यूनिभर्सल टुर्स एण्ड ट्राभलको आम्दानी बढ्यो, एक अर्ब बढी ऋण लिँदै

  २०८१ वैशाख १३ गते १७:१४     विकासन्युज

काठमाडौं । यूनिभर्सल टुर्स एण्ड ट्राभलस् (यूटीटी) को आम्दानी ३० प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०२२ को तुलनामा आर्थिक वर्ष २०२३ मा उक्त कम्पनीको सञ्चालन आम्दानी ३०.२१ प्रतिशत अर्थात ५ करोड ५० लाख रुपैयाँले बढेको हो ।

आर्थिक वर्ष २०२३ मा कम्पनीले २३ करोड ७० लाख रुपैयाँ बराबरको आम्दानी गरेको छ । अघिल्लो वर्ष भने कम्पनीको आम्दानी १८ करोड २० लाख रुपैयाँ थियो । त्यस्तै, कम्पनीले आर्थिक वर्ष २०१९ मा १० करोड ६० लाख, २०२० मा ११ करोड ९० लाख र २०२० मा ११ करोड ५० लाख रुपैयाँ बराबरको आम्दानी गरेको थियो ।

कोभिडपछिको अन्तर्राष्ट्रिय हवाईमा भएको सुधार र विदेशी पर्यटकको बढ्दो आवतजावतले कम्पनीको आम्दानीमा टेवा पुगेको हो । साथै, नेपाल सरकारले पर्यटन क्षेत्रमा घोषणा गरेको आर्थिक वर्ष २०२३ देखि २०३२ सम्मको लागि नेपाल भ्रमण दशकले पनि कम्पनीको व्यापार वृद्धिमा सहयोग पुग्ने कम्पनीले जनाएको छ ।

सन् १९७५ देखि सञ्चालनमा रहेको यूटीटी नेपालको सबैभन्दा पुरानो ट्राभल र टुर अपरेटहरुमध्ये एक हो । सन् १९७८ देखि कम्पनीले नेपालमा विभिन्न एयरलाइन्सका लागि सामान्य बिक्री अभिकर्ताको रुपमा सेवा दिँदै आएको छ । हाल भने कम्पनीले कोरियन एयर फ्लाई दुबई र एमिरेट्स एयरलाइन्सका यात्री र काग्रो दुबै व्यवसायकोे लागि सामान्य बिक्री अभिकर्ताको रुपमा काम गरिरहेको छ ।

यूटीटी परिवारको स्वामित्वमा रहेको व्यवसाय हो । जसको ९० प्रतिशत सेयर ललिता प्रसाईको रहेको छ भने बाँकी १० प्रतिशत पराशर प्रसाईको रहेको छ । दुबै जना कम्पनीमा प्रबन्ध निर्देशकको रुपमा काम गर्दै आएका छन् ।

कम्पनीले नेपालमा नयाँ एयरलाइन्सको सामान्य बिक्री अभिकर्ता थपेर आफ्नो व्यवसाय विस्तार र विविधीकरण गर्ने योजना बनाएको छ । जसको लागि कम्पनीले एक अर्ब २ करोड १० लाख रुपैयाँ बराबरको ऋण लिँदै छ । उक्त ऋणको लागि कम्पनीले रेटिङ एजेन्सी इक्रा नेपालमा रेटिङ गराएको छ । इक्रा नेपालले ११ करोड १० लाखको दीर्घकालीन लोनको लागि एलबीबी प्लस र बाँकी अल्पकालीन लोनको लागि एफोर प्लसको रेटिङ दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.