कथाः बैंकर श्रीमती

  २०७७ असार २० गते २१:५२     सुशिल घिमिरे ‘त्रैलोक्य’

ओ…हो… आजकल कम्ती गाह्रो छ बैंकको जागीर खानलाई ? त्यसमाथि पनि म परेँ महिला कर्मचारी । घर व्यवहार हेर्नै पर्यो, केटाकेटीको स्याहार सुसार गर्नै पर्यो, उनीहरुलाई होमवर्क गर्न सघाउनै पर्यो, स्कुल पुर्याउनै पर्यो, त्यसैगरी खाना पकाऊ, बुढाको लुगामा आइरन लगाऊ… ।

कहिलेकाहीँ त लाग्छ म एक असल बैंकर त हुन सकेँ होला तर परिवारलाई प्रशस्त समय दिन नसक्दा सायद म असल आमा चाहिँ हुन सकिन कि ? असल श्रीमती पनि पो हुन सकिन कि ? धन्न बुझ्ने र समझदार श्रीमान् अनि सासुससुरा परेका छन् र सजिलो भएको छ ।

सबैले मेरो जस्तो राम्रो र समझदार परिवार कहाँ पाएका हुन्छन् र ! आज दिउँसो लञ्च टाइममा शशीले उसको परिवार वारे मलाई सुनाउँदै थिइन् । उसलाई त घरमा कसैले पनि सघाउँदैनन् रे, अफिसबाट ढिलो गरी घर फर्कियो भने ‘कसैले नखाको जागिर’ भन्दै हकार्छन् रे, घरको काम सबै उसैले गर्नु पर्छ रे । यस्तो तालले त अब सकिँदैन… बरु जागिर नै छोड्छु भन्दैथिइन् । “जागिर भनेको पैसा मात्र होइन शशी… आत्मसम्मान पनि हो । जागिरे हुँदा त तिमिलाई घरका सदस्यले हेप्छन् भने गृहिणी मात्र भएर घर बस्दा झन् कति हेप्छन् होला ?” भन्दै मैले सम्झाएपछि बल्ल उसले चित्त बुझाई ।

हुन त शशीलाई सजिलै सम्झाइदिएँ मैले तर आफ्नै मनलाई सम्झाउन चाहिँ धेरै गाह्रो महसुस गर्दैछु । हुनत मेरा घरका सदस्यहरु उसका घरका जस्ता चाहिँ छैनन् । मेरा सासुससुरा अनि श्रीमान अलि बुझ्झकि र सहयोगी भएर केहि सजिलो चाहिँ पक्कै छ ।

नेपाली समाज आजसम्म पनि त्यत्ति उदार भइसकेको छैन । भान्साको कामकाज अझै पनि महिलाले नै पुर्ण रुपमा जिम्मा लिनुपर्ने अवस्था छ, छोराछोरीको लालनपालन महिलाले नै गर्नुपर्ने पुरुषवादि सोच हावी छ । सासु बुहारीका किस्साको अवस्था उस्तै छ । आजका बुहारी सोच्दछन् कि उसकी सासु खराब छिन् तर केहि वर्ष पछि त्यही बुहारी सासु बन्नेछिन् र आफ्नी बुहारीसँग सम्बन्ध राम्रो बनाउन सक्दिनन् । त्योवेला उसकी बुहारीका पनि गुनासा बेग्लै हुन्छन् । वास्तवमा, आज हामी आफ्ना सासुप्रति खराब धारणा बनाउँछौं तर भोलि कसैको सासु बन्छौं र उही गल्ती आफु पनि दोहोर्याउँछौं ।

अहिले अषाढ पन्ध्र गते पनि कटिसक्यो, हामी बैंकरको लागि यो नजिकिएको क्लोजिङमा समयको एक–एक महत्व छ । त्यसमा पनि म लोन फाँटको कर्मचारी भएदेखि झनै व्यस्त भएको छु । आज पनि साँवा र व्याजको लागि ऋणीहरुलाई कम्ति फोन गरिएन । ऋणीहरुलाई पनि बहाना भएको छ यो कोरोनाको । पसल खोलेकै छन्, भित्र भित्र व्यापार व्यवसाय पनि गरेकै छन्, थोरबहुत नाफा पनि गरेकै छन् । व्यापार हिजो पनि गरेका हुन्, भोलि पनि गर्नेछन् । कहिलेकाहिँ त लाग्छ जनताको पैसालाई ऋणको रुपमा खाएपछि खुरुक्क तिर्नु नि… कत्ति फोन गरेर सम्झाउनु पर्ने होला ।

