वैकल्पिक बजारकाे खाेजिमा वायु सेवा कम्पनी

  २०७६ फागुन २८ गते ११:३८     विकासन्युज

काठमाडौं । कोरोना भाइरसको सन्त्रासका कारण विदेशी पर्यटक घटेपछि मुलुकको आन्तरिक उडानमा रहेका वायु सेवा प्रदायक कम्पनीले वैकल्पिक बजारको खोजी सुरु गरेका छन् । कोरोना हल्लाले सबैभन्दा बढी पर्यटन क्षेत्रलाई असर पार्ने खतरा देखेका व्यवसायीले पर्यटनसँग प्रत्यक्ष सरोकार राख्ने ठूलो लगानी भएको हवाई क्षेत्रले बढी मार खेप्नुपरेको जनाएका हुन् । मुख्य पर्यटकीय याममै कोरोनाको त्रासले पर्यटन क्षेत्रलाई नराम्रोसँग प्रभाव पारेको छ ।

होटल क्षेत्रमा धमाधम बुकिङ रद्द भइरहेको छ भने हवाई क्षेत्रमा पनि व्यवसाय ह्वात्तै घटेको छ । कोरोनाको सबैभन्दा बढी प्रभाव नेपालको पर्यटन क्षेत्र त्यसमा पनि हवाई उद्योगमा पर्ने भएकाले वैकल्पिक बजारको खोजी थालिएको वायु सेवा सञ्चालक संघका महासचिव योगराज कँडेल शर्माले बताए । हेली एभरेष्टका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका शर्माले हवाई क्षेत्रमा पनि सबैभन्दा बढी हेलिकप्टर व्यवसाय मारमा परेको बताए । वसन्त ऋतुको अगाडि आरोही लगायतका विदेशीले धमाधम बुकिङ रद्द गरिरहेको उनले जानकारी दिए । हेली एभरेष्टको मात्रै १३२ बुकिङ भएकामा ५२ वटा रद्द भइसकेका छन् ।

सोही अनुपातमा अन्य हेलिकप्टरको पनि बुकिङ रद्द हुनेक्रम बढेको संघले जनाएको छ । अहिले सार्वजनिक सेवामा रहेका १० हेलिकप्टर कम्पनीका ३३ हेलिकप्टर छन् । यी मध्ये ३० हेलिकप्टर उडानयोग्य छन् । अहिले देनिक १–२ वटा मात्र उडान भइरहेको ती कम्पनीहरुले बताएका छन् । त्यसैगरी, जहाजतर्फ आन्तरिक उडानमा ९ वायु सेवा प्रदायक कम्पनीले उडान गरिरहेका छन् ।

महासचिव शर्माका अनुसार अघिल्लो वर्षको तुलनामा अहिले कोरोनाको हल्लाले दैनिक औसतमा ३ हजार यात्रु घटेका छन् । नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा यो संख्या दैनिक ४ हजारबाट बढाएर ७ हजार पु¥याउने योजना थियो । सबैभन्दा बढी हेलिकप्टरको ५० प्रतिशतभन्दा बढी उडान कटौती भएको छ । जहाजतर्फ ठूला वायु सेवा कम्पनी बुद्ध एयर, यति एयरलाइन्स, श्री एयरलाइन्स लगायतको उडान संख्या सन्तोषजनक रहे पनि डलर यात्री घटेपछि आर्थिक कारोवार ह्वात्तै घटेको महासचिव शर्माको भनाइ छ ।

विदेशीको चहलपहल घटेपछि देशका प्रमुख पर्यटकीय गन्तव्यमा व्यावसायिक सम्भावनाको खोजीका लागि प्याकेज बनाएर सहुलियत मूल्यमा हेलिकप्टर तथा जहाज सञ्चालन गर्ने योजना बनाइएको संघले जानकारी गराएको छ । व्यवसायीले उपत्यकाको पर्यटकीय क्षेत्र चन्द्रागिरि हिल्सबाट हेलिकप्टर चढेर काठमाडौँ उपत्यका राउन्ड लगाउन १० हजार रुपैयाँको प्याकेज बनाएर उडान अनुमतिका लागि नियामक प्राधिकरणलाई पत्राचार गरिएको महासचिव शर्माले जानकारी दिए ।

