अभूतपूर्व सिक्ने र झोला थाप्ने वर्ष बन्दै २०७७ साल

  २०७७ वैशाख १ गते १७:०४     रामकृष्ण पौडेल

काठमाडाैं । तपाईलाई जस्तै मलाई पनि नयाँ वर्ष २०७७ ले खुशी दिएको छैन । किनकी २०७७ सालमा हामी धेरैको आम्दानी घट्नेछ ।

लकडाउनका कारण अधिकांश कम्पनीहरुले चैत महिनाको कर्मचारीको तलव खातामा हालिदिएका छैनन् । धेरै रोजगारदातालाई कसरी कर्मचारीलाई तलव दिने भन्ने चिन्ता छ ।

यतिबेला रोजगारदाताहरु खर्च कटौति र कर्मचारी कटौतिका विषयमा जोडघटाउ गरिरहेका होलान् । र, कर्मचारीले तलव आएन भन्ने भन्दा पनि जागिर खोसिएला भन्ने चिन्ता गरिरहेका होलान् ।

विगतमा तलव वृद्धिको लागि सामूहिक सौदाबाजी गर्ने ट्रेड यूनियनहरु २०७७ सालभर कर्मचारी कटौति वा सुविधा कटौतिको विरोधमा संघर्ष गर्नेछन् । यो साल रोजगारदाता र श्रमिकबीच द्वन्द्वको वर्ष बन्न सक्छ ।

चैतको पहिलो सातामा २० रुपैयाँमा ३ देखि ५ वटा कागती किन्न पाइन्थ्यो । आज विहान एक दाना कागती २० रुपैयाँ किनबेच भईरहेको मैले देखेँ ।
बन्दबढी लम्बिदै जादा खाद्यन्यको मूल्यमा व्यापक वृद्धि भएको छ । आम्दानी घट्ने तर अत्यावश्यक बस्तुको सम्भावित मूल्य वृद्धिले आम उपभोक्तालाई ठूलै तनाव हुनेछ ।

२०७७ सालमा नयाँ उद्योगको कल्पना बेकार हुनेछ । निजी क्षेत्रको भूमिका नियन्त्रण गर्ने वर्तमान सरकारको नीतिका कारण नेपालीहरुले विगत केही वर्षदेखि नयाँ उद्योग खोलिरहेका थिएनन् । कोरोना भाइरस विरुद्धको खोप बजारमा नआएसम्म नयाँ उद्योग खुल्ने छैनन् ।

यतिबेला विदेशी लगानीको कल्पना नगरे हुन्छ । २०७२ सालको भूकम्पपछि नेपालीलाई संकटबाट माथि उकास्न मित्रराष्ट्र एवं वहुपक्षिय संस्थाहरुले जसरी सहयोग गरेका थिए, अहिले त्यस्तो सहयोग आउने छैन । विश्व बैंक र एशियाली विकास बैंकले पनि ऋण प्रस्ताव गरेका छन्, अनुदान प्रस्ताव शुन्य छ ।

संकटले नयाँ अवसर मिल्छ । संकटले ठूला उद्योगीहरुलाई संकटमा पार्नेछ । नविनतम सोच, बलियो आँट भएकाहरु नयाँ विकल्पका साथ अगाडि आउनेछन् ।

सशस्त्र द्वन्द्वपछि रेमिट्यान्स विजनेश मौलाएझै अब अनलाइन विजनेश मौलाउने छन् । आलु प्याजदेखि टिभी,मोवाइल सबै वस्तुको अनलाइन व्यापार बढ्ने छ ।

विकास भइसकेको तर प्रयोग नभईरहेका प्रविधिको व्यापक प्रयोग हुनेछ । जुमको विकास सन् २०११ मा भएको थियो । ९ वर्षपछि यसको प्रयोग व्यापक भएको छ, त्यो पनि कोरोना महामारीले वाध्य पारेर ।

