पुष्टकारीदेखि कार उत्पादनसम्म, हजारदेखि अर्बौंको यात्रा

  २०८१ वैशाख २८ गते ११:१०     विकासन्युज

काठमाडौं । ‘पुष्टकारीदेखि कार उत्पादनसम्म, हजारदेखि अर्बौंको यात्रा। यो समाचारको हेडलाइन पढ्दा र सुन्दा धेरैलाई विदेशी सञ्चार माध्यममा पढेको जस्तो महसुस हुन सक्छ । किनकि परिश्रम र सफलताका कथाहरू विदेशमा मात्रै हुन्छन् भन्ने बुझाइ र मानसिकता हाम्रो मानसपटलमा बसिसकेको छ । तर, यो स्वदेशकै सफलताको कथा हो । देशको एउटा क्षेत्रबाट उदाएर राजधानी काठमाडौंसँगै देशभरि धुम मच्चाइरहेको व्यावसायिक घरानाको कथा हो यो ।

कुनै पनि क्षेत्रको उच्च तहमा पुग्दाको सकस र संघर्ष आफैंमा गज्जबको हुन्छ । त्यो सकस र संघर्षसँगै उसको चर्चा र परिचर्चा पनि उत्तिकै हुन्छ । तर, पोखराबाट व्यावसायिक उडान भरेको लक्ष्मी ग्रुप शालिन, शान्त र आक्रामक रूपमा देशभरि आफ्नो व्यावसायिक साम्राज्य बिस्तारको रणनीतिमा छ । अहिले देशको एउटा महत्वपूर्ण र सफल व्यावसायिक घरानाको रूपमा परिचित लक्ष्मी ग्रुपको सफलताभित्रको संघर्ष भने जोकोहीका लागि पनि मननयोग्य र अनुसरणयोग्य छ । जुन व्यवसायको नेतृत्व गरिरहेका छन् गणेश बहादुर श्रेष्ठ । श्रेष्ठकै लगनशीलता, संघर्ष र व्यवसायप्रतिको इमान्दारिताले अहिले उनको सम्पूर्ण परिवार व्यवसायमा छ । २००३ सालमा जन्मिएका श्रेष्ठ ७८ वर्षको पुगिसक्दा पनि व्यवसायमै सक्रिय छन् । उनका छोराहरू अन्जन, निरञ्जन र निराकर पनि बुबाकै पथमा छन् ।

सुरुमा श्रेष्ठको परिवारको किराना पसल थियो । उनले जिविकोपार्जनका लागि फोटोग्राफीको पनि काम गरे । तर, त्यसबाट सन्तुष्टि मिल्ने किसिमको आम्दानी नभएपछि उनले बाटो मोडे । वि.स. २०२१ सालमा पोखराकै पीएन क्याम्पसमा टाइपिस्टका रूपमा काम गरे । त्यसबाट पनि काम छोडेर वि.सं २०२३ सालमा तत्कालीन भूमि सुधारमा खरदारको रूपमा तीन वर्ष काम गरे ।

उनको चाहना थियो व्यवसाय । सरकारी जागिरबाट बाहिरिए । अब उनले गाई पाल्ने सोच बनाएर नेपालगञ्ज पुगे । आफ्नो व्यावसायिक उडानको पहिलो चरण सुरु गर्दै उनले भने, ‘केही गर्नुपर्छ भनेर नेपालगञ्ज गएँ,  त्यहाँ गाई पाल्छु, एक/दुई गाई दिनु पर्यो भनेर आफन्तलाई सहयोग मागेँ तर आफन्तले गाई पाल्नेभन्दा पनि पुष्टकारी बनाउन सल्लाह दिनुभयो, केही उपकरण पनि दिनुभयो, त्यहीँबाट सुरु भएको हाे मेरो व्यावसायिक जीवन ।’

उनले २०३० सालदेखि सुरु गरे पुष्टकारी उत्पादन । उसो त उनका पुर्खाले पनि त्यही व्यवसाय गर्थे । तर, उनले त्यसलाई आधुनिक ढंगबाट सुरु गरे । २०३० सालमा बुटवलमा ‘लक्ष्मी मिठाइ भण्डार’ नामाकरण गरी पुष्टकारी र चकलेटहरूको उत्पादन सुरु गरे । आफन्तहरूले दिएको चकलेट बनाउने उपकरणबाट उनी सफल बने । त्यसलाई उनले उद्योगका रूपमा विकास गरे । अहिले अधिकांशको रोजाइमा पुष्टकारी पर्छ । नेपाली चकलेटको बजारमा ६० प्रतिशत हिस्सा लक्ष्मीले ओगट्दै आएको छ ।

