क्यान्सर, मुटु तथा मिर्गौला रोगीहरुलाई गाउँपालिकाले आर्थिक सहयोग प्रदान गर्दै आएको छ – अध्यक्ष आचार्यसँगको कुराकानी

  २०७७ फागुन १७ गते २०:१५     विकासन्युज

बागमती प्रदेश अन्तर्गतको धादिङ जिल्लामा पर्ने एउटा सुन्दर एवं रमणीय गाउँपालिका हो ‘थाक्रे गाउँपालिका’ । ९६ दसमलव ४१ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएर रहेको यो गाउँपालिका कृषि उत्पादन तथा पर्यटकीय गन्तव्यको रुपमा चर्चित त छ नै साथै ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिक रुपले पनि फरक विशेषता बोक्न सफल मानिन्छ ।

स्थानिय तह पुर्न संरचना हुँदा धादिङ जिल्लाको साविक केवलपुर, थाक्रे, तसर्पु, भूमेस्थान र गोगनपानिका वडा नं. ५, ६, ७ र ८ मिलाएर थाक्रे गाउँपालिका निर्माण भएको छ भने हाल यस गाउँपालिकामा ११ वटा वडाहरु रहेका छन् । यस गाउँपालिकाको पूर्वी सिमानामा धुनिबेशी नगरपालिका, पश्चिममा गल्छी गाउँपालिका, उत्तरमा गल्छी गाउँपालिकाका साथै नुवाकोट जिल्ला र त्यसैगरी दक्षिणमा भने मकवानपुर जिल्ला रहेको छ । काठमाडांैबाट यो गाउँपालिका साढे ३२ किलोमिटरको दूरीमा रहेको छ । राष्ट्रिय जनगणना अनुसार यस गाउँपालिकाको जनसंख्या ३२ हजार ९ सय १४ रहेको छ ।

गाउँपालिकाका ठुला योजना तथा परियोजनाहरु के के छन् ? जनप्रतिनिधि निर्वाचित हुनु अघि र निर्वाचित भैसकेपछि गाउँपालिकामा कस्ता खाले परिवर्तन आएका छन्, रोजगारी सृजना गर्नमा गाउँपालिकाले कस्तो भूमिका खेलिरहेको छ भन्नेलगायतका विषयमा सो गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् । प्रस्तुुत छ उक्त कुराकानीको अंश ।

सर्वप्रथम कृषि क्षेत्रबाटै सुरु गरौं, तपाईंको गाउँपालिकाले कृषिको विकास तर्फ के–कसरी काम गर्दै आएको छ ?

हामीले गाउँपालिकामा कृषि विकासको लागि धेरै काम गर्दै आइरहेका छौं । कृषि विकासको लागि नै भनेर विउ अनुदानको कार्यक्रम राखेका छौं । गाउँपालिकामा गाई पकेट क्षेत्र पनि छुट्याएका छौं । वडा नं. ७ र १० लाई बाख्राको खोर सुधार पकेट क्षेत्रका रुपमा छुट्याएका छौं । वडा नं. ६, ९, ११ र ८ लाई तरकारी पकेट क्षेत्रका रुपमा छुट्याएका छौं भने वडा नं. ४ र ५ लाई चाहिँ मसलाबाली र कागती पकेट क्षेत्र भनी छुट्याएका छौं । त्यसैगरी वडा नं. ३ लाई हामीले फलफुल पकेट क्षेत्रको रुपमा छुट्याएका छौं ।

विरुवा वितरणको कार्यक्रम पनि राखेका छौं । हामीले कृषकको लागि अनुदानमा गाई, बोयर जातिका बाख्रा तथा तरकारीका बिउहरु दिने गरेका छौं । यतिमात्र होइन कृषकहरुलाई हामीले हाते ट्रयाक्टर तथा कृषि औजारका सामान पनि वितरण गर्र्दै आइरहेका छौं । गाउँपालिकामा सिँचाईंको पनि कार्यक्रम रहेको छ । सिँचाईको लागि ट्याङ्की निर्माण पनि भइरहेको छ । प्राकृतिक पोखरी निर्माण पनि गरेका छौं । सो पोखरीले गाउँपालिकाको सुन्दरता थप्ने काम गरेको छ ।

गाउँपालिकामा कति प्रतिशत नागरिकहरु कृषि पेशामा आवद्ध रहेका होलान् ?