त्यसैगरी, मुख्य पर्यटकीय क्षेत्र पोखरा लगायतका गन्तव्यमा पनि यस्तो प्याकेज बनाइनेछ । आन्तरिक गन्तव्यमा जाने यात्रुलाई विशेष छुट ‘अफर’ लगायत व्यवस्था गरिने व्यवसायीको भनाई छ । अहिलेको अवस्था निरन्तर रहे हेलिकप्टर तथा जहाज ग्राउण्डेड गर्न बाध्य हुने बताउँदै संघका महासचिव शर्माले अहिले कम्पनी बचाउनका लागि खर्च कटौती र विभिन्न तौरतरिका अपनाइएको उल्लेख गरे ।

उनले भने, “कोरोना प्रभावले हवाई क्षेत्रमा अबको ३ महिनामा ४ अर्ब क्षति हुने अनुमान गरेका छौँ, अहिले जहाजको इन्सुरेन्स तिर्न र मर्मत खर्च निकाल्न धौधौ परेको छ । त्यसैले हवाई उद्योग बचाइदिन सरकारलाई गुहारेका हौँ ।” लाखौँ रुपैयाँ खर्चेर नेपाल आउने विदेशी जोखिमयुक्त देशको यात्रा गर्न रुचाउँदैनन् । त्यसको प्रत्यक्ष असर हवाई क्षेत्रमा पर्ने व्यवसायीको भनाई छ । वायु सेवा सञ्चालक संघले यही फागुन २३ गते विज्ञप्ति निकालेर कोरोना भाइरसको हल्लाका कारण आन्तरिक हवाई यात्रु ४० प्रतिशतले घटेको जनाएको थियो ।

नेपालको आन्तरिक उडानमा कोरोनाको प्रभावका कारण करिब ४ अर्ब क्षति हुने संघको अनुमान छ । अहिले प्रतिमहिना आन्तरिक हवाई यात्रु ४० प्रतिशतले घटेको दाबी गरिएको छ । अबको ३ देखि ६ महिना यसको असर थप देखिने व्यवसायीको आँकलन छ ।

नेपालमा अहिलेसम्म कोरोनाको संक्रमण देखिएको छैन तर पनि विशेष सजकता अपनाइएको छ । विश्व स्वास्थ्य संगठनले नेपाललाई उच्च जोखिमयुक्त मुलुक भनेको छ । कोरोनाको प्रभावले मुलुकको कुल गार्हस्थ उत्पादन ९जीडीपी० मा ०।४ प्रतिशत असर पुग्ने एसियाली विकास बैंकले प्रारम्भिक प्रक्षेपण गरेको छ ।
वायु सेवा सञ्चालकले सरकारसँग सहुलियत, बैंकमा तिर्नुपर्ने ब्याजमा पुनःकर्जाको सुविधा दिएर भुक्तानीको व्यवस्था मिलाउन माग गरेका छन् । व्यवसायीको मागका सन्दर्भमा सरकारले पनि कोरोनाको हवाई क्षेत्रमा के कस्तो असर परेको छ भनी नियामक निकायसँग विवरण लिएको छ ।

नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले कोरोनाको प्रभावले पर्यटन र नागरिक उड्डयन क्षेत्रमा कति क्षति पुग्छ भनी व्यवसायीसँग यकिन विवरण लिएर सरकारलाई सिफारिस गरिने बताए । अंग्रेजी वर्ष सन् २०२० को फेबु्रवरीसम्मको अवस्थालाई हेरेर के कति क्षति हुने र कस्ता विषयमा राहत र सहुलियत दिने भन्नेबारे सिफारिस गरिने उनले उल्लेख गरे । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.