सुरुवातमा लक्ष्मी मिठाइ भण्डार पनि आफूसँग भएको केही रकम र आफन्तसँग लिएको ऋणसहित कुल २ हजारले स्थापना गरेको उनीले बताउँदै आएका छन् । विस्तारै राम्रो हुँदै गएपछि उनी पोखरा औद्योगिक क्षेत्रमा सरे । पछि लक्ष्मी मिठाइ भण्डारबाट नाम परिवर्तन गरेर जय माँ लक्ष्मी कन्फेक्शनरी उद्योग राखे । त्योसँगै तीन नयाँ कम्पनी शुभलक्ष्मी, महालक्ष्मी र महाशक्ति स्थापना भए ।

यी कम्पनीले विभिन्न चकलेट तथा मिठाइहरू उत्पादन गर्न थाले । यो समूहले विस्तारै थप कम्पनी खोल्दै गयो । जय माँ र जया कन्फेक्शनरिज स्थापना गरेर थप उत्पादन बढाउनतर्फ यो समूह लाग्यो । यिनै कम्पनीहरूबाट ओरेञ्ज बल, लक्ष्मी स्वीट्स, रिमझिम बलजस्ता लोकप्रिय चकलेट उत्पादन भए ।

२०५२ मा यो समूहले सबै कम्पनीलाई मर्ज गरेर सुजल फुड्सको स्थापना गर्यो । सुजल फुड्सका लोकप्रिय उत्पादनमा ‘चोको फन’ र ‘सुजल गम’ चुइगम रहेका छन् । लक्ष्मी ग्रुपअन्तर्गतको सुजल डेरीले सुजल ब्राण्डका दुग्धपदार्थ उत्पादन गर्दै आएको छ । कम्पनीले उक्त दूधबाट स्ट्याण्डर्ड दूध, होल दूध, गोल्ड दूध, दही, घिउ, नौनी, पनिर, क्रीम, चेदार, चिज, बटर, आइसक्रिम र स्मार्ट फ्लेबर मिल्क उत्पादन तथा बिक्री गर्दै आएको छ । यो कारखाना आईएसओ प्राप्त देशको पहिलो कम्पनी हो । डेरी क्षेत्रमा एउटा पायोनियर व्यावसायिक समूह लक्ष्मी हो । हाल यस कम्पनीको फ्याक्ट्री पोखरामा छ । कम्पनीका काठमाडौंमा पनि डिलर छन् ।

योसँगै यस व्यावसायिक समूहले व्यवसाय विस्तार गरिरहेको छ । अहिले दर्जनौं क्षेत्रमा लगानी गरेर आफ्नो व्यावसायिक साम्राज्य विस्तार यो समूहले गरिरहेको छ ।

लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी इण्टरकण्टिनेण्टलले वि.सं २०६६ सालबाट हुण्डाई कम्पनीका गाडी लोकल डिलरको रूपमा बिक्री गर्न थालेको हो । यो समूह हुण्डाईका गाडी बिक्री गर्न थालेको छोटो समयमै हुण्डाई कम्पनीको आधिकारिक डिलर बन्न सफल बन्यो । अहिले नेपालमै हुण्डाईका गाडी एसेम्बल गर्ने अवस्थामा यो व्यावसायिक घराना आइपुगेको छ ।

आज (बिहीबार) लक्ष्मी समूहले हुण्डाई कम्पनीसँगको सहकार्यमा नेपालमै हुण्डाईका गाडी उत्पादन गर्न नवलपरासीको रामग्राम–६ मा एसेम्ब्लिङ प्लान्ट उद्घाटन गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सो प्लान्टको उद्घाटन गरेका छन् । अब हुण्डाईका नेपालमै बन्नेछन् । यो सो व्यावसायिक समूहको मात्रै गर्वको विषय होइन समग्र देशका लागि सुखद समाचार हो । यो समूहले कमर्सियल भइकलको पनि बिक्री वितरण गर्दै आएको छ ।

योसँगै सो समूहले स्टील, इलेक्ट्रोनिक्स, ट्रेडिङ, स्वास्थ्य र प्लाष्टिक र कृषि क्षेत्रमा पनि व्यवासय गर्दै आएको छ । आगामी दिनमा थप व्यवसाय बिस्तार गर्ने रणनीति बनाएको यो समूहले करिब दुई हजारलाई रोजगारी दिएको छ ।

नेपालको औद्योगिक विकासमा महत्वपूर्ण योगदान दिएका सफल व्यवसायी गणेश श्रेष्ठले अहिले आफ्नो व्यवसायको जिम्मेवारी छोराहरूमाथि सुम्पेका छन् । उनका छोरा अञ्जन श्रेष्ठ उद्योगी व्यवसायीहरूको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका रूपमा काम गरिरहेका छन् । जिल्लाबाट उदाएर केन्द्रसम्म यति ठूलो प्रभाव पार्न सकेको व्यावसायिक समूह नेपालमा लक्ष्मी ग्रुप मात्रै छभन्दा अतिशयोक्ति नहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.