सयको नोटमा चुच्चे नक्सा छाप्ने निर्णयबारे ओलीले मागे राष्ट्रपतिसँग जवाफ

  २०८१ वैशाख २८ गते १५:११     विकासन्युज

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको सयको नोटमा सरकारले नयाँ नक्सा राख्ने निर्णयमा राष्ट्रपतिका विज्ञ सल्लाहकारले सरकारको निर्णय विरुद्धमा अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन् ।

शुक्रबार बानेश्वरमा बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले आपत्ति जनाएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलका विज्ञ सल्लाहकार चिरञ्जीवि नेपालले सरकारले सयको नोटमा नेपालको नयाँ नक्सा राख्ने निर्णयमा विभिन्न सञ्चारमाध्यममा दिएको अभिव्यक्ति राष्ट्रपतिको कार्यालयको हो वा व्यक्तिगत हो ? भन्दै प्रश्न गरे । उनले यस विषयमा राष्ट्रपति पोडेल स्वयं र सरकारको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ दिनुपर्ने माग गरे ।

उनले संसदको बैठकमा नेकपा एमालेको तर्फबाट सो विषयमा आवाज उठाउन पनि पार्टीका सांसदहरुलाई निर्देशन दिए । अध्यक्ष ओलीले सल्लाहकार नेपालले राष्ट्रिय हित विपरित बोलेकाे आरोप समेत लगाए । राष्ट्रपति कार्यालयमा राष्ट्रहित विपरित बोल्ने व्यक्तिहरु किन राखेको भन्दै आपत्ति जनाए ।

हरेक नेपालको नोटमा र हरेक सिक्कामा अनिवार्य नेपालको नक्शा राख्नुपर्ने पनि बताए । नेपालको अहित चिताउने, राष्ट्रिय भावनामा न्युनता वा विद्वेष भएका व्यक्तिहरु राष्ट्रपति निवासमा गुँड बनाएर बस्न नमिल्ने बताए । नेपालले नेपाली नोटमा नेपालको नक्शा छाप्ने कुरालाई कुनैपनि देशले आपत्ति जनाउनुपर्ने विषय नरहेको जानकारी दिए ।

‘नेपाल सरकारले नेपालको नोटमा नेपालको नक्सा छाप्छ भन्दा अर्को देश कराएको सुनियो । किन करायो अर्को देश ? नेपालले नेपालले नेपालको नोटमा नेपालको नक्सा छाप्छ, उसको नक्सा छाप्ने होइन । किन करायो होला अर्को देश भन्दै गर्दा राष्ट्रपतिका विज्ञ सल्लाहकार भनिएकाहरु त्यो अर्को देश कराएको सँगसँगै यो फलनो देशलाई उत्तेजित पार्न खोजिएको हो, नक्सा छाप्ने कुरा आदि इत्यादि भनेर । कस्ता मान्छे सम्माननीय राष्ट्रपतिज्युले कस्ता मान्छे त्यहाँ जागिर खुवाएर राख्नुभएको छ ?’ उनले भने ।

अध्यक्ष ओलीले नेकपा एमालेले गम्भीर रुपमा यसबारेमा छिनोफानो खोज्ने पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.