खम्बाका गुजुल्टा तारले सौंदर्य र सुरक्षा दुबैमा असर, व्यवस्थित गर्ने दीर्घकालिन योजना छैन नियामकसँग

  २०७७ कार्तिक २६ गते ११:२०     नविन पोखरेल

काठमाडौ । अहिले बिजुलीका खम्बाहरुमा हेर्ने हो भने विभिन्न किसिमका तारहरुका गुजुल्टा देख्न सक्छौं । यस्ता तारहरु विषेश गरेर शहरी क्षेत्रमा बढी छन् ।

यस्ता गुजुल्टा तारहरुमध्ये एउटामा मात्रै आगलागी भएमा अन्य तारहरु समेत जल्ने सम्भावना अधिक छ । यसरी देखिने तारहरुमा टेलिफोन, इन्टरनेट, टेलिभिजन जस्ता सेवा प्रदायकका बढी भएपनि दूरसंचार क्षेत्रको नियामक निकाय नेपाल दूरसंचार प्राधिकरणले व्यवस्थिति गर्न प्रभावकारी दकम चालेको छैन ।

तार व्यवस्थापनका लागि प्राधिकरणले मापदण्ड भने बनाएको छ । तर त्यसको प्रभावकारी कार्यान्वयन र अनुगमन भने भएको छैन ।

दूरसंचार प्राधिकरणले नै दिएको सूचना अनुसार उक्त योजना दीर्घकालिन योजना भने होइन । तत्कालका लागि काम काम चलाउ किसिमको योजना अहिले बनेको भएपनि दीर्घकालिन रुपमै तारहरुको व्यवस्थापन गर्नु पर्ने प्राधिकरण बताउँछ ।

प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालका अनुसार तारहरु जथाभावी राखिदा त्यसले वातावरण नराम्रो देखिने, प्राविधिक रुपमा जोखिम बढाउने, काम गर्नेलाई झन्झटिलो हुने लगायतका समस्या आउने गर्छ ।

‘जथाभावी राखिएका तारहरु वातावरणमैत्री होइनन्, त्यस्ता तारहरुमा काम गर्नेले समेत जोखिम मोलेर जडान गर्नुपर्छ, हामीले त्यस्ता तारहरुलाई अन्डर ग्राउण्ड गर्ने योजना बनाएका छौँ, त्यसका लागि मापदण्ड तयार गरेर केही हदसम्म काम पनि भइसकेको छ, भोलिका दिनमा यस्ता तारहरुको दिर्घकालिन रुपमा नै व्यवस्थापन गर्न समेत आवश्यक छ’, प्रवक्ता अर्यालले विकासन्युजसँग भने ।

अल्पकालिन व्यवस्थापन

प्राधिकरणले जथाभाबी रहेका तारहरुको व्यवस्थापनाका लागि अल्पकालिन उपायहरु अपनाइरहेको छ । तर दीर्घकालिन रुपमा खम्बामा रहेका तारहरुलाई सुरक्षित बनाउनु पर्ने धारणा पनि प्राधिकरणकै छ । प्राधिकरणको मापदण्ड अनुसार अव्यवस्थित तारहरु काट्ने भनिए पनि त्यसको कार्यान्वयन हुन सकिरहेको छैन ।

मापदण्डले आवश्यक तारहरु लत्रिएका छन् भने त्यस्ता तारहरुको उचित व्यवस्थापन गर्नु पर्ने भनेको छ । यसको मतलब तारहरु लत्रिएको अवस्थामा नराख्ने भन्ने हो ।

कुन तार टेलिफोनको हो वा कुन नेटको हो भन्ने पहिचान गर्न ट्याग लगाउने तथा लेबलिंक गर्ने कुरा पूरा गर्नु पर्ने मापदण्डमा उल्लेखित छ । प्राधिकरणले ट्याग लगाएर तारहरु व्यवस्थित बनाउन विगतमा केही प्रयासहरु भएको जनाएको छ ।

दीर्घकालिन रुपमा व्यवस्थापन गर्न तारहरु अन्डर ग्राउण्ड गर्नुपर्ने हुन्छ । त्यसका लागि पनि मापदण्ड भने बनेको प्राधिकरणले बताएको छ ।

काठमाडौ उपत्यकाका विभिन्न १५ वटा ठाउँमा टेलिकमसँग सहकार्य गरी अन्डर ग्राउण्ड गर्न खोजिएको थियो । तर प्राधिकरणको सो प्रस्ताव नेपाल टेलिकमले चासो दिएको छैन ।

अब केबलभन्दा अप्टिकल फाइबरमा जोड

केबल तारहरु भन्दा पनि अप्टिकल फाइबरहरुको प्रयोग व्यवस्थित हुन्छ । अप्टिकल फाइबरमा साना मसिना रेशाजस्ता तारहरु हुने भएकाले केबलभन्दा राम्रो मानिएको हो ।

प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुलाई तार व्यवस्थापन सम्बन्धि निर्देशन नै दिइसकेको बताएको छ । तर, धेरैजसो खम्बाहरुमा तारहरु व्यवस्थित भएको पाइदैनन् । तारहरुको विषयमा दीर्घकालिन करिडोरको रुपमा काम गर्नु पर्ने र अहिले गरिएका कामले व्यवस्थापन गर्न सहज बनाउदै लाने दूर संचार प्राधिकरण बताउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.