आज भन्दा १ महिनाअघि नेपाली समाजमा जुम प्रयोग गरेर बैठक, सभा, सम्मेलन वाहियात कुरा थियो । अहिले नियमित प्रक्रिया भएको छ । गत साता किङ्स कलेजले एउटा अन्तराष्ट्रिय सम्मेलन जुमबाट गर्यो, जहाँ शिक्षा मन्त्री गिरिराज मणि पोखरेलले सम्बोधन गरेका थिए ।

विकासन्युजको नियमित बैठक १०ः३५बजे हुने गरेको थियो अफिसमा पुगेर । अहिले १० बजे नै बैठक हुन्छ जुम प्रयोग, घरमै बसेर । विनोद चौधरी, चन्द्र ढकाल, पशुपति मुरारका, देवि भट्टचन, सिर्जना राणा लगायतले घरबाटै आफ्ना विजनेश मिटिङ सञ्चालन गरिरहेका छन् ।

सबै प्रकारका किनबेल र सबै प्रकारका भुत्तानी अनलाईनबाट गर्न सकिन्छ । प्रविधिको विकास र प्रयोग भईरहेकै छ । मात्र हामीले नजानेर प्रयोग नगरेका हौ । सिक्ने प्रयास पनि गरेका थिएनौं ।

२०७७ सालमा जनस्तरमा प्रविधिको प्रयोगबारे अभूतपूर्व सिकाइ हुनेछ, जसरी माओवादी द्वन्द्वकालमा नेपालीको राजनीतिक र सामाजिक चेतना अभूतपूर्व बढेको थियो ।

लकडाउन लम्बिएसँगै स्कूल कलेजहरुले अनलाईनबाट पढाउने प्रयास गरेका छन् । बैकिङ क्षेत्रले डिजिटल कारोबारलाई निःशुल्क गरिसकेका छन् । बीमा क्षेत्रमा हुलाक टिकटसहितको कागजी फाइलको व्यवस्था हटाएर अनलाइन डकुमेन्टेशनलाई आधिकारिकता दिइदैछ ।

चिठ्ठीको बदला इमेललाई मान्यता दिन १० औं वर्ष लगेको थियो नीति निर्मातालाई । कोरोनाको दवावले नेपालका शासकहरु यति गलेका छन् कि अब उनीहरुले डिजिटल सिग्नेचरको महत्व पनि बुझ्नेछन् । २०७७ सालमा नेपाली समाजमा डिजिटल सिग्नेचरले उच्च स्थान पाउन सक्छ ।

प्रविधिमा आधारित विजनेशहरु मौलाउने छन् । एनसेल, डिस होम, वल्डलिङ्क जस्ता प्रविधिमा आधारित सेवा प्रदायक कम्पनीहरुले यहि वर्ष विजनेशमा छलाङ मार्न सक्छन् ।

सेवा क्षेत्र भईकन बैकिङ, बीमाको विजनेशमा गिरावट आउने छ । धेरै क्षेत्रमा आर्थिक संकट पर्ने भएकोले वित्तीय क्षेत्र वर्षभरी नै तनावमा हुनेछ । तर उनीहरुको भूमिका भने झन् बढ्नेछ ।


विकासन्युज स्वतन्त्र लेखन प्रतियोगिताः भविष्य कोरौं, एक लाख जितौं

सेवा क्षेत्रमा शिक्षा क्षेत्र स्थीर रहने छ । तर स्वास्थ क्षेत्रमा ठूलो उथलपुथल आउनेछ । कोरोना भाइरसको त्रासले ज्वोरोको विरामीको पनि उपचार गर्न नमान्ने निजी लगानीका हस्पिटलहरुले जनविश्वास गुमाउने छन् । नीति निर्माता र विचार निर्माताको नजरमा पनि उनीहरु नराम्ररी गिर्दैछन् ।

२०७७ सालमा हावाई, होटल, रेष्टुरेन्ट, यातायात क्षेत्रलाई माथि उड्न सबैभन्दा बढी संघर्ष गर्नु पर्नेछ । धेरै मान्छे जम्मा गरेर खुशी मनाउने प्रकृतिको व्यवसायलाई पनि गाह्रो छ । सिनेमा हल, बैंक्वेट, खेलकुद, कन्सर्ट लगायतका विजेनशहरु २०७७ सालभर माथि उठ्न सक्ने छैनन् ।

