युनिलिभर नेपालको कम्पनी विश्लेषण: ‘फाइभ डिजिट’ शेयरमूल्यमा किन देखिन छाड्यो आकर्षण ?

  २०७६ भदौ १६ गते १८:२७     नबिन पोखरेल

काठमाडौं । नेपालको एकमात्र शेयर बजारको रुपमा रहेको नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत भएको शेयरमध्ये सबैभन्दा महँगो शेयर हो, युनिलिभर नेपाल लिमिटेडको । बजारमा सूचीकृत म्युचुअल फण्डका ईकाईहरुलाई छाड्दा पनि अन्य डेढ दर्जन कम्पनीहरुको शेयरमूल्य २ अंकमा झरेको, अन्य डेढ दर्जन कम्पनीको बजार मूल्य अंकित मूल्यकै नजिक आइपुगेको परिप्रेक्षमा ५ अंकमा शेयरमूल्यलाई कायम राख्न सफल एकमात्रै कम्पनी समेत हो युनिलिभर । २०००० रुपैंयाको हाराहारीमा शेयरमूल्य रहेको कम्पनीको निकटतम शेयरमूल्य रहेको राष्ट्रिय बीमा कम्पनीको शेयरमूल्य ८७०० रुपैंयाको हाराहारीमा छ जुन आधा भन्दा पनि कम हो ।

थोरै चुक्तापुँजी र उच्च रिजर्भ तथा उच्च नाफाको कारणले यो कम्पनीले कहिल्यै पछाडि फर्केर हेर्नुपरेको छैन । छुट्टै प्रकारको व्यवसाय, प्रतिस्पर्धीहरुको अभावको कारणले गर्दा पनि यो कम्पनीले यस्तो उपलब्धी हासिल गर्न सफल भएको विश्लेषकहरु बताउँछन् । यद्यपि पछिल्लो समयमा कम्पनीको प्रगतिमा केही सुस्तता देखिएको छ । सामान्यतया बजारको सामान्य गिरावटभन्दा माथि रहेको देखिने यो कम्पनीको शेयरमा पनि अन्य कम्पनीहरुको जस्तै गिरावट देखिने क्रम सुरु भएको लगानीकर्ताहरुको भनाई छ । अघिल्लो वर्षको यही समयमा करिब २४ हजार रुपैंया शेयरमूल्य रहेको कम्पनीको शेयर यो वर्ष आइपुग्दा १९५०० रुपैंयामा झर्दा करिब २० प्रतिशतको गिरावट हो ।

अघिल्लो वर्ष युनिलिभरको खुद नाफा करिब साढे ३ करोड रुपैंयाले बढेर ९६ करोड ५२ लाखबाट ९९ करोड ९४ लाख पुगेको थियो । यो वर्ष सार्वजनिक भएको रिपोर्टमा त्यो नाफा ६ प्रतिशतले बढेर करिब १ अर्ब ६ करोड रुपैंया पुगेको छ । त्यसो त चौथो त्रैमासको विवरणमा अघिल्लो वर्षभन्दा आधा भन्दा कममात्रै प्रतिशेयर आम्दानी गरेका कारण पनि यसको दीर्घकालीन कार्यसम्पादनप्रति लगानीकर्ताहरु ढुक्क हुन नसकेका हुन् ।

कम्पनीको आधारभूत वित्तीय अवस्था

कुल ९ करोड २० लाख ७० हजार रुपैंया चुक्ता पुँजी भएको युनिलिभरको अघिल्लो आर्थिक वर्षको अन्त्यसम्म २ अर्ब २३ करोड ३५ लाख रुपैंया अवितरित नाफाको रुपमा रहँदा कुल पुँजी २ अर्ब ३२ करोड ५६ लाख रुपैंया देखिएको छ । कम्पनीले ५ अर्ब ७५ करोड रुपैंयाको सञ्चालन आम्दानीसहित कुल ६ अर्ब २६ करोड आम्दानी र कच्चा पदार्थ, कर्मचारी खर्च, ह्रासकट्टी र अन्य खर्चहरु समेत गरी ४ अर्ब ८९ करोड ९७ लाख खर्च गर्दा १ अर्ब ३६ करोड ९७ लाख रुपैंया कुल नाफा कमाएको थियो । वास्तविक क्षेत्रले तिर्नुपर्ने २० प्रतिशत संस्थागत आयकर कट्टा गर्दा खुद नाफा १ अर्ब ६ करोडमा सीमित रहेको कम्पनीले सार्वजनिक गरेको रिपोर्टमा उल्लेख गरिएको छ । युनिलिभरले करिब ८९ करोड रुपैंयाको बिक्री अघिल्लो वर्ष बढाए पनि अन्तिम त्रैमासमा ह्रासकट्टी तथा अन्य खर्चमा देखिएको वृद्धिले नाफाको वृद्धिमा असर गरेको देखिएको छ ।

