच पुगेको छ । स्वास्थ्य सम्बन्धि ल्याबको पनि स्थापना गरेका छौं ।

गाउँपालिकामा रहेका ठुला योजना तथा परियोजनाहरू के–के हुन् नि ?

पूर्वाधारका योजनाहरु ९० प्रतिशत सम्पन्न भइसकेका छन् । गाउँपालिकामा बनेका योजनाहरुको भुक्तानी वैशाख अन्तिमसम्म दिइसक्छौं । गाउँपालिकामा सडक निर्माणको कामहरु धेरै रहेका छन् । गाउँपालिकाको भवन निर्माण भइरहेको छ । ४ करोड ५० लाख रुपैयाँ बराबरको बजेटमा गाउँपालिकाको भवन निर्माण भइसक्न लागेको छ । विद्यालय तथा स्वास्थ्य भवनहरुको निर्माण भएका छन् । खानेपानीको योजना पनि गाउँपालिकामा रहेको छ । गौरवका योजनाहरूलाई पनि हामीले प्राथमिकतामा राखेका छौं । २ करोड रुपैयाँको बजेटमा डीपीआर गरेर भ्यु टावर निर्माण भइरहेको छ ।

तपाईंको पालिकामा सबैभन्दा ठुलो उद्योग वा व्यापारिक कम्पनी कुन हो ?

हाम्रो गाउँपालिकामा ठुला उद्योग त छैनन् मात्र ढुङ्गा, गिट्टि लगायतका साना उद्योगहरु छन् । स्थानीय नागरिकले सञ्चालन गरेका साना तथा मझौला उद्योगहरु पनि छन् । पलिकामा बरु कृषि उद्योग धेरै संख्यामा रहेको छ । कृषकहरूले कुखुरापालन तथा भैँसीपालन लगायतका काम पनि गर्दै आएका छन् ।

सबैभन्दा धेरै कर तिर्ने कम्पनी चाहिँ कुन् हो नि ?

गाउँपालिकामा ठुलो उद्योगहरु नभइसकेपछि धेरै कर तिर्ने कम्पनी पनि हुने कुरै भएन । तरपनि निर्माण व्यवसायहरुबाट भने सामान्य कर संङ्कलन हुने गरेको छ ।

तपाईं निर्वाचित हुनुभन्दा अघि र निर्वाचित भइसकेपछि गाउँपालिकामा आएको परिवर्तन बारे केही बताईदिनुस् न

पहिलाको तुलनामा त अहिले व्यापक परिवर्तन आएको छ । देखिने खालका कामहरु पनि धेरै भएका छन् । अहिले गाउँपालिका भित्र सडकको विकास भएको छ । खानेपानीको व्यवस्था हुन थालेको छ । गाउँपालिका भित्रका केही सडकहरु पिच पनि भइसकेका छन् । सबै वडामा प्राथमिक स्वास्थ्य केन्द्रको स्थापना भएको छ । पर्यटन विकासको लागि पनि हामीले जोड दिएका छौं । विद्यालयको भवन निर्माण भएका छन् भने गुणस्तरीय शिक्षाका लागि पनि हामीले विशेष ध्यान दिइरहेका छौं । विकास निर्माणको काम अगाडि बढिरहेको छ ।

गाउँपालिकामा विकास निर्माणको कामहरू कत्तिको प्रभावकारी भएका छन् ?

विकास निर्माणको कामहरू प्रभावकारी र जवाफदेही नै छन् । हामीले आशा गरेअनुसार विकास निर्माणको काम भइरहेको हुनाले हामी खुसी छौं । गाउँपालिकाको सबै वडामा विद्युत् पनि पुगिसकेको छ ।

स्थानीय तह र प्रदेश सरकार बिचको समन्वय कसरी गरिरहनु भएको छ ?