थाक्रे गाउँपालिका एउटा ग्रामीण क्षेत्रका रुपमा रहेको हुनाले यहाँका धेरैजसो नागरीकहरु कृषि पेशामा नै आवद्ध छन् भन्न सकिन्छ । प्रतिशतमै भन्नुपर्दा त करीब ६० प्रतिशत भन्दाबढि मानिसहरु सो पेशामा आबद्ध छन् भन्दा फरक पर्दैन ।

गाउँपालिकाका ठुला योजना तथा परियोजनाहरु के–के होलान् नि ?

गौरवको आयोजनाको रुपमा रानिघर क्यनानुङ भन्ने योजना रहेको छ । यस ठाउँमा टे«निङ्ग सेन्टरको पनि निर्माण भइरहेको छ । थाक्रेको ९ नं. सेरापाखा भन्ने ठाउँमा नेपालको सबैभन्दा अग्लो ४० फिट उचाइ भएको सरस्वतीको मुर्ती बनिरहेको छ । ९३ लाख रुपैयाँको लागतमा यो मुर्तीको निर्माण भइरहेको छ । लेखमा शिवजीले ध्यान गर्दै गरेको मुर्ती बनाउने योजना बनाएका छौं । यस ठाउँभन्दा ५ सय मिटर तलसम्म हामीले सडक पनि पुर्याइसकेका छौं । खानेपानीका योजनाहरु पनि बनाएका छौं । सडक निर्माणका लागि हामीले धेरै बजेट विनियोजन गरेका छौं । भौतिक निर्माण र पुर्वाधारको विकासमा पनि हामीले जोड दिएका छौं ।

स्वास्थ्य क्षेत्रको विकासका लागि के कसरी काम गर्दै आइरहनुभएको छ ?

हाम्रो गाउँपालिकामा ५ ओटा स्वास्थ्य चौकी छन् । बाँकी रहेका वडामा ६ ओटा आधारभुत स्वास्थ्य केन्द्र रहेका छन् । स्वास्थ्य चौकीमा आवश्यकता अनुसारकै स्वास्थ्यकर्मीहरु छन् । राज्यले दिने निःशुल्क औषधी बाहेक हामीले मानशिक रोगिहरुका लागि निःशुल्क रुपमै औषधी दिने व्यवस्था मिलाएका छौं । क्यान्सर, मुटु तथा मिर्गौला रोगीहरुलाई १ लाख रुपैयाँसम्म केन्द्र सरकारबाट सहयोग हुन्छ भने यसका अलावा गाउँपालिकाको तर्फबाट पनि १ं० देखि १५ हजार रुपैयाँसम्म आर्थिक सहयोग प्रदान गर्दै आएका छौं । १५ सय बेडको अस्पताल शिलान्यास गरेका छौं । यिनै तथ्यहरुबाट नै थाहा हुन्छ की हामीले स्वास्थ्य क्षेत्रतर्फ उल्लेखनीय काम गरेका छौं भनेर ।

शैक्षिक विकासका लागि गाउँपालिकाले के कस्ता काम गर्दै आईरहेको छ ?