अघिल्लो वर्ष युनिलिभरले आफ्ना शेयरधनीलाई कुल ७०० प्रतिशत नगद लाभांश वितरण गरेको थियो जबकि सो वर्ष १०८५ रुपैंया प्रतिशेयर आम्दानी गरेको थियो । यो वर्ष प्रतिशेयर आम्दानीको यो दर ११५८ रुपैंया पुगेको छ । यो दरका आधारमा असार मसान्तको मूल्यमा आधारित कम्पनीको मूल्य आम्दानी अनुपात भने १७.४८ मा झरेको छ, अघिल्लो वर्ष यो दर २२.९७ थियो ।

तर देखिन छाड्यो शेयरमूल्यमा चमक 

आर्थिक वर्ष २०७५/७६ को अन्त्यमा शेयर बजार परिसूचक अघिल्लो आर्थिक वर्षको तुलनामा वार्षिक विन्दुगत रुपमा हेर्दा केही वृद्धि भएको देखिन्छ, यद्यपि युनिलिभर नेपालको शेयरमूल्यमा भने कुनै समायोजन नभएको अवस्थामा समेत २० प्रतिशत भन्दा बढीको गिरावट देखिएको छ ।

चौथो त्रैमासमा देखिएको ‘अन्य खर्च’को वृद्धिका कारण अघिल्लो वर्षको चौथो त्रैमासको तुलनामा कार्यसम्पादन कमजोर देखिनुबाहेक युनिलिभर वर्षभरी राम्रै प्रगति हासिल गरेको अवस्थामा समेत पछिल्लो समय उक्त शेयरमा कम आकर्षण देखिएको हो ।

दोस्रो बजारमा सूचीकृत हुन वास्तविक क्षेत्रका कम्पनीहरुमा देखिएको चासो र भएका प्रयास, पतञ्जली लगायतका नयाँ कम्पनीहरुको प्रवेशले युनिलिभरको व्यापारमा देखिएको चुनौती, युनिलिभरमा देखिएको श्रम सम्बन्धमा समस्या, सुस्त प्रगति निरन्तरको नगद लाभांश र महँगो मूल्यलाई यो शेयरमा आकर्षण नदेखिनुको मुख्य कारण मानिएको छ ।

युनिलिभरको शेयर होल्डिङ गरेका एकजना लगानीकर्ताले भने,- ‘शेयर साह्रै महँगो भयो, १० कित्ता शेयर किन्न पनि २ लाख रुपैंया चाहिन्छ, त्यसैले साना लगानीकर्ता त यसको पुहँचमै रहने भएनन्, धेरै शेयर किन्नेहरुले रिस्क र रिटर्न हेर्छन्, यहाँको जोखिमभन्दा अन्त कम भयो भने वा यहाँको रिर्टन भन्दा अन्त रिर्टन बढी भयो भने लगानीकर्ता अरु शेयरमा पनि जान सक्छन्’ उनले भने ।

त्यसो त २ हजार रुपैंया भन्दा बढी नेटवर्थ भएको कम्पनीको यो शैली उनलाई समेत चित्त बुझेको छैन । उनी भन्छन्- ‘व्यवसाय विस्तार गर्ने हो भने बोनस शेयर दिए हुन्थ्यो, तर रिजर्भमा धेरै पैसा राखेर शेयरमूल्य मात्रै धेरै भएकोले कारोबार हुनै गाह्रो भयो ।’ त्यसो त पछिल्लो ३ महिनाको कारोबारमा युनिलिभरको ४० दिन कारोबार हुँदा ७४७ ओटा मात्रै खरिदबिक्री भएको तथ्यांक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.