शशीले “टेलरको हिसाव मिल्यो… नगद थन्क्याऊँ ?” भनेर वेलुकी ६ बजेतिर सोध्दै गर्दा ल्याण्डलाइनमा फोन वज्छ । फोन एकजना प्रतिष्ठित ऋणीको हुन्छ । उताबाट आवाज आउँछ, “म्याडम, मेरो स्टाफ ऋणको किस्ता र व्याज लिएर आधा घन्टामा आउँदैछन् है… एकछिन बैंक बन्द नगर्नू होला ।” म “हुन्छ” भन्दै फोन राख्छु र शशीलाई उक्त कुरा सुनाउँछु । शशी भित्ताको घडि हेर्दै मलिन अनुहार बनाउँछिन् । मलाई थाहा छ उसको पिडा, आज पनि ऊ ढिलो गरी घर पुग्नेछिन् र घरमा गालि खानेछिन् । हुन त म पनि ढिलै घर पुग्ने पक्का भयो तर मैले गाली चाहिँ खानु पर्दैन ।

सबै काम सिध्याएर साँझ ७ वजे म र शशी सँगै बागवजारको अफिसबाट निस्कन्छौं । मेरो श्रीमान् मलाई लिन बाइकमा पर्खिरहेका हुन्छन् । सशी भने कपन जाने माइक्रो चढ्न भन्दै लुरुलुरु न्यूरोडतर्फ लाग्छिन् । मलाई नमिठो लाग्छ… म सोच्छु शशीले माइक्रो पाउँछिन् कि पाउँदिनन् होला यति राति ! कपन उत्रेर पनि घर पुग्नका लागि उसले २० मिनेट जति हिँड्नु पर्छ रे । कति बजे खाना पकाएर परिवारलाई खुवाउँदी हुन् कुन्नी !

शशीका वारे नानाथरी सोच्दै गर्दा मेरा श्रीमान चाहिँ मलाई भनिरहेका हुन्छन्, “थाहा छ तिमीलाई ? आज आमाले तिमीलाई मिठो लाग्ने तरकारी पकाउनु भएको छ नि ।” म बदलामा मुसुक्क हाँस्छु । बुहारीको बाटो नहेर्ने बरु आफैं भान्सा सम्हाल्ने मेरी सासूको सम्झना आउँछ… केटाकेटीलाई कथा र चुट्किला सुनाएर हेरचाह गर्ने ससुराको सम्झना आउँछ… अनि जति ढिलो भएपनि हौसला दिने, मलाई बुझ्ने र सधैं बाइक लिएर अफिसको गेटमा झर्को नमानि मलाई पर्खिरहने श्रीमानको याद आउँछ… । वास्तवमा मेरो परिवार प्रति मलाई गर्व लाग्छ । सबै बैंकर महिला कर्मचारीहरुको मेरो जस्तै सहयोगी परिवार भए कति राम्रो हुन्थ्यो होला… कति सजिलो हुन्थ्यो होला… ।

कोटेश्वरको खुला बाटोमा बाइक हाँक्दै गरेका श्रीमान प्रतिको माया अचानक बढेर आउँछ र अगाडि सर्दै टाँसिएर अँगालो हाल्छु… छातीमा तातो महसुस हुन्छ… श्रीमानले जिस्किँदै भन्छन्, “के भयो आज मेरो प्यारो बैंकर श्रीमतीलाई ?” म उसको कानमा साउति मार्दै भन्छु, “मलाई हरेक कुरामा सहयोग गर्ने प्यारो पतिलाई थ्यांक यू एण्ड लभ यु ।”

मैले यति भनिनसक्दै श्रीमानले बाइकको एक्सिलिरेटर बटारिसकेका हुन्छन् र म पनि उसलाई बेस्सरी समाउँछु ।

 

ghimiresushil38@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.