क्रस होल्डिङ: राष्ट्र बैंकले माग्यो बैंकहरूसँग थप विवरण

  २०७६ भदौ ५ गते ११:०१     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले क्रस होल्डिङको विषयलाई लिएर बैंकर्सहरूसँग थप विवरण माग गरेको छ । गत साउन १६ गते राष्ट्र बैंकले पहिलो पटक बैंकर्सहरूसँग विवरण माग गरेको थियो । मुलुकमा संचालित २८ वटै बाणिज्य बैंकले सेयर स्वामित्व विवरण बुझाए पनि यसमा राष्ट्र बैंकले चित्त बुझाउन सकेन । तसर्थः नियामक निकाय राष्ट्र बैंकले पुनः बैंकसँग विवरण माग गरेको हो ।

बैंकहरूले इन्भेष्टमेन्ट कम्पनीहरूबाट भएको लगानी छुट्याएका छैनन् भने कर्मचारी संचयकोष, नागरिक लगानी कोष, राष्ट्रिय बीमा संस्थानलगायतका संस्थाहरूको कुन बैंकमा कति सेयर छ भनेर समेत खुल्न नसकेको राष्ट्र बैंकले जानकारी दिएको छ । राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बैंकहरूसँग मागे अनुसारको विवरण नआएकोले पुनः विवरण माग गरेको जानकारी दिए ।

यसरी विवरण माग गर्दा कुन बैंकमा कसको कति सेयर स्वामित्व छ भने कुरा स्पष्ट हुनका साथै तथ्याङ्क समेत अद्यावधि हुने राष्ट्र बैंकले बताएको छ । क्रस होल्डिङ भएका बैंकहरूलाई कि त एक आपसमा मर्ज गराउने कि एक्जिट गराउने राष्ट्र बैंकको रणनीति हो ।

राष्ट्र बैंकले निश्चित सेयर स्वामित्व भएका सेयरधनीको विवरण मात्रै माग नगरेर साधारण र प्रमोटर सबै सेयर स्वामित्वको तथ्याङ्क माग गरेको हो ।

राष्ट्र बैंकले क्रस होल्डिङ भएका बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जरमा पठाउने बताएको थियो । फोर्स मर्जरले बजारमा गलत सन्देश गएको आँकलन गर्दै बैंक तथा वित्तीय संस्थाको संख्या घटाउने नयाँ जुक्तिका रुपमा क्रस होल्डिङलाई अघि सारेको हो ।

सनराइज बैंक र एनआईसी एसिया, एनबी बैंक र एनसीसी बैंक, हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट, सानिमा बैंक र माछापुच्छ्रे बैंक, नविल बैंक र युनाइेटड फाइनान्स कम्पनीमा क्रस होल्डिङ रहेको अनुमान राष्ट्र बैंकले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.