तीनकुने पुलमा पप्पुलाई सांसदको र्‍याखर्‍याख्ती

  २०७६ जेठ २ गते १९:३९     विकासन्युज


काठमाडौं । राजधानीको तीनकुने र रविभवनको जोड्ने गरी बागमति नदिमाथी निर्माण भैरहेको पुलबारे सांसदहरुले पप्पु कन्स्ट्रक्सनका सञ्चालकलाई र्याखर्याख्ती पारेका छन् । विगत पाँच महिनादेखि निर्माण रोकिएको बागमती पुलको स्थलगत अध्ययनका लागि संसदको विकास तथा प्रविधि समिति सभापति कल्याणी खड्काको नेतृत्वमा सांसदको टोली पुगेको थियो ।

राष्ट्रिय सतर्कता केन्द्रका प्राबिधिक समेत सहभागी रहेको टोली तिनकुने पुलमा पुग्दा निलम्बित सांसद हरिनारायण रौनियार पनि आईसकेका रहेछन् । उनीसँगै आईपुगेका थिए, पप्पु कन्स्ट्रक्सनका मालिक अर्थात हरिनारायणका छोरा सुमित रौनियार । हरिनारायण रौनियार सांसद निर्वाचित भएपछि उनका छोरा सुमितले नै पप्पु कन्स्ट्रक्सनको नेतृत्व गरिरहेका छन् ।

२१ करोड ३३ हजारमा तीनकुनेका २ वटा पुलको निर्माण गर्ने ठेक्का पाएको पप्पुले कमसल निर्माण गरेको भन्दै सडक विभागले काम रोक्न पत्र काटेको थियो । सडक विभागको पत्रलाई अटेरी गर्दै पप्पुले पुल निर्माण अघि बढाएपछि उसको भुक्तानी समेत रोकिएको छ । बिहीबार संसदको टोली पुल निर्माणस्थल पुग्दा रौनियार हतास मानसिकतामा उपस्थित थिए । शुरुमा पुलको समस्याबारे काठमाडौं सडक विस्तार आयोजनाका प्रमुख अर्जुन अर्यालले आफ्नो ब्रिफिङ गरे । उनी लगत्तै म पनि केहि भन्नु छ भन्दै हरिनारायणले बोल्न थाले । उनलाई शुरुमै सभापति कल्याणी खड्काले दोषी निर्माण व्यवसायी हो की कर्मचारी भन्दै प्रश्न तेर्स्याईन् ।

खड्काको प्रश्न नसकिँदै सांसद टोपबहादुर रायमाझीले तपाईँको देशभरका काम अलपत्र छन्, यो सब के हो ? भन्दै प्रश्न गरे । अर्काे छेउबाट सांसद गणेश पहाडीले सडक विभागले प्राबिधिक समस्या समाधान नभई निर्माण नगर्नु भनेर पत्र लेख्दा लेख्दै किन काम गरेको भन्दै आपक्ति जनाए । संसदको लोगो लगाएरै उपस्थित भएका रौनियारले छोरा सुमितलाई आफ्नो गल्ति नभएकोे प्रमाण पेश गर्न भने ।

सुमितले बोल्न सुरु गरेका मात्रै थिए, फेरी सांसदहरुको प्रश्न ओइरिन थाल्यो । त्यसपछि सभापति खड्काले पुनः सडक विभागका कर्मचारीलाई थप स्पष्ट पार्न आग्रह गरिन् । त्यतिकैमा केही स्थानीय बासिन्दा समेत भेला भईसकेका थिए । उनीहरुले गत बर्ष जस्तै आफ्नो बस्ती डुबानमा पर्ने भन्दै आपक्ति जनाए । हरिनारायण रौनियारले यसपाली बागमतिमा पानी बग्ने व्यवस्था मिलाईसकेकाले डुबान समस्या नहुने आश्वासन दिएका दिए ।

तीनकुने पुलको अवलोकनपछि सभापति कल्याणी खड्काले भनिन्–पुल निर्माणमा गम्भिर लापरवाही भएको देखियो, समितिले दोषीहरुको पहिचान गरेर कारवाहीका लागि निर्देशन दिन्छ ।’ तीनकुनेमा निर्माण भैरहेका २ पुलमध्ये एउटा पुलको पिलरमा प्राबिधिक समस्या आएको थियो । समस्या समाधान नगरि काम अघि नबढाउन भन्दा भन्दै पप्पुले काम अघि बढाएको सडक विभागको दावी छ ।

आफुहरुले समस्या समाधानका उपाय पेश गरेको तर विभागले समयमा कुनै जवाफ नदिएपछि बाध्य भएर निर्माण अघि बढाएको पप्पुको तर्क छ । अब संसदीय समितिलाई दोषी को हो भन्ने खुट्याएर कारवाहीका लागि निर्देशन दिनैपर्ने बाध्यता आईलागेको छ । त्यति मात्रै नभएर अवरुद्ध पुलको निर्माण समेत अघि बढाउन बाटो खुल्ला गर्नुपर्ने अवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.