प्रदेश सरकारसँग संविधानले व्यवस्था गरेअनुसारको समन्वय भएको छैन । प्रदेश सरकार आफ्नै कार्यशैलीमा अगाडि बढिरहेको छ । स्थानीय सरकारको कुरा बुझ्ने नीति कार्यक्रम पनि ल्याएको छैन ।

केन्द्र सरकारबाट कत्तिको सहयोग मिलेको छ नि ?

गाउँपालिकाको आन्तरिक आय धेरै छैन । केन्द्र सरकारको सहयोगमा नै हामीले गाउँपालिकाको विकास निर्माणका कामहरू गर्नुपर्ने हुन्छ । समपुरक बजेट केन्द्र सरकारबाट आउने गरेको छ ।

गाउँपालिकाले युवाहरुलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ?

गाउँपालिकामा रोजगारीका लागि विभिन्न कार्यक्रमहरु राखेका छौं । जनतासँग ‘अध्यक्ष रोजगारी’ कार्यक्रम सञ्चालन गरेका छौं । यहाँका धेरै युवाहरु कृषि पेशामा आबद्ध भएर स्वरोजगार पनि बनेका छन् । केही युवालाई विकास निर्माणको काममा पनि लगाउँदै आएका छौं । युवाहरुले स–साना कृषि उद्योग पनि स्थापना गरेका छन् ।

गाउँपालिकामा नागरिकहरू प्रायः कस्ता समस्या लिएर आउने गरेका छन् ?

धेरैजसो त पूर्वाधार विकास, खानेपानी, सडक आदिको समस्या लिएर आउने गरेका छन् । कोही भने शिक्षा क्षेत्रका समस्या लिएर आउँछन् भने कोही चाहीँ विकास निर्माणको समस्या लिएर आउँछन् । तरपनि त्यस्ता समस्याहरूलाई समाधान गरेर मात्र हामी अगाडि बढ्ने गरेका छौं ।

तपाईंले चाहेर पनि गर्न नसकेका विकास निर्माणका कामहरू के के होलान् नि ?

ठुला आयोजनहरू हामीले चाहेर पनि गर्न सकेका छैनौं । एउटा जिल्लाबाट अर्को जिल्लासम्म पुग्ने सडकहरूको विकास गर्न सकिएको छैन । कम्तीमा एउटा सडकलाई पिच गर्न पाए हुन्थ्यो जस्तो लाग्छ । सडक सबै ठाउँमा पुर्याइयो तर त्यसको उचित व्यवस्थापन गर्न भने समस्या भएको छ ।

आफ्नो गाउँपालिका भित्रका पर्यटकिय क्षेत्रको प्रचारप्रसार कसरी गरिरहनु भएको छ ?

हामीले गाउँपालिका भित्रका पर्यटनकीय क्षेत्रको प्रचारप्रसार गरिरहेकै छौं । गाउँपालिकामा पर्यटन पूर्वधारको पनि विकास गरेका छौं । पर्यटन सम्बन्धी व्यवसायमा पनि हामीले जोड दिएका छौं । पर्यटनस्थलको रूपमा पाथीभरा मन्दिर, मनकामना मन्दिरलगायतका स्थानहरु छन् ।

अब तपाईंको बाँकी रहको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने योजना छ ?

पहिलो कुरा त यो हो कि सभ्य समाजको निर्माण गर्ने परिकल्पना छ । सबै नागरिकलाई शिक्षाको पहुँचबाट टाढा हुन नदिने, सकारात्मक सोचको विकास गर्ने तथा एउटाले बनाउने अर्कोले भत्काउने जुन खाल्को प्रवृत्ती छ त्यसको अन्त्य गर्ने । यसका साथै स्वास्थ्य, शिक्षा लगायतलाई पनि राम्रो बनाउने योजना छ । कृषिलाई आधुनिकिकरण गर्ने योजना पनि बनाएको छु । यसका साथै पूर्वाधार विकासको काममा पनि कम्मर कस्नेछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.