सहरी क्षेत्रमा बढी कारोबार हुने घरजग्गा, सेयर, सवारीको व्यापार चौपट नै हुनसक्छ । विदेशबाट फर्केका वा सहरी क्षेत्रमा रोजगारी गुमाएका लाखौ ग्रामिण क्षेत्रमा फर्कनेछन् । त्यसले ग्रामिण क्षेत्रमा हुने कृषि तथा कुटिर उद्योग माथि उकास्ने छ ।

विल गेट्ले भनेजस्तै कोरोना भाइरस विरुद्धको औषधि बजारमा नआएसम्म विश्वभर लकडाउनको अवस्था जारी रहनसक्छ । नेपाल त्यसबाट अलग रहन सक्दैन । ‘नेपाल कोरोना मुक्त देश’ भन्ने मन्त्री योगश भट्टराईका विचारहरु पागलमतमा परिणत हुँदै जानेछन् ।

अर्थमन्त्री युवराज खतिवडाका अनुसार ३ साता लकडाउन हुँदा जीडीपीमा ४ प्रतिशतको क्षय हुने देखियो । दैनिक अर्बमा उठ्ने राजश्व करोडमा झरिसक्यो ।

यस्तो संकटको बेलामा सरकारले सहिबाटो लिन सकेको छैन । पवन गोल्यानले १० हजार गार्मेन्ट उद्योग खोल्छु भनेका छन् । उनको परिकल्पना राम्रो छ । उनको परिकल्पनालाई साकार गर्न सरकारले सहयोग गर्ने सम्भावना देखिदैन ।

सरकारले रोजगारदातालाई प्रोत्साहित गर्ने नीति नलिएर बेरोजगारलाई दाल चामल वितरण गर्ने नीति लिएको देखिन्छ । गरिव मानिसलाई माछा मार्न सिकाएर धनी बनाउनुको साटो माछा मारेर वितरण गर्ने र गरिबीलाई पालिराख्ने सरकारी नीतिका कारण यस वर्ष धेरै नेपालीहरु आफ्नो काम छोडेर झोला थाप्न जानेछन् ।

राजनीतिककर्मी, गैरसरकारी संस्थाका सञ्चालक तथा कर्मचारी लगायत प्रचारबाजहरूलाई याे वर्ष भ्याइनभ्याइ हुनेछ । यस वर्षकाे सामाजिक सञ्चालमा यस्ता फाेटाे सर्वाधिक देखिनेछन् । माेवाइलका क्यामराहरू दानी र माग्नीहरूकाे फाेटाे खित्न व्यस्त हुनेछन् । राहात थाप्नेले केही छाट टार्नेछन् भने दिनेहरू माला र खादामा सजिने छन् ।

सरकारले राहत वितरणमा अर्बौ रुपैयाँ खर्च गर्नेछ । त्यसमा सिंहदरवारदेखि वडादरवारसम्म व्यापक भ्रष्टाचार हुने आधारहरु २०७६ सालमै छरपष्ट रुपमा सार्वजनिक भईसकेका छन् । २०७७ सालमा सरकारप्रति जनआक्रोश चुलिने सम्भावना छ । वाध्यताले यो वर्ष प्रधानमन्त्री परिवर्तन हुन सक्छ । तर, फेरी पनि सरकार नेकपाले नै चलाउने छ ।

अन्त्यमा धेरै मानिसको मुखबाट व्यक्त हुने एउटा भनाई –‘कोरोना महामारीबाट विश्वमा यति धेरै मानवीय क्षति हुँदा पनि नेपालमा कोरोनाका कारण एक जनाको पनि ज्यान गएको छैन । पशुपतिनाथले हाम्रो कल्याण गर्नुहुनेछ ।’

नयाँ वर्ष २०७७ सालको सबैलाई शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.