ललितपुर महानगरपालिकामा ३ सय ६५ भन्दा बढि महिला समुहको गठन गरेका छौं – उपप्रमुख गीता सत्याल

  २०७७ फागुन २४ गते १९:२०     विकासन्युज

नेपालको बागमती प्रदेश अन्तर्गत ललितपुर जिल्लामा पर्ने ‘ललितपुर महानगरपालिका’ काठमाडौं उपत्यकाको प्रसिद्ध तीन शहरहरु मध्ये सवैभन्दा पुरानो शहर मानिन्छ । यो शहरलाई प्राचिन कालदेखि हालसम्म समय अनुसार विभिन्न नामले पनि चिनिँदै आएको छ ।

हालसम्म यस क्षेत्रमा २४ ओटा लिच्छविकालिन शिलापत्रहरु पाइएका छन् । आजसम्म प्राप्त शिलालेखहरुमध्ये पहिलो अभिलेख स्वथ टोलको संवत् ४११ को अभिलेखलाई लिइन्छ ।

आज परेको अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा महिलालाई स्वारोजगार बन्नका लागि के–कस्ता कार्यक्रमहरु ल्याईएका छन्, महानगरपालिकाका महिलाहरु कुन क्षेत्र अथवा व्यापार व्यवसायमा आकर्षित हुने गरेका छन् भन्नेलगायतका विषयमा केन्द्रीत हुँदै सो महानगरपालिकाकी उप–प्रमुख गीता सत्यालसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् । प्रस्तुुत छ उक्त कुराकानीको अंश ।

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा महिलालाई स्वारोजगार तथा आत्मनिर्भर बन्नको लागि के कस्ता कार्यक्रमहरु ल्याईएका छन् ?

हामिले अघिपछिको भन्दा अलिकती फरक किसिमले नारी दिवस मनाउने योजना बनाएका छौं । उद्यमी महिलाले उत्पादन गरेका सामाग्रीहरु बिक्री वितरण गर्ने र प्रदर्शन कक्षसमेत राख्ने योजना छ ।

महानगरपालिकाका महिला दिदीबहिनीहरु कुन क्षेत्र तथा व्यापार व्यावसायमा आकर्षित हुने गरेका छन् ?

२०११ को जनगणना अनुसार महानगरपालिकामा २ लाख ८४ हजार ९ सय २२ जना जनसंख्या भएकोमा १ सय ९४ जना महिलाहरु व्यवसाय गरी रहेका छन् । हस्तकला, सिलाईबुनाईजस्ता विभिन्न व्यावसायहरु महिलाहरुले रोज्ने गरेको पाइएको छ । यस्ता व्यवसाय गर्ने महिलालाई प्रवद्र्धन गर्ने, जनसंख्याको आधारमा त यो न्युन हो तर पनि यसले महिलाहरु पनि केहि गरेर देखाउन सक्छन् भन्ने कुराको सन्देश दिएको छ ।

महिला हस्तकलामा महिलाहरुको कस्तो सहभागिता रहेको छ ?

महिला हस्तकलामा महिलाको सहभागिता एकदमै राम्रो रहेको छ । अहिले हामीले ललितपुर महानगरपालिका, नेपाल हस्तकला महासंघको संयुक्त प्रयास बाट फागुनको २२ गते देखि २५ गतेसम्म ललितपुर महानगरपालिकाको प्राङ्गणमा प्रदर्शन कक्ष पनि राखेका छौं । जहाँ महिलाद्वारा तयार पारिएका सामाग्रीलाई प्रर्दशन गर्ने तथा बजार प्रर्वधन गर्ने काम हामीले गरिरहेका छौं ।

घरेलु तथा साना उद्योगमा १ सय ९४ जना महिलाहरुको सहभागिता रहेको छ । घरेलु उद्योगनै दर्ता नगरेका महिलाहरु पनि हुनुहुन्छ होला त्यसको पनि हामीले खोजि गरिरहेका छौं । घरेलु उद्योग तथा साना व्यावसायमा पनि महिलाहरुले काम गरिरहनु भएको छ तर जति पनि तथ्याङ्क आउनुपर्ने हो त्यो तथ्याङ्क प्राप्त गर्न सकिरहेका छैनौं । साना उद्योगमा संघ तथा जिल्लासँग बसेर हामीले कति महिला व्यावसाय हुनुहुँदोरहेछ भनेर खोज्ने कामको थालनी पनि गरेका छौं ।

महिला उद्योगबाट महिलाले कत्तिको आम्दानी गरेका छन् ?

महिला उद्योगबाट महिला उद्यमीहरुले आफू तथा आफ्नो परिवारको जिविकोपार्जन गर्नका लागि पुग्ने आम्दानी गरिरहनुभएको छ ।

पुराना सांस्कृतिक संरचनाहरु संरक्षणको लागि महानगरपालिकाले कस्तो पहल गरिरहेको छ ?

महानगरपालिकाले पुराना सांस्कृतिक संरचना हिजो जेजस्तो अवस्थामा थियो आज पनि त्यही अवस्थामा लैजाने प्रयास गरिरहेको छ ।

महानगरपालिकाले गर्ने हरेक कार्यक्रममा महिलाको सहभागिता कस्तो रहेको छ ?

महानगरपालिकाले गर्ने कार्यक्रमहरुमा महिलाको सहभागिता राम्रो हुने गरेको छ । ललितपुर महानगरपालिकामा हामीले ३ सय ६५ भन्दा बढि महिला समुहको गठन गरेका छौं । महानगरपालिकाको २९ ओटा वडामा तथा हरेक टोल–टोलमा महिला समुहको गठन गरेका छौं । समुहको आवश्यकता अनुसारको सिपमुलक तालिम तथा कार्यक्रमहरु गरेर महिला सशक्तिकरणमा ललितपुर महानगरपालिकाले राम्रो भुमिका खेलिरहेको छ ।

तपाईं महानगरपालिकाको उप–प्रमुखको रुपमा कार्यरत हुनुहुन्छ, महानगरपालिकामा काम गर्दा के कस्ता समस्या र चुनौतीहरु आई परेका छन् ?

काम गर्दा समस्या र चुनौती त आईपरी नै हाल्छ । चुनौती आईपर्यो भने पनि त्यसको समाधान गरेर मात्र हामी अगाडि बढि रहेका छौं ।

महिला र पुरुषको के–कस्तो गुनासोहरु महानगरपालिकामा धेरै आउने गरेको छ ?

उहाँहरुको आ–आफनै किसिमका गुनासो आउने गरेको छ । व्यक्ति अनुसारको समस्या हुन्छ र त्यही समस्या अनुसारकै गुनासो पनि आउने गरेको छ । तरपनि सकेसम्म हामी समस्याको समाधान गरिनै रहेका हुन्छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.