टाटा एच फाइभ एसयूभी सार्वजनिक, शुरुवाती मूल्य रु. ५६ लाख ५५ हजार

  २०७६ भदौ १० गते १७:२४     विकासन्युज


काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले बहुप्रतिक्षित तथा चर्चित प्रिमियम एसयूभी टाटा एच फाइभ पहिलो पटक नेपाली बजारमा सार्वजनिक गरेको छ ।

सिप्रदीले भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा आयोजना भइरहेको नाडा अटो शो २०१९ मा टाटा एचफाइभ सार्वजनिक गरेको हो । भारतीय बजारमा टाटा ह्यारियर भनिने टाटा एचफाइभको मूल्य नेपाली बजारमा शुरुवाती मूल्य ५६,५५०००/– (छपन्न लाख पच्पन्न हजार रुपैंया)तोकिएको छ ।

नेपाली बजारमा टाटा एचफाइभको बुकिङ्ग केही दिनअघि नै खुला गरिएको हो । बुकिङ्ग खुल्ला भए यता टाटा एच फाइभबारे बुझ्नका लागि सम्भावित खरिदकर्ताहरूबाट इन्क्वायरीहरू आइरहेको साथै सकारात्मक प्रतिक्रियाहरू प्राप्त भइरहेको कम्पनीले जनाएको छ । टाटा एच फाइभको डेलिभरी सेप्टेम्बरबाट सुरू हुने र पहिला बुक गर्नेलाई प्राथमिकता दिइने सिप्रदीले जनाएको छ ।

सो अवसरमा बोल्दै टाटा मोटर्सका प्यासेन्जर भेइकल्स इन्टरनेशनल बिजनेसका प्रमुख सुजन रोयले टाटा एच फाइभले नेपाली एसयूभी बजारमा आमूल परिवर्तन ल्याउने बताए ।

क्रियोटेक २.० लिटर टर्बो डिजेल इन्जिनयुक्त टाटा एच फाइभ भारतीय बजारमा निकै चर्चित छ । एचफाइभमा रहेको इन्जिनले १३८ बिएचपावर र ३५० एनएम टर्क जेनेरेट गर्छ । टाटा एचफाइभ ल्यान्डरोवरको डिएट प्लेटफर्ममा निर्माण गरिएको गाडी हो । आकर्षक रहेको टाटा एच फाइभमा पुश बटन स्टार्टस्टप, सेमीडिजिटल इन्स्ट्रूमेन्ट कन्सोल, मल्टीफङ्गसन स्टरिङ, हाइट अजस्टेबल ड्राइभर सीट, अटो क्लाइमेट कन्ट्रोल जस्ता विशेषताहरू रहेका छन् ।

नेपाली बजारमा टाटा एच फाइभ सार्वजनिक गरिएको जानकारी दिँदै सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले टाटा एच फाइभ सर्वोत्कृष्ट उत्पादन भएको र नेपाली बजारमा लोकप्रिय हुने विश्वास व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.