सुरुङमार्गः सेयरमा उठाएको मात्रै हैन, सर्वे गर्दा खाएको र बसेको पैसा पनि तिर्न बाँकी

  २०७६ माघ २३ गते १०:४०     राजाराम न्यौपाने

काठमाडौं । सात वर्षअघि मकवानपुर भीमभेदीका सन्तोश लामाले काठमाडौं–हेटौडाको सुरुङबाट ओहोर–दोहोर गर्न पाइने हल्ला सुने । गाउँभरी नै सरुङमार्ग बन्ने चर्चा चल्न थाल्यो । २०७३ साल भित्र काठमाडौं जान सहज भइसक्ने लामालाई विश्वास थियो ।

तर, उनको सपना २०७६ साल बितिसक्न लागे पनि पूरा भएको छैन । सपना पूरा नभएको मात्रै होइन, अब सुरुङमार्ग नबन्नेमा उनी पनि ढुक्क जस्तै छन् ।

काठमाडौं–हेटौंडा सुरुङमार्ग लामालाई अचेल पशुपाति शर्माको ‘लुटनसके लुट कान्छा…’ भन्ने गीत जस्तै लाग्न थालेको छ । सडक बन्ने कुरा गफ मात्रै जस्तो अनुभूति हुन थालेको छ ।

भीमभेदीमा रहेको लामाको सगरमाथा होटलमा सर्वे गर्ने टोली बस्यो । गाउँको मात्रै होइन, देशको मुहारै फेरिने परियोजनाका सर्वे गर्ने व्यक्तिहरुलाई राख्न पाउँदा लामाको खुसीको सीमा नै रहेन । उनले राम्रोसगँ सञ्चालन भइरहेको होटलमा सर्वेका लागि आएकाहरुलाई खाने बस्ने व्यवस्था सकेसम्म राम्रो पनि गरे ।

मकवानपुरबासी, व्यवसायी, राजनीतिक दलका नेता र उद्योगीसँगै बसेर नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशी नेतृत्वको कम्पनीले जनताकै लगानीमा छोटो दुरीको हेटौंडा–कुलेखानी–काठमाडौं सुरुङमार्ग बनाउने बताउँदा लामा निकै उत्साहित थिए ।

सरकारले नगरेपछि हामी गछौंं भन्दै निजी क्षेत्रले स्थापना गरेको नेपाल पूर्वाधार विकास कम्पनी (एनपीबीसीएल) मार्फत सुरुङमार्ग बन्ने र मकवानपुरसँगै तराईका जिल्लामा ठूलो विकासे लहर आउने लामालाई विश्वास थियो ।

काठमाडौं–कुलेखानी–हेटौँडा सुरुङमार्ग ५८ किलोमिटरको आयोजना हो । चार लेनको बाटोसहितको डिजाइन भएको सुरुङमार्गबाट हेटौँडा पुग्न झण्डै एकघण्टा मात्रै लाग्ने अनुमान गरिएको थियो ।

भीमफेदीमा नै किराना पसल, होटल र घर भएका लामाले यो अभियानलाई जति सकिन्छ, त्यति लगानी गरेर सहयोग गर्ने प्रतिवद्धता पनि जनाए । उनले आफ्नो बुवा अंकल लामाको नाममा १० हजार रुपैयाँको सेयरसमेत किने ।

आफ्नै घर छेउमा सन् २०१६ मा बन्ने भनिएको सुरुङमार्ग अझैसम्म निर्माण प्रारम्भसमेत नहुँदा उनी चिन्तित मात्रै होइन, आक्रोसित पनि छन् । लामाजस्तै सुरुङमार्गको सेयर किन्नेहरु यतिबेला निराश छन् ।

सुरुङमार्ग निर्माण गर्ने कम्पनीले सर्वेका लागि पठाएका व्यतिmहरुले खाना खाएको, र बसेको पैसा लिन कम्पनीको मुख्य कार्यालय थापाथलीमा पुग्दा त्यहाँबाट पैसा नपाएपछि लामालाई आफू ठगिएको हो कि भन्ने शंका लाग्न थालेको थियो ।

लामाले कम्पनीका कर्मचारीहरुले होटलमा खाना खाएको र बसेको पैसा अझसम्म पाएका छैनन् । र, सेयर वापत दिएको रकमको अत्तोपत्तो छैन । अरु सेयरबाट मात्रै ठगिएको छन् । धेरै सर्वसाधारणसँग एनपीबीसीएलले संस्थापक लगानी भन्दै करिब ३२ करोड रुपैयाँ उठाएको छ ।

तर, सो रकमबारे कम्पनी पारदर्शी रुपमा प्रस्तुत नभएको गुनासो सेयर लगानीकर्ताहरुको छ ।

रकम सदुपयोग नभएको र कम्पनीले आयोजना सुरु हुन नसक्नुबारे कुनै आधिकारिक जानकारी पनि नगराएका कारण धेरै लगानीकर्ताहरु आक्रोशित छन् ।

कतिपय लगानीकर्ताले कम्पनीका सञ्चालकहरुले आफ्ना मान्छेलाई जागिर खुवाउनकै लागि मात्र सर्वसाधारणबाट सेयर स्वरुप उठाएको रकम दुरुपयोग गरिरहेको आरोपसमेत लगाउन थालेका छन् ।

सुरुङ मार्ग निर्माण गर्न सुरुवातमा ३५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको थियो । सन् २०१६ सम्म निर्माण सक्ने लक्ष्य लिइएकोमा अझै आयोजना सुरु भएको छैन ।

२०६९ सालमा शिलान्यास भइसकेको यो आयोजनाबाट असन्तुष्टी जनाउँदै राप्रपाका सांसदसमेत रहेका ठेकेदार व्यवसायी विक्रम पाण्डेले हात झिकिसकेका छन् ।

एनपीबीसीएलमा एमालेका सांसद तथा व्यवसायी सुभाषचन्द्र ठकुरी र निर्माण व्यवसायी संघका पूर्वअध्यक्ष जयराम लामिछानेलगायत अझै सक्रिय छन् ।

भिडियोः प्रकाश वाग्ले

सम्बन्धित सामग्री

सुरुङमार्गः देखायो विकासको आश, बनायो स्थानीयको बिल्लीबाठ

निजी क्षेत्रमाथि नै प्रश्न गरिरहेको काठमाडौं–हेटौडा सुरुङमार्ग ९ वर्षदेखि अलपत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.