सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय समिति नबनेसम्म सदन चल्न दिँदैनौं : गगन थापा

  २०८१ वैशाख २८ गते १८:०५     विकासन्युज

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानको सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय समिति नबनेसम्म संसद बैठक चल्न नदिने चेतावनी दिएका छन् ।

संसद बैठक चल्न नदिने कुरामा आफू नभई सरकार र यसको कामकारबाही जिम्मेवार रहेको उनको जिकिर थियो । शुक्रबार प्रतिनिधि सभा बैठकको शुभारम्भमा बोल्दै महामन्त्री थापाले काँग्रेसले लगाएको आरोप गलत सावित गर्न उपप्रधानमन्त्री लामिछानेको सहकारी ठगी प्रकरण छानविन गर्न संसदीय समिति बनाउनुपर्ने आफूहरुको मागलाई इन्कार गरेर सरकार र प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पनि आफूहरुलाई हेप्न खोजेको भन्दै आपत्ति पनि जनाए ।

उनले उपप्रधानमन्त्री लामिछानेले सहकारी ठगी गरेको प्रमाण रुपेन्द्रेही प्रहरीले त्यहाँको जिल्ला अदालतमा बुझाएको अनुसन्धान प्रतिवेदनमा स्पष्ट उल्लेख गरिएको दाबी समेत गरे । उनले सरकार र सत्तारुढ दलहरुकै नेतृत्वमा छानविन समिति बनाउने भएकाले त्यसमा डराउनुपर्ने कुनै कारण नभएको पनि बताए ।

‘नेपाली काँग्रेस सदन चल्नुपर्छ भन्ने कुरा गम्भिर छ । हाम्रो जम्मा एउटा कुरा थियो । यो संसदले छानविन समिति बनाउँदै गर्दा यो छानविन समितिमा नेकपा एमाले बस्ने होला, माओवादी बस्ने होला । रास्वपा बस्ने होला । सरकारकै कारणले गर्दा यो अप्ठयारो सृजना भएको हो । अब संसदको कुनै पनि काम कारबाही अगाडि बढ्ने कुरामा नेपाली काँग्रेसका साथ रहँदैन । जबसम्म संसदीय छानविन समित बन्दैन, उनले भने ।

महामन्त्री थापाले सो प्रकरण ढाकछोपका लागि सरकारले महान्यायाधिवक्ताको कार्यालयको समेत दुरुपयोग गरेको आरोप लगाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.