अवरोधका बीच नीति तथा कार्यक्रम पारित, विपक्षीलाई ‘पेलेरै’ १५ गते बजेट भाषण

  २०८१ जेठ १३ गते १३:४६     विकासन्युज

काठमाडौं । प्रतिनिधि सभाको आइतबारको बैठकमा विपक्षी नाराबाजी र अवरोधका बीच सरकारले नीति तथा कार्यक्रम पारित गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते सार्वजनिक गरेको नीति तथा कार्यक्रम १३ दिनपछि पारित भएको हो ।

बैठकमा पनि कांग्रेस सांसदहरुले नाराबाजी गरेका थिए । तर, नाराबाजीकै बीच नीति तथा कार्यक्रममा छलफल गरेर पारित गरिएको हो । सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने माथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै कांग्रेसले संसदमा अवरोध जारी राखेको छ । तर, सत्ता पक्षले पेलेरै भएपनि मर्यादापालकको सहायतामा अगाडि बढिरहेको छ ।

बैठकमा अर्थमन्त्री पुनलाई रोष्टममा पुर्याउन पनि मर्यादापालक र सत्ता पक्षकै सांसदहरूले सहयोग गरे । उनी चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक समीक्षा पेस गर्न रोष्टममा जाँदा विपक्षी दलका सांसदले उनलाई घेरेका थिए । तर, मर्यादापाल र सत्ता पक्षकै सांसदले उनलाई रोष्टममा पुग्न सहयोग गरेका थिए ।

प्रतिनिधि सभाको अर्को बैठक मंगलबार दिउँसो चार बजेका लागि बोलाइएको छ । त्यसअघि दिउँसो १ बजे संघीय संसदको बैठकमा बजेट प्रस्तुत हुने छ । संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते संसदको संयुक्त बैठकमा अर्थमन्त्रीले बजेट प्रस्तुत गर्ने अभ्यास छ । सोही अनुसार सभामुख देवराज घिमिरेले मंगलबारका लागि बैठक बोलाएका छन् । मंगलबार दिउँसो १ बजे बजेट प्रस्तुत हुनेछ ।

सभामुख घिमिरेले आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान पेस गर्नुपर्ने प्रयोजनका लागि मंगलबार दिनको १ बजे संघीय संसदको संयुक्त बैठक बस्ने जानकारी आजको बैठकलाई गराइसकेका छन् ।

काँग्रेसको निरन्तर अवरोधले सरकारले अध्यादेशबाट बजेट सार्वजनिक गर्छ कि भन्ने अड्कलवाजी पनि धेरैले गरेका थिए । तर, सरकारले सदनबाटै बजेट ल्याउने तयारी गरेको हो । बजेटमा विपक्षीले विरोध गरे पनि अवरोधकै बीच बजेट सार्वजनिक गर्ने तयारी सरकारको छ ।

उसो त आइतबारको बैठकमा प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले बजेट सार्वजनिक हुने दिन संसद बैठकमा अवरोध नहुने विश्वास व्यक्त गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले आफू राजनीतिक सहमति जुटाउन लागिपरेको बताउँदै मंगलबारसम्म यो अवरो हट्ने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.