हामीले सवैभन्दा उत्कृष्ट काम नै शैक्षिक क्षेत्रमा गरेका छौं । हामी निर्वाचित भएर आइसकेपछि शिक्षा क्षेत्रको उन्नतीका लागि भन्दै १ करोड रुपैयाँ अनुदान दिने निर्णय ग¥यौं । गत वर्ष हामीले ९३ ओटा दरबन्दी खुलाएका थियौं । आधारभुत पढाउने शिक्षकलाई १३ हजार ४ सय रुपैयाँ, निमावी विद्यालय पढाउने शिक्षकलाई १४ हजार ५ सय रुपैयाँ, मा. वि पढाउने शिक्षकलाई २५ हजार रुपैयाँ तलबको व्यवस्था गरेका छौं ।

२ ओटा बाहेक अरु सवै विद्यालयहरुमा भूकम्प प्रतिरोधी भवनको निर्माण गरेका छौं । विद्यालयमा लाइबे्ररी सञ्चालन भएको छ भने गुणस्तरीय शिक्षा र प्राविधिक ज्ञान कसरी विद्ययार्थीलाई दिन सकिन्छ भन्नेतर्फ प्रयासरत छौं । ‘एक विद्यालय एक प्राविधिक’ भन्ने नारालाई मध्यनजर गर्दै अघि बढेका छौं ।

कक्षा ११ र १२ मा परीक्षा शुल्क नलाग्ने व्यवस्था मिलाएका छौं । भर्ना र परीक्षाको नाममा कुनैपनि किसिमको शुल्क लिन नपाइने भन्दै विद्यार्थीहरुका लागि कापी, कलम लगायतको व्यवस्था पनि बरु गाउँपालिकाले नै गरिदिएको छ । हामी यसपाली महाकाली वहुमुखी क्याम्पसमा विद्यार्थीहरुलाई निःशुल्क रुपमै भर्ना गर्ने अभियान चलाएका छौं ।

कोरोना महामारीले गर्दा एसईई परीक्षा त भएन तर पनि सो परीक्षालाई मध्यनजर राख्दै एसईई पाठशाला सञ्चालन गरेका थियौं । त्यसैगरी रेडियोबाट पनि एसईई पाठशाला सञ्चालन गरेका थियौं । हामीले गाउँपालिकामा बाल शिक्षाकोे पनि व्यवस्था मिलाएका छौं । गरीव तथा विपन्न बालबालिकाको पनि शिक्षामा पहुँच पुगोस् भन्ने हेतुले विभिन्न किसिमका प्रयास गरिरहेका छौं । मलाई त यस्तो लाग्छ कि शिक्षामा यती धेरै परिवर्तन ल्याउने हाम्रै गाउँपालिका नै पहिलो होला ।

अनि खेलकुद विकासका क्षेत्रमा चाहिँ के कस्ता कार्यहरु गरिरहनुभएको छ नि ?

खेलकुद क्षेत्रको विकासका लागि भनेर हामीले केही बजेट छुट्याउँदै आएका छौं । यहाँका धेरै युवाहरु खेलकुदतर्फ उत्सुक छन् । हरेक वडामा एउटा भएपनि खेल मैदानको निर्माण गर्ने अभियान रहेको छ । धेरै ठाउँमा त खेल मैदान पनि निर्माण भइसकेको छ । विद्यालयस्तरको खेलकुद प्रतियोगिता आयोजना गर्ने गरेका छौं । बक्सीङ्ग, भलिवल, टेबल टेनिश, कराते, फुटवल लगायतका खेलहरु गाउँपालिकामा आयोजना गर्ने गरेका छौं ।

तपाईं निर्वाचित हुनुभन्दा अघि र निर्वाचित भइसकेपछि गाउँपालिकामा आएका परिर्वतन बारे बताईदिनुस् न

जनप्रतिनिधिको रुपमा म गाउँपालिकामा आइसकेपछि यहाँ धेरै परिवर्तन आएको छ । सडक निर्माण सम्बन्धी व्यापक काम भएको छ । स्वास्थ्य तथा शिक्षा क्षेत्रमा आएका परिर्वतन त अघिनै पनि भनिहालेँ । ‘एक घर एक धारा’ को अभियान चलाएका छौं । ६० प्रतिशत घरधुरीमा खानेपानीको व्यवस्था गरेका छौं । सामाजिक संरचनाहरुको निर्माण भएको छ । गाउँपालिकाको हरेक घरमा सडक पुर्याएका छौं । स्वास्थ्य बीमा कार्यक्रमको सुरुवात गरेका छौं । गाउँपालिकाको अवस्था बारे प्रोफाईल तयार गरेका छौं । २५ वर्षिय गुरुयोजना तयार भएको छ । ३३ प्रतिशत महिलाको सहभागिता गर्ने गरी विकास निर्माणको काममा महिला सहभागी गराएका छौं । हरेक वडाको एउटा सडकलाई राजमार्गमा जोडिने अवस्थामा पुर्याएका छौं । गाउँगाउँमा बिजुली बत्ति पुर्याउन सफल भएका छौं ।

