९ अर्ब खर्चेर ६४ हजार युवालाई सीप सिकाइँदै, बन्लान त स्वरोजगार ?

  २०७५ वैशाख १५ गते १२:४१     राजाराम न्याैपाने

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले ६६ हजार युवालाई लक्षित गरी सीप प्रमाणिकरण कार्यक्रम सञ्चालनमा ल्याउने भएको छ ।

सीटीईभीटी अन्तर्गतको दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना (इन्स्योर) ले यस्तो कार्यक्रम सञ्चालनमा ल्याएको हो । यो कार्यक्रमका लागि ९ अर्ब रुपैयाँ लगानी हुने सीटीईभीटीले जनाएको छ ।

यो कार्यक्रम दुई चरणमा विभाजन गरी संचालन हुने भएको छ । पहिलो चरण सन् २०१९ देखि २०२० सम्म र त्यसपछि २०२६ सम्म दोस्रौ चरण सञ्चालन हुने छ । पहिलो चरणमा ३६ हजार लाभान्वित हुने छन् । दोस्रौ चरणमा ३० हजार लाभान्वित हुनेछन् । तालिममा सरकारले १० प्रतिशत लगानी गरेको छ ।

पहिलो चरणको तालिम नेपालगन्ज र विराटनगरमा संचालन हुने छ । इन्स्योरले उद्योग, कलकारखाना, होटल तथा पर्यटन क्षेत्रमा काम गर्ने सुविधाविहीन कामदारलाई लाक्षित गरी कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । योजनामार्फत इलेक्ट्रिकल–इलेक्ट्रोनिक, मेकानिकल, अटोमोबाइल, होटल र पर्यटन क्षेत्रमा काम गरिरहेका कामदारलाई लक्षित गरी तालिम तथा प्रमाणपत्र वितरण गर्नेछ ।

रोजगारीमा रहेका तर सीपको प्रमाणपत्र नभएका रोजगार कामदारलाई समेट्ने परियोजनाको लक्ष्य छ । परियोजनाका लागि स्वीट्जरल्यान्ड सरकारले करिब ९ अर्ब रुपैयाँ सहयोग गरेको छ । परियोजना १० वर्षका लागि सञ्चालन गरिने भए पनि हालको कार्यक्रम भने ४ वर्षको रहनेछ ।

परियोजनाले सञ्चालन गर्ने कार्यक्रममा १३ हजारभन्दा बढी हाल काम गरिरहेका कामदारको सीपको पहिचान गरी त्यसको प्रमाणीकरण गर्ने र आवश्यक थप सीप अभिवृद्धि गरिने सीटीईभीटीका सूचना अधिकारी मनोज न्यौपानेले जानकारी दिए ।

यसैगरी ४० हजार युवाले वृत्तिविकास परामर्श प्राप्त गरी चाहनाअनुरूपको आवश्यक सीप छनोट गर्न तयार हुने परियोजनाको अनुमान छ । परियोजनाबाट खासगरी कामको खोजीमा रहेका युवा तथा काम गर्दै गरेका तर सीपको मान्यता प्राप्त नगरेका कामदार लाभान्वित हुनेछन । तालिम परियोजनाले सुरुका दिनमा निर्माण व्यवसाय र पर्यटन क्षेत्रमा कार्यक्रम सुरु गरेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.