दिल्लीको मञ्चमा अर्थमन्त्री खतिवडाको अभिव्यक्ति : बुद्ध र सगरमाथाको विकल्प खोजेर पाइँदैन

  २०७६ असोज २३ गते १८:०७     विकासन्युज

नयाँदिल्ली। अर्थमन्त्री युवराज खतिवडाले बुद्ध र सगरमाथाको विकल्प खोजेर नखोजिने भन्दै पर्यटनलाई विकल्पको रुपमा नभई परिपूरकको रुपमा लिन विश्वका अर्थशास्त्रीहरुसँग आग्रह गरेका छन् । भारतको नयाँदिल्लीमा भएको विश्व आर्थिक मञ्चको कार्यक्रममा विश्वभरका अर्थशास्त्री एवं अर्थ तथा उद्योग मन्त्रीहरु सम्मिलित बैठकमा खतिवडाले अरु क्षेत्रमा जस्तो पर्यटनमा प्रतिस्पर्धा सभ्भव नै नभएको भन्दै नेपाल भ्रमण वर्ष २०२० लाई सघाउन आग्रह गरेका छन् ।

विश्व आर्थिक मञ्चको कार्यक्रममा सहभागी हुन नयाँदिल्ली पुगेका अर्थमन्त्री खतिवडाले दक्षिण एशियाली क्षेत्रका राष्ट्रहरुमा व्यापारको प्रतिस्पर्धा हुनसक्ने भए पनि पर्यटन क्षेत्रमा त्यस्तो प्रतिस्पर्धा हुनै नसक्ने भन्दै विभिन्न देशका पर्यटकीय स्थलहरु एक–आपसका विकल्प नभई परिपूरम भएको भएको उनको भनाई थियो । उनले दक्षिण एशियाली मुलुकको विकासका लागि देशहरु बीच एक आपसमा गहिरो आवद्धता, यातायात, उर्जा, सञ्चार लगायतमा वढी कनेक्टिभिटी र वित्तीय एकीकरण हुनुपर्नेमा जोड दिए ।

आर्थिक विकासको चरण, मानव स्रोत तथा प्राकृतिक स्रोतले दक्षिण एशियाको आर्थिक वृद्धिदर औसत ७ प्रतिशतको हाराहारीमा भइरहन सक्ने उल्लेख गर्दै यस क्षेत्रका वस्तु र सेवाको बाह्य मागले समेत यसमा असर पार्ने भन्दै खतिवडाले दक्षिण एशियाली मुलुकबाट वैदेशिक रोजगारीमा कामदार जाने गरेका र यसबाट प्राप्त रेमिट्यान्स र पर्यटनमा विश्व अर्थतन्त्रमाआएको सुस्तताले असर गर्न सक्ने बताए ।

उनले गौतम बुद्धको जन्मस्थल लुम्विनी र सगरमाथाको देश नेपालले पर्यटकहरुलाई धेरै कुरा दिनसक्ने बताउँदै उहाँले सन् २०२० लाई नेपालले भ्रमण वर्षको रुपमा मनाउने भएकोले नेपाल भ्रमण गर्नका लागि सहभागीहरु आह्वान समेत गरे ।

खतिवडाले विकासशील राष्ट्रहरुमा वित्तीय स्रोत र मागको अन्तर हुने भन्दै नेपालले त्यस्तो अभाव पूरा गर्न सार्वजनिक निजी साझेदारी, समिश्रित वित्त तथा सम्भाव्यता न्यून परिपूर्ति कोष लगायतका लगानीका विभिन्न माध्यम अपनाएको बताए । उनले नेपालमा लगानीको लागि उपयुक्त वातावरण बनेको दाबी गर्दै नेपालमा सार्वजनिक ऋणको अंश कुल गार्हस्थ्य उत्पादनको ३० प्रतिशत मात्रै भएको उल्लेख गर्दै ऋणको उपयोग गरी लगानी बढाएर वित्तीय आवश्यकता पूरा गर्ने ठाउँसमेत नेपालसँग भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.