तपाईंको पालिकामा सबैभन्दा ठुलो उद्योग वा व्यापारीक कम्पनी कुन होला ?

यहाँ २१ ओटा क्रशर उद्योग रहेका छन् । ३ ओटा गाउँपालिकामा व्यवस्थीत रिसोर्ट सञ्चालन भएका छन् । फलाम पगाल्ने उद्योग सञ्चालन हुँदैछ । गाउँपालिका भित्र ढुङ्गा, गिट्टी लगायतका उद्योग रहेका छन् ।

सबैभन्दा धेरै कर तिर्ने कम्पनी चाहिँ कुन हो नि ?

सबै भन्दा बढि कर त क्रशर उद्योगले नै तिर्ने गरेको छ । वर्षमा २ लाख रुपैयाँसम्म कर तिर्ने गरेको छ । १४ करोड रुपैयाँ बराबर हाम्रो आन्तरीक आय हुने गरेको छ ।

आफ्नो गाउँपालिका भित्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसार कसरी गरिरहनु भएको छ ?

हाम्रो गाउँपालिका पर्यटन क्षेत्रको लागि प्रचुर संभावना बोकेको ठाउँ हो । यहाँ मन लोभ्याउने पर्यटकीयस्थलहरु प्रशस्त छन् । त्यस्ता पर्यटनस्थल सम्म पुग्नका लागि हामीले सडकको निर्माण गरिरहेका छौं । यसका साथै मठमन्दिरको निर्माण पनि भइरहेको छ । पर्यटकलाई सुविधा होस् भन्ने हेतुले यहाँ होमस्टेको पनि सञ्चालन गरेका छौं ।

स्थानीय तहमा काम गर्दा के–के समस्याहरु आइपर्छन् नि ?

हामी एउटा एकात्मक राज्य प्रणलीबाट संघात्मकमा आयौं । कानुन बनाउनु पर्ने, कानुनका नियमावली, कार्यविधि हामी आफैंले बनाउनु पर्ने । त्यसका लागि त झन् मेनपावरको कमी हुने । हामी सुरुवाति चरणमा आएको कारण जग बसाल्नु पर्ने अवस्थामा थियौं र छौं पनि । पूर्वाधारको विकास, शिक्षा, स्वास्थ्य, खानेपानी सबै काम गर्नैपर्ने । धेरै काम गर्नुपर्ने हुँदा अलिअलि त समस्याहरु देखा परिनै हाल्छन् ।

स्थानीय तह र प्रदेश सरकारबीचको समन्वय कसरी गरिरहनुभएको छ ?

बेला बेलामा छलफल तथा अन्तरकृया हुन्छ । प्रदेश सरकारको बैठकमा गएर हाम्रा कुराहरु राखिन्छ पनि । त्यसैले सम्बन्ध राम्रै छ भन्नुपर्छ ।

केन्द्र सरकारबाट कत्तिको सहयोग मिलेको छ नि ?

केन्द्र सरकारबाट पनि हामीलाई सहयोग मिलेको छ । केन्द्र सरकारबाट गाउँपालिकाको भवन निर्माणको लागि भनेर ३ करोड ९१ लाख रुपैयाँ आएको थियो ।

गाउँपालिकामा विकास निर्माणको कामहरु कत्तिको प्रभावकारी भएका छन् ?

