नेप्से बढेअनुसार सुधार भएन म्युचुअल फण्डको एनएभी

  २०७५ चैत १४ गते १४:३१     विकासन्युज

काठमाडौं । माघ मसान्तको तुलनामा फागुन मसान्तमा नेपाल स्टक एक्सचेञ्ज परिसूचक २७.२७ अंकले बढ्यो । माघ मसान्तमा ११२८.१९ अंकमा बन्द भएको परिसूचक फागुन मसान्तमा ११५५.४६ अंक कायम भएको थियो । तर बजारको सकारात्मक वृद्धिका बाबजुद बजारमा सूचिकृत म्युचुअल फण्डहरुको प्रतिइकाई खुद मुल्य भने साे अनुपातमा बढ्न सकेकाे छैन । बजारमा २.४२ अंकले वृद्धि देखिँदा म्युचुअल फण्डको मूल्यमा भने ०.९४ प्रतिशतदेखि २.३१ प्रतिशतसम्ममात्र वृद्धि भएको देखिएको हाे ।

फागुन मसान्तको वित्तीय अवस्थामा आधारित म्युचुअल फण्डहरुको रिपोर्ट अनुसार वित्तीय विवरण प्रकाशन गरेका १२ ओटा फण्डमध्ये सबैको खुद सम्पत्ति र सँगसँगै प्रतिइकाई खुद मुल्य बढे पनि नेप्से परिसूचकअनुसार बढ्न सकेकाे छैन । त्यसमध्ये सिटिजन्स म्युचुअल फण्डको प्रतिइकाई २४ पैसा (२.३१ प्रतिशत) र सबैभन्दा कम एनएमबि हाइब्रिड फण्ड १ को प्रतिइकाइ १० पैसा (०.९४ प्रतिशत) खुद मुल्य वृद्धि भएकाे हो । ग्लोबल आईएमई क्यापिटलको ग्लोबल आईएमई समुन्नत स्कीम–१ को भने वित्तीय विवरण हालसम्म सार्वजनिक भएको छैन ।

सामान्यतया म्युचुअल फण्डले जनताको ससाना लगानीलाई उठाएर पुँजी बजारमा लगानी गरेर प्रतिफल बाँड्ने काम गर्छ । यस्ता फण्डहरुका सञ्चालक हाई एक्स्पेरियन्सड प्रोफेशनल हुने भएकोले यसबाट बजारको आरोह अवरोहहरुको जोखिम कम गर्दै प्रतिफल सुनिश्चितताको अपेक्षा गरिन्छ । यद्यपि बजार उच्च रुपमा घटेको अवस्थामा सोही अनुरुप खुद मूल्य घट्दै आएका यस्ता फण्डहरुको बजार सकारात्मक देखिँदा पनि एनएभी बजारभन्दा कम दरमा मात्र बढेकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.