एभरेष्ट बैंककाे लगानीकर्ताले ५८ प्रतिशत गुमाए, सञ्चालकलार्इ भ्रमण भत्ता प्रतिदिन ६४ हजार ५ सय

  २०७५ मंसिर १७ गते १५:१५     विकासन्युज

काठमाडौं । दुर्इ वर्षमा सेयरधनीले ५८ प्रतिशत गुमाएकाे अवस्थामा एभरेष्ट बैंक लिमिटेडले २४ औं साधारणसभा बोलाएको छ । बैंकले पुस १० गते मंगलबारका दिन लैनचौरस्थित लैनचौर ब्याङ्क्वेटमा बिहान ११ बजे बस्ने गरी साधारणसभा बोलाएको हो ।

उक्त साधारणसभामा प्रस्तावित २० प्रतिशत नगद लाभांशकाे प्रस्ताव पेश हुनेछ । सञ्चालकहरुको बैठक भत्ता वृद्धि गरेर प्रति बैठक रु १५०००/- पुर्याउने प्रस्ताव समेत पेश हुनेछ । हालसम्म सञ्चालकहरुले प्रतिबैठक रु १२ हजार भत्ता पउँदै आएका छन् ।

साधारणसभामा सञ्चालकलार्इ विदेश भ्रमण गर्दा प्रतिदिन ५५० अमेरिकी डलर बराबरको भत्ता दिने प्रस्ताव पनि छ । यस बैंकका अध्यक्ष बिके श्रेष्ठ अधिकांश समय विदेश घुम्दै अाएका छन् । उनी बैंककाे काम भन्दै एकै पटक २ महिना यूराेप, अमेरिका बिताउने बैंकर हुन् । बैंककाे प्रस्ताव भएपछि उनले विदेश भ्रमण गर्दा दैनिक ६४ हजार ५ सय रूपैयाँ भत्ता लिने छन् ।

साधारणसभामा लफडाकाे स‌ंकेत

अरू बैंकहरूकाे तुलनामा एभरेष्ट बैंककाे सेयर मूल्यमा उच्च गिरावट अाएकाे छ । कम्पनीकाे वित्तिय अवस्था पनि खस्कदाे छ । एभरेष्ट बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफाको आकार खस्किएको छ । बैंकले पहिलो त्रैमासमा अघिल्लो वर्षको तुलनामा स्वतन्त्र नाफामा ४ करोड भन्दा बढीले घटेको छ ।

बैंककाे फितलाे कार्य सम्पादन, कमजाेर प्रतिस्पर्धात्मक क्षमता, नाफामा अाएकाे गिरावट, नगद लाभांश तथा लक्ष्मी बैंकसँगकाे मर्जर प्रक्रियामा सञ्चालक समितिकाे भूमिका अादिका विषयमा शेयरधनीहरुले अागामी साधारणसभामा अावाज उठाउने सम्भावना छ । बैंककाे वित्तिय अवस्था खस्कदै गएकाे बेलामा सञ्चालकहरुकाे भत्ता वृद्धिकाे प्रस्तावले पुसकाे चिसाे माैसम भएपनि साधारणसभामा सेयरधनीले हल तताउने सम्भावना छ ।

शेयर मूल्यमा अत्यधिक गिरावट

एभरेष्ट बैंक लिमिटेडकाे शेयरमूल्य र लाभांश, १०० कित्ताकाे अाधारमा

एभरेष्ट बैंकका लगानीकर्ताले २ वर्षको अवधिमा कुल ५८.२८ प्रतिशत मूल्य गुमाएको भेटिएको छ । सन् २०१६ नोभेम्बर १५ तारिखदेखि  आइतबारसम्मको मूल्यका आधारमा उक्त गिरावट देखिएको हो ।

२०१६ नोभेम्बर १५ तारिखका दिन एभरेष्ट बैंक लिमिटेडको प्रतिकित्ता शेयरको अन्तिम मूल्य ३७९५ रुपैंया थियो । सोही दिन उक्त कम्पनीको कारोबार ३९०० रुपैंयासम्म भएको थियो । त्यसको अघिल्लो दिन उक्त शेयर प्रतिकित्ता ३९२० रुपैंयासम्म कारोबार भएको थियो । सो शेयरको मूल्य एक महिना ५ दिनको दौरानमा उक्त कम्पनीको शेयरमूल्य घटेर ३१९० रुपैंयामा पुगेको थियो । त्यसको भोलिपल्ट बैंकको ७० प्रतिशत बोनस शेयर समायोजन भएर मूल्य १८४० मा झरेको थियो ।

त्यसको करिब ७ महिनापछि अर्थात् सन् २०१७ जुन २० तारिखका दिन बैंकले फेरि ३३.३३ प्रतिशत हकप्रद शेयरका लागि मूल्य समायोजन गर्दा बैंकको शेयर मूल्य १२७४ रुपैंयामा झरेको थियो । त्यही दिन शेयरमूल्य बढेर १३१८ रुपैंयामा अन्तिम कारोबार भएको थियो ।

त्यस्तै २०१७ डिसेम्बर २७ तारिखका दिन बैंकले फेरि ३३ प्रतिशत बोनस सेयर दिँदा मूल्य ८१६ रुपैंयामा समायोजन भएको थियो । उक्त बोनसपछि एभरेष्ट बैंकले कुनै पनि लाभांशहरु नदिए पनि बजारमा उक्त कम्पनीको शेयर ५२६ मा आइपुगेको छ । यसरी करिब २ वर्षको अवधिमा कम्पनीका शेयरधनीले करिब ५८ प्रतिशत शेयर मूल्य गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.