जनताको बिचमा बसेर जनताको आवश्यकतालाई मध्यनजर गर्दै उनिहरुबाट नै प्राप्त सल्लाह सुझावको आधारमा हामी योजना छनोट गर्छौं । योजनाबारे हामीले भितेपात्रो पनि तयार गरेका छौं । कार्यान्वयनको चरणमा पनि जनताको व्यापक सहभागितामा योजनाहरु सञ्चालन गरेको हुँदा विकास निर्माणको काम पनि प्रभावकारी नै हुन पुगेका छन् ।

गाउँपालिकामा नागरीकहरु प्रायः कस्ता समस्या लिएर आउँछन् नि ?

धेरैजसो त पूर्वाधार विकास, खानेपानी, सडक आदिको समस्या लिएर आउने गरेका छन् । शिक्षामा पनि समस्या आउने गरेको छ । बेला बेलामा विकास निर्माणको काममा पनि समस्या आउने गरेको छ । तरपनि विशेष गरेर नागरिकको गुनासो चाहिँ सडकलाई पिच गर्नुप¥यो भन्ने नै आउँछ ।

गाउँपालिकाले युवाहरुलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ?

विदेशबाट फर्किएर गाउँमै केही गर्न चाहने युवाहरुलाई बैंकसँग समझौता गरी ब्याज मिनाहा गर्ने र २ देखि ३ लाख रुपैयाँसम्म ऋण दिने व्यवस्था मिलाएका छौं । करिव ५ सय जना युवालाई उद्यमशिल विकास तालिम दिनु पर्छ भनेर हामी लागिपरेका छौं । कतिपय युवाहरुलाई भने विकास निर्माणको काममा लगाएका छौं ।

तपाईंले चाहेर पनि गर्न नसकेका विकास निर्माणका कामहरु के के होलान् नि ?

कम्तीमा एउटा सडकलाई पिच गर्न पाए हुन्थ्यो जस्तो लाग्छ । हाम्रो आर्थिक स्थितीले धान्न गाह्रो हुन्छ । सडक सबै ठाउँमा पुर्याइयो तर त्यसको उचित व्यवस्थापन गर्न समस्या भएको छ । भनौं न, आवश्यकता अनुसारको ग्राबेल, पिच चाहिँ हामीले चाहेर पनि गर्न सकेका छैनौं ।

अब तपाईंको बाँकी रहको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने योजना छ ?

हाम्रो एउटा नारा रहेको छ ‘सम्वृद्ध थाक्रे र सुखी थाक्रेबासी’ । ‘सम्वृद्ध’ भन्नाले सबै थोक पुरा हुनुपर्यो । ‘सुखी’ भन्नाले सबैले आफ्नो हैसियत अनुसार सुखी भएर बाँच्न पाउनुपर्यो । यसका साथै लैङ्गीक समानता र सामाजिक न्याय सहितको हाम्रो अभियान पनि छ । यो अभियानको उद्देश्य भनेको सबै थाक्रेबासीहरुमा यो गाउँपालिका मेरो हो, यहाँ भएका कामहरु मेरो लागि भएको हो भन्ने सोचको विकास गर्नु रहेको छ । कुनै पनि नागरिकले न्याय नपाएर भौंतारिनु नपरोस् अनि जात, धर्म, लिङ्गका नाममा विवाद नगरुन् भन्नेतर्फ सचेत छौं । अनि त्यसैगरी, सबै नागरीकहरुको सडक, स्वास्थ्य, खानेपानी, शिक्षा लगायतमा पहुँच पु¥याउने पनि मेरो योजना रहेको छ ।

One comment on "क्यान्सर, मुटु तथा मिर्गौला रोगीहरुलाई गाउँपालिकाले आर्थिक सहयोग प्रदान गर्दै आएको छ – अध्यक्ष आचार्यसँगको कुराकानी"

  • Binod aryal says:

    चुनाव हुनु भन्दा पहिले बालुवा खानि सन्चालनमा थिइयन चुनाव भयपछि बालुवा खानि सन्चालनमा अायकाे छ बिकास त धेरै भकाे छ नि नेता हरूकाे जति सबैकाे गाेजि भरियकै छ त्या भन्दा बिकास के चाहियाेर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.